मैलुङ–स्याफ्रुबेँसी सडकको ट्र्याक खुल्दै

rasuwa roadकाठमाडौँ, असार ४ गते ।  काठमाडौँलाई चीनसँग सडक सञ्जालले जोड्ने सबैभन्दा छोटो मार्ग काठमाडौँ–रसुवागढी सडक (१२२ किमि) छिट्टै सञ्चालनमा आउने भएको छ ।  उच्च रणनीतिक महत्वको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमध्ये मैलुङ–स्याफ्रुबेँसी सडक (१७ किलोमिटर) को ट्र्याक खोल्ने काम नेपाली सेनाले असारको अन्तिम सातासम्ममा पूरा गर्दैछ ।  
ट्र्याक खुलेपछि नेपाल चीनसँग छोटो दूरीको सडक सञ्जालले जोडिने छ ।  बहुचर्चित एवम् बहुप्रतिक्षित मार्ग  सञ्चालनमा आएपछि काठमाडौँदेखि चीनको केरुङ करिब चार घण्टामा पुग्न सकिन्छ ।  नेपाली सेना, विकास निर्माण निर्देशनालयका निर्देशक सहायक रथी उद्धव विष्टले मैलुङ–स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।  सरकारले सेनालाई सुम्पिएको समयसीमाभित्रै ट्र्याक खुलाउने काम सम्पन्न हुन लागेको हो ।  सडक नौ मिटर फराकिलो र डबल लेनको हुनेछ ।  
मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण सम्पन्न भएपछि गल्छीदेखि रसुवागढीसम्मको दूरी ८४ किलोमिटर मात्र हुने छ ।  अर्काेतर्फ गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डलाई पनि छोटो बनाउने छ ।  यसको निर्माणले बेत्रावतीबाट राम्चे हुँदै धुन्चे नगई सिधै मैलुङ हुँदै स्यापु्रmबेँसी पुग्न सकिनेछ ।  
काठमाडौँ – गल्छी – बेत्रावती ७५, बेत्रावती – धुन्चे – स्याफ्रुबेँसी ५४ र स्याफ्रुबेँसी–रसुवागढी १६ गरी यो सडक कुल १४५ किलोमिटरको छ ।  बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठीन घुम्ती पार गर्नुपर्छ ।  राम्चे र मूलखर्कमा सुख्खा र वर्षात दुवै समयमा आउने पहिरोले यातायात आवागमनमा कठिनाइ हुने गरेका छन् ।  सडक बनेपछि बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसीसम्मको दूरी जम्मा ३१ किमि हुनेछ ।  नेपाली सेनाका अनुसार निर्माणाधीन मैलुङ–स्याफ्रुबेँसी सडक बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी सडकभन्दा २३ किमि छोटो हुनेछ ।  यसैगरी काठमाडौँ–रसुवागढी सडकको दूरी कूल १२२ किमि हुन जानेछ ।  
निर्देशक विष्टले नेपाली सेनाले आफ्नो सीमित स्रोत, साधनको प्रयोग गरी मैलुङ–स्याफ्रुबेँसी ट्र्याक खोल्ने काम असार मसान्तसम्म सम्पन्न गरी यातायात सञ्चालनमा आउने जानकारी दिनुभयो ।  सडक डबल लेन, स्तरोन्नतिलगायत सबै काम अगामी चैत मसान्तभित्रमा पूरा हुने उहाँको भनाइ छ ।  हाल सेनाले मैलुङ, स्याफ्रुबेँसी, त्रिशूली दोभान, सोलेबेँसी र गुमचेत गरी चार स्थानमा आफ्नो क्याम्प स्थापना गरी सडक निर्माणलाई तीव्रता दिएको छ ।  साथै मैलुङको त्रिशूली खोलामा १२० मि लामो ‘बेलिब्रिज’ समेत जडान गरिसकेको छ ।  बेलिब्रिजको भारवहन क्षमता २५ टन रहेको उहाँले जानकारी दिनुभयो ।  
अर्काेतर्फ चीन सरकारले पनि केरुङलाई रेलमार्गसँग जोड्न उच्च प्राथमिता दिई काम गरिरहेको छ ।  हाल तिब्बती रेलमार्ग सिगात्सेसम्म आइपुगिसकेको र सन् २०२० सम्म चीनको हिमाली उपत्यका केरुङ आइपुग्ने बताइएको छ ।  रसुवागढी केरुङ ३५ किलोमिटरको दूरी छ ।  चीनले केरुङबाट नेपालसँगको आफ्नो सीमा रसुवागढीसम्म सडक विस्तार, स्तारोन्नति एवम् सुधारलाई तीव्र बनाइराखेको छ ।  मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलका प्रमुख एवम् सेनानी सञ्जय केसीले भौगोलिक विकटता, कठिनाइ एवम् सडक मार्गमा चट्टान नै चट्टान भएका बीचमा पनि सेनाले सडकको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पु¥याएको बताउनुहुन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना