भीमसेन थापादेखि शेरबहादुर देउवासम्म.......

devendra aryalदेवेन्द्र अर्याल ‘आँसु’


ऐतिहासिक तथ्यलाई मनन गर्दा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापा हुनु्हुुन्थ्यो  तर वि.सं. १९०० मा तत्कालीन राजा राजेन्द्रबाट माथवरसिंह थापालाई प्राइमिनिष्टर पद प्रदान गरिएको थियो ।  यस अगावै कसैलाई प्राइमिनिष्टर पद दिइएको इतिहासमा उल्लेख छैन ।  तथापि काजी भीमसेन थापालाई नै नेपालको प्रथम प्रधानमन्त्री भन्ने गरिएको पाइन्छ ।  भीमसेन थापादेखि हालसम्म नेपालमा धेरै प्रधानमन्त्री बनिसकेका छन् ।
 प्रथम प्रधानमन्त्री भीमसेन थापादेखि हालका प्रधानमन्त्री देउवासम्म आइपुग्दा नेपालले विभिन्न प्रधानमन्त्रीको प्रधानमन्त्रीत्व काल भोगिसकेको छ ।  यसक्रममा विभिन्न खालका आमूल परिवर्तन पनि भइसकेका छन् ।  भीमसेन थापा जसले वि.सं. १८६३ देखि १८९४ सम्म मुख्तियार भएर शासन गर्नु भएको थियो ।  उहाँले करिब ३१ वर्ष नेपालको प्रधानमन्त्री भएर विभिन्न सुधार गर्नु भएको थियो ।  उहाँको शासन काललाई सैनिक सुदृढीकरणको स्वर्णयुग मानिन्छ ।  वि.सं. १८३२ मा गोर्खाको बोर्लाङमा जन्मिनु भएका उहाँको मृत्यु वि.सं. १८९६ मा भएको थियो ।  
उहाँपछि रङ्गनाथ पौडेल वि.सं. १८९४ देखि १८९५ सम्म प्रधानमन्त्री बन्नु भएको थियो ।  वि.सं. १८९५ देखि १८९६ सम्मको अवधिमा पुष्कर शाहले प्रधानमन्त्री बन्ने मौका पाउनु भएको थियो ।  त्यसपछि काजी कालु पाँडेका नाति दामोदर पाँडेका छोरा रणजंग पाण्डेले भीमसेन थापालाई विस्थापन गरी वि.सं. १८९६ देखि १९०० सम्म प्रधानमन्त्री बन्नुभयो ।  तत्कालीन अवस्थामा रानी राजेन्द्रलक्ष्मी, साम्राज्यलक्ष्मी र राजकुमार सुरेन्द्रले आ–आफ्नै ढङ्गबाट शासन सञ्चालन गर्नुभएको थियो  ।  त्यसपछि दरबारमा देखिएको फुटलाई शक्तिमा रूपान्तरण गर्दै जङ्गबहादुर राणा वि.सं .१९०३ मा नेपालका प्रधानमन्त्री बन्न सफल हुनुभयो ।  यसअगाडि माथवरसिंह जो जङ्गबहादुरका मामा हुनुहुन्थ्यो उहाँ वि.सं. १९०० देखि १९०२ सम्म नेपालका प्रधानमन्त्री बन्नुभएको थियो ।  यसैक्रममा फत्येजङ्ग शाह वि.सं. १९०२ देखि १९०३ सम्म नेपालका प्रधानमन्त्री बन्नुभएको  थियो ।   
झण्डै ३० वर्षसम्म वि.सं.१९०३ देखि १९३३ सम्म नेपालको प्रधानमन्त्री भएका राणा प्रधानमन्त्री जङ्गबहादुर कोतपर्वको सूत्रधार पनि हुनुहुन्थ्यो ।  फलस्वरूप नेपालमा वि.सं. १९०३ देखि २००७ सम्म जहानिया राणा शासन कायम रह्यो ।  त्यसैले जङ्गबहादुरलाई नेपालको प्रथम राणा प्रधानमन्त्री भनिन्छ ।  जङ्गबहादुरले आफ्ना भाइलाई रोलक्रमानुसार नेपालको प्रधानमन्त्री बन्ने नियम बसाउनु भएको थियो ।  बमबहादुर राणा वि.सं. १९१२ देखि १९१३ सम्म प्रधानमन्त्री बन्नु भएको  थियो ।  यसअघि उहाँ वि.सं. १९०६÷०७ तिर जङ्गबहादुर बेलायत जाँदा कार्यवाहक प्रधानमन्त्री बन्नुभएको  थियो ।  
यसपछि रणोद्विप सिंह राणाले वि.सं. १९३३ देखि १९४२ सम्म प्रधानमन्त्री बन्नुभयो ।  उहाँको जन्म वि.सं. १८२२ मा भएको थियो ।  वि.सं. १९३८ सालको पर्व युवराज त्रैलोक्य र राजकुमार नरेन्द्रविक्रम शाहको राणाहरू समाप्त पार्ने प्रयास थियो, जुन सफल हुन सकेन तर वि.सं. १९४२ को पर्वमा उहाँ आफैँ मर्नु भयो ।  वि.सं. १९४२ मा रणोद्वीपको हत्या गरी प्रधानमन्त्री बन्नुभएका वीरशमसेरले वि.सं. १९४२ देखि १९५७ सम्म प्रधानमन्त्री बन्ने सौभाग्य पाउनु भयो ।  उहाँकै पालामा शाह राजाको निवास हनुमान ढोकाबाट नारायणहिटी दरबारमा सरेको हो ।  वि.सं. १९१९ मा जन्मेर वि.सं. १९७० मा भारतको मंसुरीमा आफ्नो देह त्याग गर्ने देवशमसेरले वि.सं. १९५७ देखि १९५८ सम्म नेपालको प्रधानमन्त्री बन्न पुग्नु भयो ।  उहाँले नै नेपाली पत्रकारिताको ऐतिहासिक दस्तावेज एवं जिउँदो इतिहास गोरखापत्रको प्रकाशन शुभारम्भ गर्नुभयो ।  वि.सं. १९२० मा जन्मिनुभएका चन्द्रशमसेर वि.सं. १९५८ देखि १९८६ सम्म प्रधानमन्त्री बन्नुभयो ।  जनगणना, बिजुली बत्ती, त्रिचन्द्र कलेजको स्थापना, गोरखा भाषा प्रकाशिनी समिति, सती प्रथा उन्मूलन, रेलवेको विकास, नेपालको नक्साको निर्माण लगायतका धेरै सुधार उहाँको पालमा भए पनि शोषण बढ्ता नै थियो ।  
चन्द्रशमसेरको पालामा लगभग २८ वर्ष प्रधानसेनापति बनेका भीमशमसेर वि.सं.१९८६ देखि १९८९ सम्म प्रधानमन्त्री बन्नुभएको थियो ।  वि.सं.१९२२ मा जम्मिनु भएका भीमशमसेरको मृत्यु वि.सं. १९८९ मा भएको हो ।  भीमशमसेरपछि नेपालको प्रधानमन्त्री जुद्धशमसेर बन्न पुग्नुभयो ।  उहाँले वि.सं.१९८९ देखि २००२ सम्म नेपालमा प्रधानमन्त्री बनेर विभिन्न सुधार गर्नुभयो ।  वि.सं. २००२ मा आफ्नै हातले पद्मशमसेरलाई मुकुट पहि¥याइ उनी पाल्पा अर्घलीको दरबारमा बस्न पुग्नुभयो ।  वि.सं. २००९ मा भारतको देहरादूनमा उनको मृत्यु भएको हो ।   यसैगरी वि.सं. २००२ देखि २००५ सम्म भीमशमसेरका जेठा छोरा पद्मशमसेर नेपालका श्री ३ महाराज र प्रधानमन्त्री बन्नुभएको थियो ।  म राष्ट्रको नोकर हुँ भन्ने उहाँले नेपालको वैधानिक कानुनको घोषणा गर्नु भएको थियो ।  वि.सं. १९३९ मा काठमाडौँमा जन्मिनुभएका पद्मशमसेरको मृत्यु वि.सं. २०१७ मा कलकत्तामा भएको थियो ।
वि.सं. १९४२ जन्मिनुभएका मोहनशमसेरले २००५ सालमा पद्मशमसेरलाई पदत्याग गर्न बाध्य बनाई ६५ वर्षको उमेरमा प्रधानमन्त्री बन्नु भयो ।  उहाँले वि.सं. २००८ सम्म प्रधानमन्त्रीका रूपामा नेपालमा शासन गर्नुभयो  ।  प्रजातन्त्र आगमनपूर्व र आगमनपश्चात् उहाँ नै नेपालका प्रधानमन्त्री हुनुहुन्थ्यो ।  स्मरण रहोस् २००८ सालमा गोरखा दलका आतङ्कका कारण काँग्रेसका मन्त्रीले राजीनामा दिएका कारण राजा त्रिभुवनले प्रधानमन्त्रीको पदबाट वि.सं. २००८ मा उहाँलाई  हटाउनु थियो ।  राणा शासनको अन्त्यसँगै भारतबाट फर्किनुभएका राजा त्रिभुवनले वि.सं.२००८ मा मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउनुभयो ।  उहाँ नेपालमा सर्वसाधारणबाट सर्वप्रथम प्रधानमन्त्री हुने व्यक्ति हुनुहुन्छ ।  वि.सं. १९६८ मा विराटनगरमा जन्मिनुभएका उहाँ समाजसेवी कृष्णप्रसाद कोइरालाका सुपुत्र हुनुहुन्छ ।   वि.सं. २००९ सम्म मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बन्नु भएको थियो ।  यस्तै, वि.सं. २०१० देखि २०११ सम्म पनि उहाँ नै प्रधानमन्त्री हुनुभएको  थियो ।  नेपाल र भारतका बीचमा कोसी सम्झौता पनि उहाँकै अवधिमा भएको थियो ।  मेरो कोसी यात्रा, कोसीको कथा, मातृकाका कथा, पिपाको हवल्दारलगायत  कृतिका रचनाकार उहाँको मृत्यु वि.सं. २०५४ मा काठमाडौँमा भएको हो ।  
त्यसपछि नेपालको पहिलो राजनीतिक पार्टी नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्ष टंकप्रसाद आचार्य वि.सं. २०१२ देखि २०१४ सम्म नेपालका प्रधानमन्त्री बन्नु भएको  थियो ।  उहाँ नेपालका जिउँदो शहीदका रूपमा पनि चिनुहुन्छ ।  होमियोप्याथी डाक्टर कुँवर इन्द्रजित सिंह वि.सं. २०१४ साउनदेखि २०१४ कात्तिकसम्म नेपालको प्रधानमन्त्री बन्नुभएको थियो ।  २००७ सालको क्रान्तिलाई मूर्तरूप दिन गरिएको दिल्ली सम्झौतालाई धोखा भन्ने उहाँ विद्रोह छाडेर चीनमा शरण लिन पुग्नुभएको थियो ।  उहाँको मन्त्रीमण्डलमा नै महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री बन्नु भएको थियो ।
वि.सं. २०१६ देखि २०१७ सम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो विश्वेश्वरप्रसाद कोइराला ।  वि.सं. १९७१ मा जन्मिनुभएका उहाँ वि.सं. २०१७ पौष १ गतेको राजनीति परिवर्तनपछि उहाँलाई २०२५ सालसम्म सुन्दरीजल जेलमा कैद गरियो ।  त्यसपछि भारतमा प्रवासिन पुग्नुभएका उहाँ वि.सं. २०३३ मा  नेपाल फर्किनु भयो ।  विश्वेश्वरप्रसाद कोइराला महान् राजनीतिज्ञ हुनुहुन्छ, अझ त्योभन्दा बढ्ता उहाँ साहित्यकार पनि ।  नेपाली कथामा मनोवैज्ञानिक यथार्थवादी धारालाई भित्र्याउने उहाँ प्रथम आख्यानकार हुनुहुन्छ ।  उहाँका दोषी चस्मा, श्वेत भैरवी र विश्वेश्वरप्रसाद कोइरालाका कथा नामक तीनवटा कथा कृति प्रकाशित छन् भने तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदीआइन, बाबु, आमा र छोरा, हिटलर र यहुदी आदि औपन्यासिक कृति प्रकाशित छन् ।  उहाँका थुप्रै राजनीतिक विचारप्रधान रचना प्रकाशित छन् भने जेल जर्नलजस्ता आत्मवृत्तान्त पनि प्रकाशित छन् ।  
विभिन्न कालखण्डमा प्रधानमन्त्री पदको सट्टामा मन्त्रीपरिषद्को अध्यक्षका रूपमा समेत केही व्यक्तिले मुलुकमा शासन गरेका थिए ।  राजा महेन्द्रले सुवर्णशमसेरको अध्यक्षतामा वि. सं. २०१५ देखि २०१६ सम्म डा. तुलसी गिरीको अध्यक्षतामा वि.सं. २०१९ देखि २०२१ र २०३२ देखि २०३४ तथा सूर्यबहादुर थापाको अध्यक्षतामा वि.सं. २०२१ देखि २०२३ सम्म मन्त्रीपरिषद् गठन गर्नुभएको थियो ।  त्यस्तै वि.सं. २०६९ मा पनि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रीपरिषद् गठन भएको थियो
राजा महेन्द्रले वि.सं २०१९ मा पञ्चायत व्यवस्था लागू गरेपछिको पहिलो प्रधानमन्त्री डा. तुलसी गिरी हुनुभयो ।  पञ्चायत कालमै सूर्यबहादुर थापाले वि.सं. २०२१ देखि २०२३ सम्म मन्त्रीपरिषद्को अध्यक्ष र  वि.सं. २०२३ देखि २०२५ सम्म  तथा वि.सं. २०३६ देखि २०४० सम्म प्रधानमन्त्रीका रूपामा काम गर्नुभयो  ।  बहुदलीय व्यवस्था आगमनपश्चात् वि.सं. २०५४ र २०६० मा समेत उहाँ प्रधानमन्त्री बन्नुभएको भियो ।  पञ्चायतकालमा क्रमशः कीर्तिनिधि विष्ट वि.सं. २०२५ देखि २०२६, २०२८ देखि २०३० र २०३४ देखि २०३६ सम्म प्रधानमन्त्री बन्नु भएको थियो ।  यसैगरी नगेन्द्रप्रसाद रिजाल वि.सं. २०३० देखि २०३२  र २०४२, लोकेन्द्रबहादुर चन्द वि.सं. २०४० देखि २०४२ र २०४६, मरिचमान सिंह श्रेष्ठ वि.सं. २०४३ देखि २०४६ सम्म प्रधानमन्त्री बन्नुभएको  थियो ।
वि.सं.२०४६ को जनआन्दोलनबाट प्राप्त बहुदलीय व्यवस्थामा कृष्णप्रसाद भट्टराई पहिलो अन्तरिम प्रधानमन्त्री हुनुभयो ।  उनको जन्म वि.सं. १९८१ मा भारतको वनारसमा भएको हो ।  विभिन्न पटक पार्टीको सभापति बन्नुभएका उहाँले वि.सं. २०५६ मा पर्सा जिल्लाबाट प्रतिनिधि सभामा विजय हुनुभएको थियो ।  त्यसपछि उहाँ पुनः प्रधानमन्त्री बन्न पुग्नुभयो  ।  ८७ वर्षको उमेरमा वि.सं.२०६७ फागुन २० गते उहाँको निधन भयो ।  
त्यस्तै, गिरिजाप्रसाद कोइराला वि.सं. २०४८ जेठदेखि २०५१ सालसम्म प्रधानमन्त्री बन्नु भएको थियो ।  यसैगरी वि.सं. २०५५ देखि २०५६, २०५६ देखि  २०५८ र २०६३ देखि २०६५ सम्म मुलुकको प्रधानमन्त्री बन्नुभयो ।  वि.सं.२०५८ मा तत्कालीन एमालेका प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारलाई फू गरी ढाली दिन्छु भनी अभिव्यक्ति दिएर आलोचित बन्न पुग्नुभयो ।  उहाँ प्रभावशाली नेताका रूपमा चिनिनुभयो ।  वि.सं. १९८१ असार १८ गते जन्मिनुभएका उहाँको वि.सं. २०६६ चैत्र ७ गते निधन भएको हो ।  
नेपालमा कम्युनिष्ट पार्टीका तर्फबाट पहिलो प्रधानमन्त्री बन्ने श्रेय मनमोहन अधिकारीलाई जान्छ ।  उहाँ वि.सं. २०५१ देखि २०५२ सम्म प्रधानमन्त्री बन्नु भएको थियो ।  वि.सं. १९७८ मा काठमाडौँ लाजिम्पाटमा जन्मिनुभएका उहाँ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पनि हुनुहुन्थ्यो ।  
त्यसैगरी, हालका प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो पटक वि.सं. २०५२ भदौ २६ देखि २०५३ फागुुन २६ गतेसम्म र वि.सं. २०५८ साउन ७ देखि २०५९ असोज १८ सम्म दोस्रोपटक  प्रधानमन्त्री बन्नुभएको थियो ।  असोज १८ मा देउवालाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गर्नुभयो  ।  त्यसपछि देउवा २०६१ जेठ २१ गते तेस्रो पटक प्रधानमन्त्री बन्नु भएको थियो ।  
पहिलो संविधानसभाले मुलुकमा गणतन्त्र घोषणा गरेलगतै वि.सं.२०६५ मा पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बन्नुभयो ।  यसैगरी वि सं. २०७३ साउन १४ देखि २०७४ जेठ २३ सम्म पुनः प्रचण्ड  प्रधानमन्त्री बन्नुभयो ।  यसैगरी वि.सं.२०६६ देखि २०६७ सम्म माधवकुमार नेपाल र वि.सं. २०६७ देखि २०६८ सम्म झलनाथ खनाल पनि प्रधानमन्त्री बन्नुभयो ।  यसैक्रममा वि.सं. २०६८ देखि २०६९ सम्म डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्नुभयो ।  त्यसैगरी वि.सं. २०७० देखि २०७२ सम्म सुशील कोइराला प्रधानमन्त्री हुनुभयो ।   त्यसपछि वि.सं. २०७२ देखि २०७३ सम्म के. पी. शर्मा ओली नेपालको प्रधानमन्त्री बन्नुभयो भने प्रचण्डले राजीनामा दिएपछि वि.सं. २०७४ जेठ २३ देखि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु भएको छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना