भूकम्प प्रभावितलाई ट्याक्सी नम्बर वितरण एक हप्ताभित्रै

लक्ष्मण दर्नाल  

काठमाडौँ, असार ३ गते ।  सरकारले भूकम्प प्रभावित परिवारलाई एक हप्तापछि नयाँ ट्याक्सी नम्बर वितरण गर्न लागेको छ ।  असार ७, ८ र ९ गते ललितपुरको च्यासलस्थित फुटबल मैदानमा गोलाप्रथाद्वारा १५ सयवटा ट्याक्सीका नम्बर वितरण गरिने छ ।  त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको यातायात व्यवस्था विभागले जनाएको छ ।  
सरकारले २०७२ वैशाखको भूकम्पबाट अतिप्रभावित १० जिल्लाका परिवारलाई सहुलियतमा ट्याक्सी उपलब्ध गराउने घोषणा गरेको थियो ।  सोही घोषणाअनुसार यातायात व्यवस्था विभागले १५ सयवटा ट्याक्सी नम्बर उपलब्ध गराउन २०७३ साउन ५ देखि भदौ ५ गतेसम्म आवेदन खुला गरेको थियो ।  ट्याक्सीका लागि भूकम्प प्रभावित एक लाख ५१ हजार परिवारले आवेदन दिएका थिए ।  विभागले एक लाख ४९ हजार ५५१ जनाको अन्तिम नामावली तयार गरेको छ ।   
आवेदन दिनेको सङ्ख्या अत्यधिक भएपछि विभागले गोलाप्रथाद्वारा १५ सयवटा ट्याक्सी नम्बर वितरण गर्न लागेको हो ।  गोलाप्रथालाई पारदर्शी बनाउनका लागि टिभी टुडे टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, गोलाप्रथा निष्पक्ष र पारदर्शी हुन्छ कसैको भनसुन चल्दैन, हल्लाउँदै गोला निकालिने छ, जसको प्रत्यक्ष प्रसारणसमेत हुन्छ ।  गोलाप्रथा गर्ने स्थलमा सबै नागरिकको प्रवेश खुला गरिएको विभागले जनाएको छ ।  
गोलाप्रथा विभिन्न जिल्ला छुट्याएर तीन दिन गरिने छ ।  असार ७ गते पहिलो दिन काभ्रे, नुवाकोट र रामेछापको चिठ्ठा खोलिनेछ ।  दोस्रो दिन असार ८ गते दोखला, सिन्धुली र सिन्धुपाल्चोकमा खुलाइने छ ।  तेस्रो दिन काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, गोरखा, रसुवा, मकवानपुर र ओखलढुङ्गा जिल्लाको खुलाइने छ ।  प्रवक्ता पाण्डेले अन्तिम नामावली, टोकन बक्स, चिठ्ठा तथा सुरक्षा बस्दोबस्ती लगायत सबै तयारी पूरा बताउनुभयो । taxi_2
विभागले गोलाप्रथा निष्पक्ष गर्नका लागि नेपाल नेत्रहीन सङ्घका पाँचजना दृष्टिविहीन सदस्यबाट गोलाप्रथा गर्नेछ ।  विभागले चिठ्ठा गोला छनोट समिति गठन गरेर काम गर्दै आएको छ ।  विभागका निर्देशक चन्द्र फँुयालको संयोजकत्वमा साना ठूला सवारी प्रमुख वसन्त अधिकारी र विभागका निर्देशक तुलसीराम अर्यालको छनोट समिति बनेको थियो ।   
गोलाप्रथा स्थलमा भूकम्प प्रभावित जिल्लाका प्रतिनिधिहरू, नागरिक समाजलगायतका सरोकारवालालाई सहभागी गराइनेछ ।  भूकम्प प्रभावित १५ सय परिवारले ट्याक्सी नम्बर पाएपछि बैङ्कमार्फत गर्ने वा आफैँ पैसा लगानी गर्ने भन्ने  निर्णय भने व्यक्ति स्वयं  जिम्मेवार र स्वतन्त्र रहने विभागले जनाएको छ ।  विभागका अनुसार ट्याक्सी नम्बर पाइसकेपछि यो किन्ने काम स्वयम् परिवारको हो ।  
ट्याक्सी नम्बरका लागि सबैभन्दा धेरै सिन्धुपाल्चोक जिल्लाका २५ हजार भूकम्प प्रभावित छन् भने सबैभन्दा कम रसुवा जिल्लाका २९ सयले आवेदन दिएको विभागले जनाएको छ ।  
एक वर्षअघि एक महिना लगाएर आवेदन लिएको यातायात व्यवस्था विभागले गोलाप्रथा गर्ने मिति भने पटक÷पटक सार्दै आएको थियो ।  ०७३ चैतमै वितरण गर्ने भनिए पनि तयारी नपुगेको कारण ०७४ वैशाखमा सारिएको थियो ।  वैशाखमा स्थानीय तहको चुनाव भन्दै जेठमा सारियो र जेठबाट अहिले असारमा वितरण गरिने भएको छ ।  गत जेठ १३, १४ र १५ गते नम्बर वितरण गर्ने  पूर्वनिर्धारित समय गरेको यातायात व्यवस्था विभागले असार ७, ८ र ९ गते सारेको हो ।  
प्रति आवेदन दर्ता शुल्क एकसय रुपियाँ लिएको विभागले एक लाख ५१ हजार भूकम्प प्रभावितको निवेदनबाट एक करोड ५१ लाख रुपियाँ दर्ता शुल्क उठाएको थियो ।     

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना