सान्दर्भिकताको कसीमा थाहाको औचित्य

nirmal acharyaनिर्मलकुमार आचार्य

थाहा

सत्य ज्ञानको नाम, ठीक कामको नाम
नेपाली भाषामा थाहा ती दुवैको नाम
त्यो आ–आफैँले पाउनु पर्छ
आमाको दाइजो खर्च गरेर
बाउको अंश खर्च गरेर
थाहा हुँदैन
हो कि होइन, थाहा चाहियो ?
            – रुदाने        
रुदाने अर्थात् रूपचन्द्र विष्ट ।  नेपाली राजनीतिक इतिहासमा एक जल्दाबल्दा अविस्मरणीय व्यक्तित्व ।  पञ्चायतकालीन बेथिति, कुरीति, विसङ्गगति र असङ्गति उधिन्न सफल रूपचन्द्र प्रजातन्त्र पुनःस्थापनापछिका बिब्ल्याँटाविरुद्ध पनि उत्ति नै सक्रिय रहे ।  वि.सं.१९९० पुस २६ गते जन्मिएका रूपचन्द्रले २०५६ असार ७ गते यो संसार छाडेका हुन् ।  गत बुधबार उनको १८ औँ स्मृति दिवस मनाइएको स्मरणीय छ ।  
नेपाली राजनीतिक यात्रामा यसो त अनेक नेता नभएका होइनन्, स्मृतिका पानामा चाहिँ कमै मात्र जीवन्त रहेका छन् ।  तीमध्ये एक नाम रूपचन्द्र विष्ट भएकामा दुईमत होओइन ।  रूपचन्द्र विष्ट आफ्नो गृहस्थल दामन–पालुङ, गृहजिल्ला मकवानपुर वा राष्ट्र नेपालमा मात्रै चर्चित रहेनन्, बाँकी दुनियाका लागि पनि अनौठा व्यक्तित्वका रूपमा जिज्ञासाको विषय बनिरहे ।  आज यद्यपि सशरीर उनी यहाँ छैनन्, त्यो बेग्लै कुरो तर उनी आफ्नो घतिलो, गतिलो थाहा दर्शनमा अमर रहेका छन् ।  
थाहा अर्थात् ज्ञान, बोध, जानकारी, समझ, पत्तो, खबर, भेउ, मेसो हो ।  सुद्दी नभएको समाजमा थाहाको कति महŒव हुन्छ, भनिरहनुपरोइन ।  पर्चा, पोस्टर, नारा, भाषणका माध्यमले होस् वा साङ्गीतिक प्रस्तुतीकरणबाट होस् अथवा भित्तेलेखनबाटै किन नहोस्, जे जस्ता माध्यम अँगालेर हुन्छ, अनवरत थाहाको सन्देश फैलाउन सक्रिय रूपचन्द्र विष्ट जनताका मनमा बस्न यसै सफल भएका होइनन् ।  उनका दर्शन, सङ्घर्ष, आन्दोलन, मिहिनेत, निर्भीकता र जनतामाझ घुलमिल भइहाल्ने विलक्षण क्षमता नै अमूल्य निधि बनेका छन् ।  
राजनीतिमा मात्र होइन, हरेक क्षेत्रमा थाहाको आधारभूत सम्बन्ध छ ।  थाहा हुने सुखी र नहुने दुःखी कुनै नौलो कुरो होइन ।  शोषण, उत्पीडनबारे थाहा भएपछि मात्रै शोषक, उत्पीडकविरुद्ध स्वर उर्लनसक्छ ।  रोगको थाहा पाउनेले मात्रै उपचारको बाटो समाउने हो ।  अन्यथा बेखबरमै सबैथोक बर्बाद भइसकेको हुन्छ ।  व्यक्ति, समाज, राष्ट्र, अन्तर्राष्ट्र जहाँसुकै थाहाको महŒव रहेको छ ।  
थाहालाई औपनिषदिक दर्शनसँग पनि तुलना गर्न नसकिने होइन ।  यो थाहा छान्दोग्य उपनिषद्को ‘तŒवमसि’सँग निकट देखिन्छ ।  उपनिषद्को तŒवमसि आत्मा, परमात्मासित सम्बन्धित छ ।  तŒवमसिले आत्मा र विश्वात्मा अथवा परमात्माबीच वा ब्रह्मसँग कुनै भेद नरहेको जनाउँछ ।  सबै आत्मा एक ब्रह्म भएको ज्ञान जगाउने काम तŒवमसिले गरेको छ ।  ब्रह्मज्ञानीहरूले यसैलाई आधार बनाई तिमी को हौ, जान ! भन्ने सन्देश प्रवाह गरिरहेका हुन्छन् भने थाहा दर्शनले पनि जान्ने विषयलाई नै प्रधानता दिएको पाइन्छ ।  यसरी थाहा दर्शनको सम्बन्ध स्रोत पहिल्याउँदै जाँदा औपनिषदिक, वैदिक कालसम्म पुग्नसकिन्छ ।  
अध्यात्मबाट अलग्याई राजनीति, विकास, चेतना, जागरण आदिसँग मात्रै सरोकार राखिँदा पनि थाहा दर्शनको औचित्य र महŒव उपल्लै स्तरको देखिन्छ ।  थाहा दर्शनको सान्दर्भिकता अहिले पनि कम नरहेको निर्विवाद यथार्थ छ ।  साँच्चै भन्ने हो भने यो दर्शन न केवल अहिलेका लागि अपितु सधैँ र सबैका लागि सर्वथा उपयोगी छ ।  नटुङ्गिदो सङ्क्रमणकालको जाँतोमा एकनासले पिसिँदो नेपालमा त यसको महŒव झनै छर्लङ्ग भएको छ ।  मुलुकमा संविधानसभाबाट संविधान त बन्यो तर संविधानसभाबाट संविधान बनेपछि सबै समस्या छुमन्तर हुने सपना साकार हुन नपाएको पीडा व्यापक छ ।  संविधान अनुरूप राज्य रूपान्तरणको प्रक्रिया अघि बढेको अवश्य छ तर आशालाग्दो रूपमा निर्धारित काम सम्पन्न हुनेप्रति आशङ्का धेरै छन् ।  पुरानो राज्य प्रणाली हटाउन ऐक्यबद्ध भएका राजनीतिक शक्ति नै बेमेलको शिकार हुँदा नयाँ राज्य प्रणाली कायम हुन गाह्रो भएको छ ।  १२ बुँदे समझदारी गर्दाखेरिका मित्र दल आपसमै विभिन्डिँदा सङ्क्रमणकाल लम्बिने डर बढेको छ ।  
स्थानीय, प्रादेशिक तथा केन्द्रीय निर्वाचन समयमै सम्पन्न भएका खण्डमा निश्चय नै मुलुकले अग्रगति लिनेछ अन्यथा फेरि कहालिलाग्दो राजनीतिक परिदृश्य नियति बनेर खडा हुनेछ ।  यसो हुन दिनु ठीक नभएको थाहा हरेक राजनीतिक दललाई हुनैपर्छ ।  प्रत्येक दलका नेताले थाहा पाएकै हुनुपर्छ, सङ्क्रमणकालको समाप्ति विना मुलुकको प्रगति सम्भव छैन ।  यस अर्थमा सङ्क्रमणकालको अन्त्य नचाहने दल मुलुकको प्रगतिका खिलाफमा रहेको थाहा पाउन कसैले पनि मगज खियाइरहनु पर्दैन ।  
नेपालको राजनीतिक आकाशमा कालो बादल मँडारिएको अवश्य छ तर यसको आशय केवल नकारात्मक मात्रै छ भन्ने पनि होइन ।  पछिल्ला समयमा कालो बादलमा चाँदीका घेरा पनि देखिएका छन् ।  स्थानीय तहको पहिलो चरणको चुनाव सकिएको छ भने दोस्रो चरणको निर्वाचनका लागि ५ दिन बाँकी छ ।  पहिलो झैँ दोस्रो चरणको चुनाव पनि उत्साहपूर्ण अवस्थामा हुने लक्षण देखिँदैछ ।  प्रदेश तथा केन्द्रको निर्वाचनका लागि यसले दूरगामी प्रभाव पार्नेछ ।  निर्वाचनमा अधिकांश दल सहभागी हुनु सुखद पाटो हो ।  आफ्ना माग पूरा नभएसम्म चुनावमा भाग नलिने दाबी गरिरहेको राजपा नेपाल समेत परोक्ष तबरमा यसमा संलग्न रहेको भान हुन्छ ।  राजपाका कैयन् नेता स्वतन्त्र हैसियतमा स्थानीय तहको चुनावमा होमिनु त शुभसङ्केत हो नै साथै योभन्दा उल्लेखनीय कुरो उम्मेदवारका उम्दा भावना हुन् ।  
सधैँभरि आन्दोलनमा लाग्दा गाउँघर, समाज र देश कसैको पनि भलो नहुने अभिव्यक्ति दिँदै सामाजिक सद्भाव बढाउने खालका विचार प्रवाह हुनुलाई सामयिक आवश्यकताको उपज मान्नुपर्छ ।  मधेशी, पहाडी र हिमाली जनजीवनबीच सद्भाव, एकता र सहकार्यको आवाज घन्कनथाल्नुलाई मुलुक नयाँ प्रवृत्तितर्फ ढल्कन लागेको शकुनका रूपमा पनि लिन सकिन्छ ।  स्थानीय तहको निर्वाचन यसै पनि सामाजिक सहमति, सहकार्य र एकताको परिचायक हुन्छ ।  यसले जगाउने सन्देश प्रदेश र केन्द्रको निर्वाचनमा समेत प्रतिध्वनित हुनु जरुरी छ ।  स्थानीय तहको निर्वाचन सुसम्पन्न गराई बाँकी सबै चुनाव पूर्ण गराउनेतर्फ सरोकारी सबैको क्रियाशीलता जरुरी छ ।  यसका लागि सरकार, निर्वाचन आयोग र राजनीतिक दल मात्रै तातेर पुग्दैन, यी सबैलाई झकझकाउन सर्वसाधारण पनि सजग तथा सक्रिय हुनु वाञ्छनीय छ ।  निर्वाचन नसकिएसम्म मुलुकले गति लिन नसक्नेहुँदा तमाम नागरिक समाज पनि उत्तिकै जागरुक हुनुपर्छ ।  
    राज्य रूपान्तरणको क्रमसँगै मुलुकमा सुख, शान्ति र समृद्धिको लहर पनि चल्नुपर्ने थाहा सबैलाई छ तर थाहा भए अनुरूप पाइला चाल्ने, चलाउने र चल्न कर लगाउनेतिर ककसले केके काम गर्नुपर्ने हो ? यतातिर चाहिँ थाहा जागेको अनुभूति पाइँदैन ।  अतः मुलुकमा जनसाधारणलाई समेत परिवर्तनको अनुभूति गराउन, विकास, निर्माणको लहर फैलाउन अपूर्व जुर्मुराहट आवश्यक छ ।  यस दिशामा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले अभूतपूर्व कार्य सम्पन्न गर्नसक्छन् भने प्रदेश तथा केन्द्रका प्रतिनिधिले अद्भूत कार्यलक्षण देखाउनसक्छन् ।  यसका लागि अहिलेदेखि अल्पकालीन, मध्यकालीन एवं दीर्घकालीन सोच, समझ र योजना अपेक्षित छन् ।  
चुनावताका ठूलाठूला वाचा गर्ने र जितेपछि आफ्नो तथा कार्यकर्ताका स्वार्थ पोषणमा मात्र लाग्ने विगतको परिपाटी पूर्णतः परित्याज्य छ ।  हरेक निकाय अत्यधिक अधिकारसम्पन्न भएको बेलामा ठूलो अठोट लिई काम गर्ने हो भने आउँदा पाँच वर्षमै मुलुकको कायापलट हुनसक्छ ।  यसका लागि प्रत्येक नेता, कार्यकर्ताले इमानदार हुनुपर्ने थाहा पाउनैपर्छ ।  बेइमानले रत्ती ठाउँ नपाऊन् भन्नेतर्फ यसो त चुनावकै बेलामा नागरिकले बुद्धि पु¥याउनुपर्छ, कदाचित् भूलचुक हुनपुगेमा बेइमानविरोधी निकायले तह लगाउन चुक्नुहुँदैन ।  
भ्रष्टाचार केवल आर्थिक मात्रै नहुने प्रस्टै छ ।  यसैले नीतिगत, आर्थिक, चारित्रिक जे जस्ता भ्रष्टाचार भएता पनि समयमै त्यस्ता भ्रष्टाचारीलाई तह लगाउने बन्दोबस्त अपरिहार्य छ ।  राज्य रूपान्तरण हुने तर भ्रष्टाचार चाहिँ उही पाराको रहने हो भने मुलुक र मुलुकबासीको सुखको सपना कहिल्यै पूरा हुन सक्दैन ।  बदलिँदो परिवेश अनुसार भ्रष्टाचार नियन्त्रणका प्रयास अनिवार्य छन् ।  यसका लागि भएका निकायलाई कसरी अघि बढाउने ? अथवा ती निकायलाई समेत कुन संयन्त्रले निगरानी गर्ने वा अर्को कुनै विकल्पको खोजी गर्ने ? ठम्याउन ढिलाइ हुनुहुँदैन ।  भ्रष्टाचाररूपी क्यान्सरले सबै संयन्त्रलाई ध्वस्त बनाउनसक्ने हुँदा समयमै थाहा जगाई यसविरुद्ध अभियानकै रूपमा लागिपर्नु युगीन आवश्यकता बनेको छ ।  यस्ता अनेक पक्ष छन्, जसमा थाहा दर्शनको अनुपम महिमा लुकेको अनुभव गर्न सकिन्छ ।  थाहाको महŒवलाई आत्मसात् गरी हरेक क्षेत्रमा गहिरो थाहा लिई थाहा जगाउँदै अघि बढ्नु अथाह उन्नतिको परिचायक हुनेछ ।  




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना