चिराइतोले बजार पाएन

चरिकोट, असार ५ गते ।  यहाँ उत्पादित चिराइतोले बजार नपाउँदा दोलखाका किसान चिन्तित बनेका छन् ।  
जिरी नगरपालिका–१, श्यामाका किसान चन्द्रबहादुर खड्का २० वर्षदेखि चिराइतो खेती गर्दै आउनुभएको छ तर पछिल्ला वर्ष आफूले उत्पादन गरेको चिराइतो बिक्री नहुँदा निराश बन्न
थाल्नुभएको छ ।  
उहाँले ३०÷४० रोपनी जग्गामा व्यावसायिक खेती गर्ने उद्देश्यका साथ सुरु गर्नुभएको यो खेती अहिले १५ रोपनीमा विस्तार भएको छ ।  खड्काले प्रतिकिलो दुई सय रुपियाँमा दुई सय किलो बेचेँ ।  अब तीन सय किलो बाँकी छ ।  सस्तैमा पनि बिकेको छैन ।  थन्क्याएर राखेको छु भन्नुभयो ।
खड्काको घर वन क्षेत्रको भित्रपट्टि पर्छ ।  अन्न बाली बाँदरले खाइदिन्छ ।  बाँदरले नखाने खेती रोज्दा र वनमा सधैँ देखेको चिराइतो नै खेती गर्न थालेको उहाँले बताउनुभयो ।  रोजेको खेतीबाट उत्पादन त राम्रै भयो तर बजार नपाउँदा अब के गर्ने भन्ने द्विविधामा परेको गुनासो उहाँले गर्नुभयो ।  
विकल्पको खोजीमा छु ।  पूर्व तयारीमा पनि छु ।  धेरै लगानी र अनुभवमा भिजेकाले अझै एक वर्ष चिराइतो खेतीलाई नै हेर्छु ।  पूरा व्यवस्थितका साथ यो खेती गरेकाले दुर्गा जडीबुटी उत्पादन नामक फार्म पनि सञ्चालन गरेको छु –खड्काले भन्नुभयो ।
उहाँले वनमा देखेको चिराइतो असमयमै सङ्कलन गरेको देखेपछि यसलाई जोगाएर व्यावसायिक खेती गर्छु भन्ने लागेर यो खेतीमा लाग्नुभएको हो ।  उहाँले वनको बिरुवा सार्दा पनि राम्रो भएन ।  बीउ छर्दा पनि राम्रो भएन ।  आफ्नो लामो अनुभवलाई सातदिने तालिमले साथ दियो ।  खेती त राम्रो भयो तर बजार भएन भन्नुभयो ।
पहिला पहिला घरमै ठेकेदार आउने गरेको र प्रतिकिलो एक हजार रुपियाँसम्म लिएको स्मरण गर्दै उहाँले डावर कम्पनीलगायत यसका व्यापारीसँग सम्पर्क गर्दा पनि चिराइतो बेच्न सकिएन ।  एक त संरक्षण क्षेत्रले बाधा पुगेको छ भने अर्कोतर्फ चिराइतो निर्यात गर्ने सूचीमै रहेनछ ।  
सरकारले यसको निर्यात गर्ने सजिलो व्यवस्था गरिदिए बजार सहज भई मेरो खेती फस्टाउने थियो भन्नुभयो ।  
यो खेती फस्टाएको देखेर खड्कालाई हिमाली आयोजनाले आठ लाख रुपियाँ अनुदान पनि दिएको थियो ।  उहाँले डेढ लाखको गोदाम घर भूकम्पले फेदैसम्म ढल्यो ।  अहिले ऋणपान गरेर भए पनि भूकम्प प्रतिरोधी गोदाम बनाएको छु ।  सन्तोषजनक नै थियो तर उत्पादित वस्तु बिक्री भएन भन्नुभयो ।
चिराइतो बहुउपयोगी वस्तु हो ।  ज्वरो, अरुचि हटाउने, रक्त सफा गरी सञ्चारमा सहयोग गर्ने, पोलेको ठाउँमा लगाउँदा सञ्चो हुने र वस्तुमा आउने खोरेत रोग निको हुने लगायत ७० भन्दा बढी रोगको उपचार यसबाट गर्न सकिने विज्ञ बताउँछन् ।  
चिराइतो तयारी हुन साढे दुई वर्ष लाग्छ ।  जेठमा बीउ राखेपछि अर्काे असारमा सार्नुपर्छ ।  अर्काे असोजमा सङ्कलन गर्नुपर्छ ।  
खड्काले विकल्पका रूपमा रोजेका बोझो खेती र लोठसल्लो पनि लोपोन्मुख भन्दै निर्यात बन्द छ ।  उहाँले बरु पाँच रोपनीमा लगाइएको  चियाले २० हजार रुपियाँ आम्दानी गरेको छ ।  बजार त छ हातले माडेर बनाउनुपर्ने भएकाले माग धान्न सकिएको छैन भन्नुभयो ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds