अलैँचीको बेर्ना नर्सरीमै हुर्किने किसानलाई चिन्ता

aalaichiचरिकोट, असार ९ गते ।  स्थानीय अलैँचीका बिरुवाले बजार नपाउँदा दोलखाली किसान निराश हुन थालेका छन् ।  गत वर्ष अलैँचीमा राम्रो मूल्य पाएका किसानहरू यस वर्ष कम मूल्यमा पनि बिक्री नहुँदा निराश हुनु परेको भीमेश्वर नगरपालिका हालको एक नम्बर वडाका अलैँची किसान बलराम शिवाकोटी दुखेसो गर्नुभयो ।  
गत तीन वर्ष यता अलैँची बिक्रीमा केही कमी आएकाले किसानहरू दिनप्रतिदिन निराश हुँदै गएको उहाँले बताउनुभयो ।   उहाँले भन्नुभयो, प्रतिकिलो दुई हजार पाँच सयमा बिक्री भएको अलैँची गत साल एक हजार रुपियाँमा पनि मुश्किलले बिक्री भएकोमा उहाँ चिन्तित हुनुहुन्छ ।   
गत वर्ष प्रतिगोटा सात रुपियाँमा बिरुवा बिक्री गरेका किसानले यस वर्ष बजार पाउन सकेका छैनन् ।  न्यूनतम मूल्य पाएमा पनि आपूmसँग १० लाख रुपियाँ बराबरका बिरुवा भएको बताउनुहुने अर्का किसान तिलकबहादुर थामीले चिन्तित हुँदै भन्नुभयो, अहिलेसम्म कहीँ कतैबाट उत्पादित बिरुवाको माग आएको छैन ।  नर्सरीमै बिरुवा हुर्कने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।  
सैलुङ गाउँपालिका–७ फस्कुका बालकृष्ण श्रेष्ठको पनि उस्तै चिन्ता छ ।  उहाँले गत वर्षमा राम्रो मूल्य पाएपछि अलैँची नर्सरी वृद्धि गर्नुभएको थियो तर यस वर्ष अलैँचीको बेर्ना बिक्री नै भएन ।   
निर्वाचित जनप्रतिनिधिहरूले किसानका लागि पहिलो प्राथमिकता राखेर अलैँचीको बजारीकरण गरिदिनुपर्ने उहाँले बताउनुभयो ।  तामाकोसी गाउँपालिका–२ का किसान टपेन्द्र कार्कीले अलैँची बिरुवाको माग दिनप्रतिदिन घट्दै गएको बताउँदै एक्कासि यसरी बजार नपाउँदा उत्पादित दुई लाख बिरुवा खेर जान थालेको दुखेसो पोख्नुभयो ।  
अहिले यहाँ ६५ भन्दा बढी नर्सरीमा डेढ करोडभन्दा बढी बिरुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  ४८ मेट्रिकटन अलैँची उत्पादन भएकोमा भाउ नपाएका कारण २५ मेट्रिकटन मात्र बिक्री भएको छ ।  कार्यालयको अभिलेख अनुसार गत वर्ष ३५ लाख बिरुवा उत्पादन भएको थियो ।  अनुदान  वितरणका लागि कार्यालयले साढे चार लाख बिरुवा खरिद गरेको थियो ।  यस वर्ष साढे तीन हेक्टरमा अलैँची खेती गरिएकोमा ४८ मेट्रिकटन उत्पादन भएको थियो ।  यसपालि पाँच सय हेक्टरमा अलैँची खेती गर्ने तयारीमा रहेको वरिष्ठ कृषि विकास अधिकृत नारायणकुमार श्रेष्ठले बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना