अब काँग्रेस कता जाँदैछ ?

Surya subediसूर्य सुवेदी




अहिले मुलुकभित्र र बाहिरका नेपाली र नेपाल देश स्थिर, सम्पन्न र अक्षुण्ण रहोस् भन्ने चाहना राख्ने नेपालका मित्र नेपालको वर्तमान राजनीतिक स्थिति र नेपालको सबैभन्दा पुरानो र जनमानसमा भिजेको इतिहास बोकेको काँग्रेस पार्टीले आगामी दिनमा कस्तो भूमिका खेल्ने हो भनेर गम्भीरतासँग हेर्दैछन् ।  काँग्रेसले आगामी दिनमा लिने सिद्धान्त र नीति के हो ? सो पार्टी दिशाहीन देखिएको छ ।
अहिले नेपाली काँग्रेस पार्टीको सभापति र देशको प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवा पार्टीभित्र अत्यन्तै शक्तिशाली हुनुहुन्छ ।  यदि देउवाले उहाँको विगतको छविलाई सुधार गरेर समग्र पार्टीको नेता हुने साहस गर्नुभयो भने काँग्रेस पार्टी अझै पनि नेपालमा केही समय शक्तिशाली पार्टी रही रहन सक्नेछ ।  पार्टी भनेको पार्टी सभापति एक्लै मात्र होइन ।  काँग्रेस पार्टीभित्रका उच्च नैतिकता भएका, शिक्षित र अग्रगामी सोच भएका पुराना पुस्ताका केही र निरन्तर मिहिनेत गर्न सक्ने युवा पुस्ताका राम्रा व्यक्ति छानेर पार्टी सङ्गठनमा यथोचित स्थान दिन सकियो भने काँग्रेस पार्टीले अझै पनि गति लिन सक्छ ।  काँग्रेस पार्टीले समयको गम्भीर चुनौती स्वीकार गरेर मिहिनेत ग¥यो भने काँग्रेस पार्टीको ह्रास भएको अहिलेको छवि जनमानसमा सुध्रन सक्छ ।  
    देउवा पार्टी सभापति भएपछि देउवा समस्त काँग्रेस पार्टीको सभापति हुन सकिरहेको देखिएको छैन ।  गिरिजाप्रसाद कोइराला पार्टी सभापति भएको र देउवा प्रजातान्त्रिक काँग्रेसको सभापति भएको बेला पार्टीलाई एकीकरण गर्दा जुन साठी र चालीसको भागबण्डाको परिपाटी बसाइएको थियो, सोही परम्परा कायमै छ ।  यसले काँग्रेस पार्टी एउटै भएको सन्देश जनमानसमा जान सकेन ।
        अझै पनि काँग्रेस पार्टीप्रति जनताको पर्याप्त आकर्षण छ ।  काँग्रेस पार्टीसँग विगत ७० वर्षभन्दा बढी समयदेखिको गौरवपूर्ण इतिहास छ ।  वि.सं. २००७ सालमा जहानियाँ राणातन्त्र खतम गर्न, २०१७ सालपछि तीस वर्षसम्म निरन्तर पञ्चायत र निरङ्कुश राजसंस्थासँग सङ्घर्ष गर्न, २०४६ सालमा पुनः प्रजातन्त्र बहाली गर्न र २०६३ मा माओवादीसँग मेलमिलाप गरी उनीहरूको हिंसाको राजनीति समाप्त गरी प्रजातान्त्रिक मूल प्रवाहमा ल्याउने काम गरेको इतिहास काँग्रेससँग छ ।  
    काँग्रेसका केही ऐतिहासिक नेता बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला, महेन्द्रनारायण निधि आदिको सुनौलो इतिहासको विरासत पनि काँग्रेसको प्र्रट देखिने पुँजी छ ।  काँग्रेसका यी ऐतिहासिक नेतामा इमानदारी र उच्च नैतिकता थियो ।  उनीहरूमाथि जनताको पूर्ण भरोसा थियो ।  उनीहरूको राजनीति सिद्धान्तमा र नैतिकतामा आधारित थियो ।  जनताको सेवा नै उनीहरूको केन्द्रबिन्दु थियो ।   
    काँग्रेसमा धेरै वृद्ध नेता छन् ।  उनीहरू समयको हाँकलाई सम्बोधन गर्न असमर्थ छन् ।  अहिलेका ओहदाधारी प्रायशः वृद्ध केन्द्रीय नेताहरूको मुख्य समस्या के हो भने उनीहरूसँग नयाँ विचार छैन, नयाँ युग अनुसारको प्राविधिक ज्ञान छैन ।  धेरैजसो नेतामा हुनुपर्ने आचरण र नैतिकता पनि छैन ।  आमजनताले विश्वास गर्ने खालको सामाजिक पुँजी पनि अत्यन्तै कम छ ।  विगतका नेतालाई कति दिन भिजाउन सकिन्छ ? अहिलेको काँग्रेसको नेतृत्वले जो युवाहरू योग्य, सक्षम र चलायमान छन्, उनीहरूलाई नेतृत्वमा जान यी वृद्धहरूले भरसक दिँदैनन् ।  काँग्रेसमा गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादको समयदेखि नै के रोग थियो भने नेतृत्वमा जान पाको उमेर नै चाहिन्छ ।  केश पाकेकै हुनुपर्छ ।  थुप्रै शक्तिशाली देशका उदाहरण हेरौँ भर्खरै चुनिएका फ्रान्सको राष्ट्रपति ३९ वर्षका मात्र छन् ।  आयरल्यान्डका प्रधानमन्त्री ३८ वर्षका मात्र छन् ।  क्यानडाका प्रधानमन्त्री ४५ वर्षका मात्र छन् ।  अमेरिकाका पछिल्लो पुस्ताका लोकपिय राष्ट्रपति बिल क्लिण्टन र बाराक ओबामा ५० वर्षभन्दा कम उमेरमै पहिलोपटक राष्ट्रपति चुनिएका थिए ।  कुनै पनि मान्छेको क्षमता योग्यता र दृष्टिकोणका लागि उमेरको खासै अर्थ रहँदैन भन्ने कुरा अमेरिका लगायतका पश्चिमा देशका युवा उद्यमीले प्रमाणित गरेका छन् ।  युरोप तथा अमेरिकामा ६० प्रतिशत सबैभन्दा धनी र शक्तिशाली व्यक्ति ३८ वर्षभन्दा कम उमेरका भएको तथ्याङ्कले देखाउँछन् ।  
        अहिलेको काँग्रेस नेतृत्वको सबैभन्दा ठूलो समस्या भनेको समयको पदचापलाई सुन्न नसक्ने अवस्था हो ।  बौद्धिक रूपमा काँग्रेस पार्टी दिशाहीन अवस्थामा छ ।  धेरै काँग्रेसले सबैभन्दा बढी भन्ने गरेको सैद्धान्तिक दृष्टिकोण भनेको बीपीको समाजवाद हो भन्छन् ।  ६२ वर्षअघि २०१२ सालको वीरगञ्ज अधिवेशनमा बीपीले काँग्रेसको आर्थिक नीति समाजवादी हो भन्नुभएको थियो ।  त्यतिखेर विश्वमै समाजवादको लहर थियो ।  आर्थिक नीतिमा बीपले आफूलाई माक्र्सवादी हुँ भनेका छन् ।  बीपीका सैद्धान्तिक गुरु जयप्रकाशनारायण, राममनोहर लोहिया, आचार्य नरेन्द्रदेव र जर्मनका बिलीब्रान्टसमेत त्यही धारणामा थिए ।  भारतका पण्डित जवाहरलाल नेहरू पनि समाजवादकै प्रयोगकर्ता थिए ।  बीपी अध्ययनशील थिए ।  अहिले विश्वमा समाजवादी राष्ट्र धरासायी भएका छन् ।  काँग्रेसको २०४६ सालपछिको आर्थिक प्रयोग समाजवादको उल्टो छ ।   
    बीपी, गणेशमान, सुवर्णशमशेर र कृष्णप्रसाद भट्टराईले लिएको सादगी र भ्रष्टाचार विरोधी मान्यताले निरन्तरता पाउन सकेन ।  अनेकौँ काण्डमा नेताहरूको नाम चर्चामा आए ।  प्रचण्ड पुत्री रेणु दाहाललाई भरतपुरमा काँग्रेसको समर्थनले काँग्रेसका युवा पुस्तालाई र काँग्रेसका मतदातालाई निराश तुल्याएको छ ।  आगामी लामो समयसम्म पनि माओवादीसँग सहकार्य गर्ने घोषणाले आगामी दिनमा ठूलो सङ्ख्यामा काँग्रेस कार्यकर्ता काँग्रेस पार्टीबाट पलायन हुन सक्ने अवस्थालाई काँग्रेस नेतृत्वले गम्भीरतापूर्वक लिएको देखिएन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना