धान रोपाइँको चटारो

सन्तोष राउत

सल्यान (सोलुखुम्बु), असार ९ गते ।  मनसुन सुरु भएसँगै यहाँका किसानहरू खेतमा धान रोपाइँ गर्नमा व्यस्त भएका छन् ।  खोलामा पानीको मूल नफुट्दा सोलुखुम्बुका विभिन्न गाविसमा धान रोपाइँमा समस्या भएको थियो ।  
असारको पहिलो सातापछि स्थानीय खोलामा पानी पलाउन थालेपछि स्थानीय कृषक धान रोप्नमा व्यस्त भएका हुन् ।  एक दर्जनभन्दा बढी गाविसका करिब एक हजार पाँच सय हेक्टरमा धान खेती हुने सोलुखुम्बुमा नेचा, सल्यान, काँगेल, पञ्चन, देउसा, मुक्ली तथा जुबु गाविसहरू धान खेतीका लागि राम्रा मानिन्छन् ।  जिल्लाको स्थानीय चामलको अधिकांश माग यही क्षेत्रको उत्पादनले धान्ने गरेको छ ।  भौगोलिक रूपमा विविधता भएको जिल्ला भएकाले यहाँ जेठ देखि सुरु गरिएको धान रोपाइँ साउनसम्म हुने गर्दछ ।  
पानीको अभावमा धानको बीउ मुश्किलले राख्न पाएको भए पनि यस पटक समयमा नै धान रोपाइँ गर्न नपाएको नेचा सल्यान–१ रङ्गाका कृषक दिलबहादुर बस्नेतले बताउनुभयो ।  खेतमा धानको बीउ छिप्पिएर जान लाग्दासमेत धान रोपाइँ गर्न नपाउँदा कृषकहरू चिन्तित भएकोमा बल्ल धमाधम रोपाइँ सुरु गरेको उहाँको भनाइ छ ।  यस वर्ष नै निर्वाचन भएको तर मौसमले गर्दा समयमा रोपाइँ सकेर निर्वाचनमा जानसमेत समस्या भएको कृषकहरू बताउँछन् । solu ropai
समयमा पानी नपर्दा निकै समस्या खेपेका नेचा सल्यान–२ का कृषक नरबहादुर बस्नेत यसपटक ढिलै भए पनि धान रोपाइँ गर्न पाउँदा हर्षित भएको बताउनुहुन्छ ।  ‘मुठी रोपेर मुरी उब्जाउने’ भन्ने भनाइ अनुसार यस असारमा अधिकांश कृषकका खेतमा हलगोरु जोतेका र बाउसे तथा रोपारहरू मस्तसँग धान रोपाइँमा व्यस्त भेटिन्छन् ।  गाउँका घरहरूमा ढोका बन्द गरेर प्रायः सबै खेतमा गएको पाउन सकिन्छ ।  सायद गाउँमा कुनै विपद् परेमा पनि घरमा बच्चा र वृद्धबाहेक कोही पाउन सकिन्न ।  
आजभोलि सबैको एकै समयमा रोपाइँ भएपछि काम गर्ने मानिसहरूको अभाव देखिएको छ ।  धेरै खेत हुने तर घरमा परिवार कम भएकाहरूलाई भने निकै समस्या खेप्नु परेको छ ।  पानी ढिलो परेकाले एकै पटक सबैको खेतमा रोपाइँ हुने भएपछि पर्ममा मात्र मानिस पाउने र ज्यालामा काम गर्ने कृषि श्रमिक पाउन मुश्किल भएकाले रोपाइँ ढिला हुन सक्ने केही कृषक बताउँछन् ।
नेपालको ग्रामीण भेगमा परम्परागत खेती प्रणाली भएकाले खेती गरेअनुसार भने आम्दानी कमै हुने गरेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना