२१ लाख किलो स्याउ फलाउने लक्ष्य

नवीनराज कुइँकेल

भ्राताङ (मनाङ), असार २ गते ।  करोडौँ रुपियाँको लगानीमा यहाँ सञ्चालन गरिएको स्याउ फर्मबाट राम्रो उत्पादन सुरु भएको छ ।  मनाङको चामे गाउँपालिकाको भ्राताङमा ७३५ रोपनी जमिनमा सञ्चालन गरिएको स्याउ फार्मले गत वर्षदेखि नै उत्पादन पनि दिन थालेको हो ।
स्थानीय पाल्तेन छोपाङ गुरुङले मनाङ मस्र्याङ्दी क्लबको ७३५ रोपनी जग्गा २७ वर्षलाई भाडामा लिएर स्याउ फार्म सञ्चालन गर्नुभएको हो ।  अहिले ४२५ रोपनीमा इटाली र सर्वियाबाट ल्याइएका ६७ हजार बिरुवा रोपिएको छ ।  चार वर्षदेखि सुरु गरिएको फार्ममा सन् २०१८ सम्ममा ७३ हजार बिरुवा रोप्ने लक्ष्य छ ।  
 फुजी, गाला र गोल्डेन प्रजातिका वर्णशङ्कर स्याउका बिरुवाले यसपटक गत वर्षभन्दा बढी फल दिने गुरुङले अपेक्षा गर्नुभयो ।  गत वर्ष एक लाख ४८ हजार ७५० किलो स्याउ उत्पादन भएको थियो ।  स्याउ बिक्रीबाट एक करोड ५० लाख रुपियाँँ आम्दानी भएको गुरुङले बताउनुभयो । apple manag
वर्णशङ्कर भएकाले यी बिरुवा अरू स्याउको जस्तो अग्ला र मोटा छैनन् तर वयस्क भइसकेपछि प्रत्येक बोटबाट कम्तीमा ३० देखि ३५ किलो स्याउ उत्पादन हुने गुरुङले बताउनुभयो ।  
गत वर्ष भने एउटा बोटबाट सात÷आठ किलोसम्म स्याउ उत्पादन भएको थियो ।  यो वर्ष साढे चार लाख किलो स्याउ फल्ने गुरुङको अनुमान छ ।  अपेक्षाअनुसार स्याउ फलेमा साढे चार करोड रुपियाँ आम्दानी हुने गुरुङले बताउनुभयो ।  अहिले स्याउ उत्पादनको मौसममा उहाँले ६५ जनालाई प्रत्यक्ष रोजगारी दिइरहनुभएको छ ।  
स्याउ फर्मका लागि हालसम्म गुरुङको कम्पनी ‘एग्रो मनाङ’ ले २३ करोड रुपियाँँँ लगानी गरिसकेको छ ।  यसलाई बढाउने गुरुङको लक्ष्य छ ।  
उहाँले मनाङमा स्याउ फार्म मात्र चलाउनुभएको छैन, फर्ममै जोडेर होटल र कोल्ड स्टोरसमेत निर्माण गर्नुभएको छ ।  हामीले यहाँ स्याउ खेती मात्र गर्न खोजेका होइनौँ, गुरुङले भन्नुभयो, एग्रो टुरिजम विकास गर्न खोजेका हौँ, त्यसैले होटल पनि सँगसँगै बनाउँदै छौँ ।  गुरुङले आगामी वर्षदेखि जुस, ड्राइ एप्पल, ब्रान्डी, वाइन बनाउने लक्ष्य राख्नुभएको छ ।   काठमाडौँको ठमेलमा रहेको चल्तीको होटल बेचेर स्याउ फार्म सञ्चालन गर्नुभएका गुरुङले हाल सरकार र एसियाली विकास बैङ्कबाट पनि सहयोग पाउनुभएको छ ।  उहाँले दुई करोड २४ लाख रुपियाँ अनुदान सहयोग पाएको बताउनुभयो ।  
अनुदानका लागि फर्म सुरु गरेको  होइन, अनुदानले प्रोत्साहन भने दिएको छ, हामी अझै लगानी बढाउँदै जानेछौँ, उहाँले भन्नुभयो ।  गुरुङले आगामी पाँच वर्षभित्र हरेक वर्ष कम्तीमा २१ लाख किलो स्याउ उत्पादनको लक्ष्यसाथ आफूहरूले लगानी विस्तार गरिरहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, सन् २०२१ मा २१ लाख किलो स्याउ फलाउने लक्ष्य छ, सन् २०१८ सम्ममा ७३ हजार बिरुवा पु¥याउँछौँ ।  
उहाँले गत वर्ष काठमाडौँका १२५ वटा पसलबाट स्याउ बेचेको जानकारी गराउँदै यो वर्षको ३२५ पसलबाट बिक्री गर्ने योजना सुनाउनुभयो ।  
उत्पादित स्याउले बजार नपाउला भनेर उहाँले तीन प्रजातिका स्याउ लगाउनुभएको छ ।  फुजी, गाला र गोल्डेन जातका स्याउ क्रमशः सेप्टेम्बर, अक्टुबर र नोभेम्बरमा पाक्छन् ।  तीन महिनासम्ममा फार्मबाट उत्पादित स्याउ बजार पु¥याउन र स्टोरेज गर्न सजिलो हुने गुरुङले बताउनुभयो ।
अहिले पनि नेपालमा बाहिरी देशबाट बर्सेनि १३ अर्ब रुपियाँँको स्याउ आयात हुन्छ हिमाली क्षेत्रमा यसैगरी फार्म सञ्चालन गर्नसके आयात रोकेर निर्यात गर्न सकिन्छ, गुरुङले भन्नुभयो ।   उहाँले एकै ठाउँमा यति धेरै जमिनमा सञ्चालन गरिएको फार्म दक्षिण एसियाकै सबैभन्दा ठूलो भएको दाबी गर्दै यो प्रजातिको स्याउ नेपालमै पहिलोपटक रोपिएको बताउनुभयो ।  
नेदरल्यान्डसम्म पुगेर स्याउको अध्ययन गर्नुभएका गुरुङका छोरा युवराज भने उत्पादित स्याउ भारतको कोलकाता हुँदै तेस्रो मुलुकसम्म निर्यात गर्ने योजनामा हुनुहुन्छ ।  हामीले मात्र हैन, अब अरूले पनि यस्तै स्याउ फार्म चलाउनुपर्छ ।  अनि मात्र उत्पादन बढाउन सकिन्छ, युवराजले भन्नुभयो ।  केही वर्षपछि हामीले निर्यात गर्न सक्छौँ, त्यसका लागि तेस्रो मुलुकको बजारको अध्ययन गरिरहेको छुँ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना