सीपले आत्मनिर्भर बन्दै महिला

कैलाली, असार १० गते ।  कैलाली गोदावरी नगरपालिका मोहनपुरकी मुक्त कमैया हीरादेवी चौधरीलाई साँझ बिहानको गर्जो टार्न अहिले समस्या छैन ।  तीन वर्ष अघिसम्म साँझ खाए बिहान के खाँऊ र बिहान खाए साँझ के खाँऊ ? हुन्थ्यो, उहाँलाई ।  श्रीमान् लखन चौधरीले दिनभरि रिक्सा चलाएर कमाएको दुई÷तीन सय रुपियाँले पाँच छोराछोरीसहित सात जनाको परिवारको मुखमा माड लगाउन नै धौ–धौ थियो, उतिबेला ।  बचत हुने त कुरै भएन ।  
हीरादेवी मात्रै होइनन्, फूलबारी डिपोबजारकी लक्ष्मी चौधरीको दैनिकी पनि फेरिएको छ ।  केही वर्ष अघिसम्म घरको कमजोर आर्थिक अवस्थाले मीठोमसिनो खान लाउन पनि चाडपर्व नै पर्खिनुपर्ने उहाँको बाध्यता हटेको छ ।  सीपमूलक तालिम लिएपछि हीरादेवी र लक्ष्मीजस्ता थुप्रै मुक्त कमैया र कम्लहरीको आर्थिक अवस्थामा लोभलाग्दो परिवर्तन आएको हो ।  
सिलाइकटाइ, ब्युटीपार्लर, तरकारी खेती, बेतबाँसका सामग्री निर्माण र कपाल काट्ने लगायतका व्यवसायबाट मुक्त कमैया, कमलहरी महिला आत्मनिर्भर बन्दैगएका छन् ।  सिलाइकटाइ र ब्युटीपार्लर लगायतका व्यवसाय उहाँहरूको आर्थिक अवस्था परिवर्तन गर्न वरदान सावित भएको छ ।  विभिन्न माध्यमबाट सीपमूलक तालिम लिएर आफ्नै गाउँघरमा व्यवसाय गरिरहेका मुक्त कमैयाको घरायसी अवस्थासमेत सुध्रिएको छ ।  विगतमा साँझ बिहान घरको काम सकेर फुर्सदको समय त्यसै खेर फाल्ने उहाँहरूसँग अहिले कुरा गर्नेसमेत समय छैन ।  silai katai
गाउँघरमै खुलेका साना बचत तथा सहकारीमा दैनिक दुई सय रुपियाँका दरले बचत गर्न थालेकी छु –सिलाइकटाइ व्यवसाय गर्दै आएकी गेटाकी मुक्त कमैया हीरादेवीले भन्नुभयो– यो व्यवसायबाट मैले घर खर्च चलाउनुका साथै छोराछोरीलाई स्कुल पढाउने गरेकी छु ।  श्रीमान्ले गर्ने आम्दानी बचत हुने गरेको उहाँको भनाइ छ ।  दस वर्षको उमेरमा अर्काको घरमा काम गर्न कमलहरी बस्नुभएकी चौमालाकी २२ वर्षीया कल्पना चौधरीले आफ्नै ‘न्यू अम्बिका सिलाइ सेन्टर’ खोल्नुभएको छ ।  उहाँ आफूजस्तै सीप सिकेर आत्मनिर्भर बन्न अरुलाई पनि सल्लाह दिनुहुन्छ ।  जिल्ला लघु उद्यमी समूह सङ्घ कैलालीको सहयोगमा सिलाइ कटाइसम्बन्धी तालिम लिएको जानकारी गराउँदै उहाँले भन्नुभयो– त्यही तालिमले आज मलाई आत्मनिर्भर मात्र बनाएको छैन पाँच जनाको परिवारको सहारासमेत बनाइदिएको छ ।  जिल्ला लघु उद्यमी समूह सङ्घले कैलालीले पछिल्लो तीन वर्षमा दुई हजार ८८२ जनालाई उद्यमी बनाएको छ जसमध्ये एक सयभन्दा बढी व्यावसायिक रूपमा सफल भएका सङ्घका अध्यक्ष गणेशबहादुर विष्ट बताउनुभयो ।  मुक्त कमैया र कमलहरीले सिकेको सीप व्यवहारमा उतारेर आर्थिक अवस्था सुधार्दै गइरहेको अध्यक्ष विष्टको भनाइ छ ।  गाउँका अन्य थारू र पहाडी महिला पनि अहिले यिनीको देखासिकी गरेर तरकारी खेती, ब्युटीपार्लर र पशुपालन लगायतका व्यवसायमा व्यस्त हुन थालेका छन् ।  ग्रामीण क्षेत्रमा उत्पादन हुने तरकारी तथा पशुपक्षीजन्य वस्तुले राम्रो बजार पाउन थालेपछि धेरैजसो महिला तरकारी खेती र पशुपालनमा संलग्न हुन थालेको जिल्ला कृषि विकास कार्यालय कैलालीका युवराज पाण्डे बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना