महर्षि विश्वरूपको विशेषता

kamal rijalकमल रिजाल

 

वैदिक मन्त्रद्रष्टा ऋषिमा महर्षि विश्वरूप पनि बिर्सनै नसकिने नाम हो ।  यसो त उनलाई वैदिक महर्षि भन्नुभन्दा पौराणिक महर्षि भन्नु बढी उचित देखिन्छ ।  पौराणिक ग्रन्थले उनलाई जुन स्थानमा राखेर सम्मान गरेको छ साँच्चै त्यो प्रशंसनीय छ ।  खासगरी श्रीमद्भागवत र देवीभागवतादि ग्रन्थमा उनको त्याग, तपस्या र योगदानबारे जसरी चर्चा भएका छन् त्यस्तो स्थान र अवस्था त्यस्तै एकाध भाग्यमानीले मात्र प्राप्त गर्न सक्छ ।  तथापि वैदिक संहिताले समेत उनको गुणगानमा खासै कन्जुस्याईं गरेका छैनन् ।  यसअर्थमा उनलाई वेद, पुराण सर्वत्र सार्वभौम उपस्थिति देखाउन सक्षम महर्षिहरूको पङ्क्तिमा राखेर हेरिनु समीचीन हुन्छ ।  त्वष्टाप्रजापतिका छोरा महर्षि विश्वरूपलाई त्रिशिरा पनि भनिन्छ ।  ऋग्वेद १० ।  ८ ।  ८ का अनुसार उनी तीनवटा टाउका र सातवटा विशेषताले युक्त रहेका महर्षि मानिन्छन् ।  त्यस्तै श्रीमद्देवीभागवतमा उल्लेख भएअनुसार उनी आफ्ना तीन शिर (मुख) मध्ये एउटाले वेदपाठ गर्थे भने दोस्रोले एकैसाथ दशै दिशाको अवलोकनको काम र तेस्रो मुखले अन्न तथा रसादि तìवलाई ग्रहण गर्ने गर्दथे ।  उनलाई तीनवटा टाउको अर्थात् शिर भएकाले त्रिशिरा भनिएको हो भने विश्वरूप नाम चाहिँ विश्वव्यापी कीर्ति र योगदानको आधारमा रहेको हो ।  
ऋग्वेद दशौँ मण्डलको आठौँ र नवौँ सूक्त उनै महर्षि विश्वरूपद्वारा देखिएका मन्त्रका सँगालो मानिन्छन् ।  अग्नि र आपोदेवता (वरुण) को प्रशंसामा गाइएका यी सूक्तमा कुल १८ वटा मन्त्र रहेका छन् ।  यीमध्ये मण्डल १० सूक्त ८ को तेस्रो मन्त्रमा उनले पृथ्वी र द्युलोकलाई अग्निको माता र पिताको रूपमा उल्लेख गर्दैै अग्नितत्व नै ब्रह्माण्डमा विद्यमान समग्र तेजपुञ्जको मूल रूप हो भन्ने आशय व्यक्त गरेका छन् भने ऐ ऐको चौथो मन्त्रमा संसारमा यदि दिन र रात दुवै समयमा उत्तिकै प्रदीप्त हुन सक्ने शक्ति कुनै छन् भने अग्नि नै छन् भन्ने धारणा व्यक्त गर्न पुगेका छन् ।  त्यति मात्र होइन यसै मन्त्रमा उनले सूर्य र उसका सातै किरणको मूल आधारसमेत अग्नि नै हो भन्न समेत भ्याएका छन् ।  अझ आश्चर्य त के भने उनी ऐ ऐ को छैटौँ मन्त्रमा त्योभन्दा पनि एकपाइलो अघि बढेर यीनै अग्निलाई पर्र्जन्य (मेघ अर्थात् जलतत्व) को समेत अधिष्ठानको रूपमा स्वीकार्न पुगेका देखिन्छन् ।  उल्लिखित सूक्त नौ को नौवटै मन्त्रले भने विशुद्धरूपमा जलका देवता र तिनका विशेषता वर्णनमा ऊर्जा खर्च गरेका छन् ।  यी मन्त्रहरूका अनुसार जलका देवता भनेका समग्र प्राणी समुदायको जीवनको आधार मात्र होइनन् सुख, शान्ति, आनन्द तथा आयु र आरोग्यका स्रोत समेत रहेका देखिन्छन् ।  
दया, माया, मैत्री, करुणा, स्नेह र सद्भावका बेजोड सङ्गम नै मानिएका महर्षि विश्वरूपको वैज्ञानिक चेत पनि उत्तिकै प्रौढ रहेको पाइन्छ ।  सबैलाई थाहा भएकै कुरा हो आधुनिक विज्ञानले संसारको स्रोत सूर्यलार्ई मानेको छ ।  पृथ्वीसमेत सूर्यबाटै चोइटिएर बनेको हो भन्ने उसको मान्यता छ तर महर्षि विश्वरूपलाई भने कतै यो स्वीकार्य छैन ।  उनका अनुसार अग्नि भनेका त्यस्ता तìव हुन् जो सूर्यका मात्र आदिम स्रोत होइनन् समग्र विश्वब्रह्माण्ड र तिनका कार्यका समेत आधारभूत तìवसमेत हुन् ।  त्यस्तै आगो र पानीको सम्बन्धमा पनि उनको तर्क र सिद्धान्त भिन्नै भेटिन्छ ।  भनिरहनु परोइन पानीभित्र आगो छ भन्ने कुरा सबैलाई थाहा छ ।  यसलाई हाम्रा आध्यात्मिक वैज्ञानिकले हजारौँ वर्षपूर्व नै देखेका थिए र वडवानलको संज्ञा दिएर उसको न्वारनसमेत गरेका थिए ।  भौतिक वैज्ञानिकको कुरा गर्ने हो भने उनीहरूले त्यसैलाई विद्युताग्निको रूपमा प्रकट गरी व्यावहारिक प्रयोगमा ल्याउने काम गरिसकेका छन् ।  हालका मानिसले विज्ञान र प्रविधिको क्षेत्रमा जे जति प्रगति गरेका छन् तिनको अन्तर्यमा कुनै न कुनै रूपले यिनै विद्युत् अग्निको उपस्थिति प्रष्टै अनुभूत गर्न सकिन्छ ।  तथापि आगोभित्रको पानीको बारेमा भने उनीहरूले चर्चासम्म गरेका छैनन् ।  गरेका छैनन् मात्र पनि के भन्ने र यसैका लागि अरू कति वर्ष कुर्नुपर्ने हो यसै भन्न सकिन्न तर महर्षि विश्वरूपले भने हजारौँ वर्षपूर्व नै आगोभित्र पनि पानी हुन्छ भनेका मात्र छैनन् पानीको स्रोत नै आगो भन्ने मान्यता अघि सारिसकेका छन् ।  
महर्षि विश्वरूप मात्र होइन उनको बाबु त्वष्टा प्रजापतिसमेत वैदिक मन्त्रद्रष्टा ऋषिमै पर्छन् ।  ऋग्वेद मण्डल १० सूक्त १८४ का द्रष्टा ऋषि उनै मानिएका छन् ।  लिङ्गोक्त देवताको स्तुतिगान गरिएको यस सूक्तमा कुल तीनवटा मन्त्र छन् ।  गर्भसूक्तको समेत संज्ञा दिन सकिने यस सूक्तको पहिलो मन्त्रमा प्राणी समुदायमा गर्भधारण लागि आवश्यक शक्ति, सामथ्र्य, तìव र तन्तुका बारेमा गुढतम चर्चा गरिएको पाइन्छ भने दोस्रो र तेस्रो मन्त्रमा गर्भधारण गरिसकेपछिको अवस्था चित्रण गर्दै गर्भ र गर्भस्थ शिशुको सुरक्षाका लागि सिनिवाली, सरस्वती, अश्विनिकुमारहरूसित प्रार्थना गरिएको छ ।  यस्ता ज्ञान र विज्ञानका विशिष्ट भण्डरका रूपमा रहेका महर्षि विश्वरूप साम्प्रदायिक सद्भाव र समन्वयको समेत चरम नमूनाको रूपमा रहेका छन् ।  उनी आफँै सुर सम्प्रदायका मानिन्छन् तर उनको मातृकुल भने असुर सम्प्रदायसित सम्बन्धित छन् ।  उनको आमाको नाम ‘रचना’ हो, जो असुर राजकुमारी मानिएकी छन् ।  त्यसैले उनले वैदिक संस्कृतिका दुई सम्प्रदाय सुर र असुरको बीच सेतुको रूपमा खडा भई शुरुदेखि नै कायम रहँदै आएको साम्प्रदायिक विद्वेष हटाउन जुन किसिमको भूमिका निर्वाह गरेका थिए साँच्चै त्यो अतुलनीय देखिन्छ ।  
श्रीमद्भागवतमा उल्लेख भएअनुसार एकपटक गुरु बृहस्पतिको अनादरको कारण देवताहरू शक्ति बिहीन हुन पुगेका थिए ।  यही मौका छोपी असुुुरहरूले उनीहरूको राज्यसत्ता छिनेर लिएकाले उनीहरू ब्रह्माजीको शरणमा पुगेका थिए ।  यतिबेला उनीहरूले ब्रह्माजीको उपदेशअनुसार यिनै विश्वरूपलाई पुरोहित बनाएका मात्र थिएनन् तिनै विश्वरूपको सहयोगमा गुमेको सत्ता र शक्ति फिर्ता गराउन सफल भएका थिए ।  उनले यतिबेला देवतालाई जुन उपदेश दिएका थिए त्यो नारायणकवचको नामले पौराणिक ग्रन्थमा अङ्कित छ ।  उनले चाहेका भए देवताको आग्रह टार्न सक्थे र मामलीकुलको पक्ष लिएर थप समस्या खडा गरिदिन सक्थे तर उनले बरु आफ्नै मामलीकुलको विरुद्ध उभिने हिम्मत गरे तैपनि शरणमा आएकालाई मरण गर्न नहुने धर्मनिर्वाह गर्नबाट चुकेनन् ।  तथापि बिडम्बना त के भने जसले देवराज इन्द्रलाई गुमेको सत्ता र शक्ति फिर्ता गराउन सघाएका थिए तिनै विश्वरूपको देवराज इन्द्रले विना कसुर हत्या गरेका थिए ।  यस प्रसङको संक्षिप्त उल्लेख ऋग्वेदको मण्डल १० सूक्त आठको नवौमन्त्रमा पनि भएको पाइन्छ ।  यस्ता महान् तपस्वी र संयमी ब्रह्मणपुत्र विश्वरूपको वध गरेपछि देवराज इन्द्रलाई बह्महत्या लागेको थियो ।  यद्यपि उनले शक्तिको आडमा त्यसलाई अन्यत्रै पन्छाएर उम्कन नखोजका होइनन् तर गल्ती गरेपछि भोग्नैपर्ने प्रकृतिको नियमलाई कसले पो लत्याउन सकेको छ र ।  देवराज इन्द्र ब्रह्महत्याको अपराधलाई पन्छाउन सफल भएका भए पनि सोहीकारण उत्पन्न हुन पुगेको वृत्रासुरको आक्रमणलाई भने नभोगी सुखै पाएनन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना