नेपाली भाषामा ‘कालेबुङ प्रस्तावना’

 kedarकेदार वाशिष्ठ



 

व्याकरण परम्पराको खोजी
नेपाली भाषाको पहिलो व्याकरण सन् १७७१ मा नै लेखिसकिएको थियो ।  रोमका पादरी क्यास्सिआन्नो बेलिगात्तीले लेखेको ‘अल्फाबेटम ब्रह्मानिकम’ नेपाली भाषाको पहिलो व्याकरण हो ।  यो रोमबाट प्रकाशन भएको थियो ।  तिब्बतमा क्रिस्चियन धर्म प्रचार गर्न खटाइएका पादरी नेपालको बाटो भएर जाने आउने गरेको र नेपालका विभिन्न स्थानमा पनि उनीहरूको मिसन रहेका कारण क्रिस्चियन धर्म प्रचारमा सहज होस् भनेर वनारसमा सो व्याकरण तयार पारिएको थियो तर त्यसअघि नै पनि नेपाली भाषाको अध्ययन परम्परा रोममा रहेको पाइन्छ ।  
अल्फाबेटम भन्नाले वर्णमाला र ब्रह्मानिकमले संस्कृत भाषासँग साइनो रहेका भाषालाई बुझाउँछ ।  पुस्तकमा नेपाली भाषालाई चिनाउन ‘पर्वत्तियानम’ र ‘नेपाल्लेन्से’ नाम प्रयोग गरिएको छ ।  त्यस वर्णमालामा संस्कृत मूल रहेको देवनागरी लिपिमा लेखिने भाषाका वर्ण र शब्दहरू देवनागरी लिपिमा नै छापिएका पाइन्छन्, तर तिनको व्याख्या विश्लेषण भने ल्याटिन भाषामा गरिएको छ ।  वर्ण परिचयअन्तर्गत स्वर र व्यञ्जन वर्ण, व्यञ्जन वर्णको संरचना, संयुक्त व्यञ्जन, परिपूरक वितरण, उच्चारण व्यवस्था अनुसार ह्रस्व, दीर्घ, प्लुत, विसर्गलगायतका विशेषताहरूको व्याख्या गर्दै अङ्क लेखन र गणनाबारे जानकारी यसमा दिइएको छ ।  
नेपाली भाषाका धेरै अध्येता अनुसन्धाता यहाँसम्म पुग्न सकेका छैनन्, उनीहरू १८२० मा ‘ए ग्रामर अफ नेपाली ल्याङ्ग्वेज’ लेख्ने जे. ए. एटनले नै नेपाली भाषाको पहिलो व्याकरण लेखेको मान्दछन् ।  त्यो भारतीय भूमिमा रहेका नेपाली भाषीको भाषागत विशेषताका आधारमा तयार पारिएको थियो ।  यसमा दार्जिलिङ, सिक्किम, असाम, मणिपुर, मेघालय, कालेबुङजस्ता भारतको पूर्वोत्तर राज्यका नेपाली भाषीको उच्चारणको बढी मलजल रहेको छ ।  बेलायती साम्राज्य विस्तार र क्रिस्चियन धर्म प्रचारका लागि सहयोगी सामग्रीको रूपमा मूलतः यी स्थानका बहुल नेपाली भाषीको भाषागत विशेषता केलाउँदै लेखिएको भने पक्कै यो पहिलो व्याकरण हो ।  यसमा नेपाली भाषाको वर्ण, मात्रा, उच्चारण स्थान, वचन, विशेषण, पुरुष, आदर, काल, आदिको चर्चा गर्दै नेपालीमा उदाहरण र अङ्ग्रेजीमा त्यसको अनुवाद र व्याख्या पाइन्छ ।
त्यसपछि सन् १८८७ मा ए. टर्नबुलले ‘नेपाली ग्रामर एन्ड इङ्लिस–नेपाली भोकाबुलरी’ लेखे ।  यसको पनि लेखनको उद्देश्य एटनको जस्तै थियो ।  यसबिचमा बेलायती सेनामा गोर्खालीहरू रहेकाले उनीहरूका लागि पनि भाषाको व्याकरण आवश्यक रहेको थियो ।  यसको पूर्तिका लागि अन्य विभिन्न व्याकरण लेखिएका छन् ।
नेपाली भाषाको व्याकरण परम्परामा धेरै गुरुले यस्तै घोकाउने गरेका छन् ।  तर स्वयम् भारतमा रहेका नेपाली भाषीले चाहिँ त्यसलाई कसरी अध्ययन गर्दछन् भन्ने कुराको नेपालमा खासै चर्चा हुने गरेको छैन ।  गुमानसिंह चाम्लिङले सन् १९७८ मा नेपाली भाषाको व्याकरण परम्पराको अध्ययनको थालनी नेपालतिरै सोझ्याउने प्रयास गरेका छन् ।  
हरिहराचार्य दीक्षितको अध्यक्षतामा १९६७ मा स्थापित ‘गोरखा गं्रथ प्रचारक मंडली’ का नियम, वीरेन्द्र केशरी अर्यालकाको ‘बेसरी’ (सुन्दरी, १९६०) शीर्षकको लेख नेपालबाटै प्रकाशित जयपृथ्वीबहादुर सिंहको ‘प्राकृत व्याकरण’ (विसं १९८६) नेपालमा नै लेखिएको नेपाली भाषाको पहिलो व्याकरणलाई अहिले पनि उनीहरू सम्झन्छन् ।  
त्यसैक्रममा पादरी गंगाप्रसाद प्रधानको ‘गोर्खे खबरकागत्’ले दार्जेलिङको उच्चार्य भाषालाई मानक बनाउन खोज्दा सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सूधपा) नेपालमा विसं १९५८ देखि प्रकाशन हुँदै आएको ‘गोर्खापत्र’को नेपाली भाषालाई मानक बनाउने पहल गर्दथे ।  त्यसको आधार हेमराज पाण्डेको ‘चन्द्रिका गोरखाभाषा व्याकरण’ थियो ।  यो नेपालकै लेखन थियो ।  पछिल्लो समयमा आएर २०७२ मा भएको ‘काकडभिट्टा घोषणापत्र’ मार्फत् दुईतिरकै संस्थागत सहकार्य गर्ने प्रयास पनि भएका छन्
दन्तबझानको मूल्याङ्कन
नेपाली भाषाको उन्नयन, स्तरीकरण र मानकीकरणमा भारतको पूर्वोत्तर राज्यमा रहेका नेपाली मूलका नेपाली भाषीको योगदान ज्यादै ठूलो रहेको छ ।  त्यहाँ नेपाली भाषाको प्रयोग र परम्परा विशिष्ट छ ।  अहिले ती क्षेत्रमा बङ्गाली भाषा अनिवार्य गर्ने गरी भारतको पश्चिम बङ्गालको राज्य सरकारले निर्णय गरेको छ ।  यो सरकारी कार्यले उनीहरूको नेपाली भाषाप्रतिको सम्मान र लगावमा ठेस पु¥याएको छ ।  त्यसैले भारतको पूर्वोत्तर क्षेत्रका नेपालीभाषी आन्दोलित छन् ।  यहाँ त्यो आन्दोलनका बारेमा केही चर्चा गरिएको छैन बरु नेपाली भाषाको मानकीकरणका सम्बन्धमा नेपालभित्रै चलेको भाषिक दन्तबझानले उनीहरूको नेपाली भाषाप्रतिको ममता, सम्मान र लगावमा कस्तो असर पारेको छ र उनीहरू के गर्दै रहेका छन् भन्ने देखाउन खोजिएको छ ।  
यसैक्रममा नेपाली भाषाको वर्ण विन्यासमा केहीअघि नेपाली विद्वान् तथा सञ्चार माध्यममा देखिएको निर्लज्ज प्रस्तुतिसम्म उनीहरूले हेर्न भ्याएका छन् र त्यसमा असहमति जनाउँदै जारी गरेका छन् ‘कालेबुङ प्रस्तावना र त्यसका आधारहरू’ ।  प्रस्तावनाका आधारहरू दार्जिलिङ, कालेबुङ, सिलगढी, मिरिक अनि सिक्किमका अठ्ठाइस जना साहित्यिक द्रस्टा–स्रष्टा, प्राध्यापक, अध्यापक अनि भाषा–साहित्यसित सम्बन्धित व्यक्तिहरूले प्रा. डा. घनश्याम नेपालको अगुवाइमा सन् २०१६ अगस्ट १६ मा तयार पारी सन् २०१७ अप्रिलमा प्रकाशन गरेका हुन् ।  प्रस्तावना “कसैको अन्धो समर्थन र कसैको विरोधका निम्ति विरोध” गर्न ल्याइएको होइन भन्ने स्पष्ट पारिएको छ ।
प्रस्तावनामा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग कीर्तिपुरका प्राध्यापकले २०७३ मा जारी गरेको विज्ञप्ति, विभिन्न क्याम्पसमा भएका गोष्ठीमा व्यक्त विचार र तर्कका शब्दशब्द केलाउँदै तिनको जवाफ मागिएको छ ।  नेपाली भाषाको वर्ण विन्यासमा नयाँ किसिमको परिमार्जित रूपलाई लेखन परम्परा बनाउने नेपाल प्रज्ञा प्रतिष्ठानका विभिन्न समयका पूर्व निर्णयको कार्यान्वयन गर्दै तयार पारिएको २०७२ को बृहत् नेपाली शब्दकोशको विरोध स्वरूप थालिएको भाषा आन्दोलनमा नेपाली केन्द्रीय विभागले आफूलाई नेपाली भाषाको सर्वोच्च निकाय ठानेको थियो ।  त्यसै आधारमा अर्को हिज्जे नियमको प्रस्ताव गरेको थियो ।  कालेबुङ प्रस्तावना दुवैभन्दा भिन्न वा संयोजनकारी पनि बन्न खोजेको जस्तो छ ।
प्रस्तावनामा नेपाली भाषा परिवर्तन गर्न खोजिएको कि वर्णविन्यास हो भन्ने सामान्य हेक्का पनि नराखी त्यसमा नेपाली सञ्चार माध्यम अर्थात् राष्ट्रको चौथो स्तम्भ नै तटस्थ नदेखिएको पनि उल्लेख छ ।  भारतीय सञ्चार माध्यममा नेपालबारे अनर्गल प्रचार प्रसार हुँदा नेपालीको चित्त दुख्ने गरेको जगजाहेर छ ।  नेपाली भाषाका सम्बन्धमा नेपाली सञ्चार माध्यममा भएको एक पक्षीय बहस र लविङले नेपालबाहिर रहेका नेपाली भाषीको चित्त दुखाएको छ ।  
त्यसको स्पष्ट उल्लेख कालेबुङ प्रस्तावनामा देख्न पाइन्छ ।  प्रस्तावनाको पाना नं. १३ मा भनिएको छ – “सञ्चार माध्यमको सुविधाका कारण हामीले हेर्न पाएका कतिपय सन्दर्भित चर्चा–परिचर्चा कार्यक्रम –जसका सञ्चालकसमेत तटस्थ छैनन् भन्ने बुझिन्थ्यो । ) मा विना आमार पनि बोल्न सक्ने बोलक्कड विद्वान्लाई कार्यक्रम सञ्चालकले तिनीहरूका तर्कका आधारमा सोध्दै सोधेनन् । ” बरु सञ्चार माध्यमले तिनीहरूलाई उक्साउने काम गरेको र वर्णविन्यासमा सुधारको आवश्यक ठान्ने विद्वान्लाई बहिष्कार गर्न खोजेको जस्तो पाइएको निष्कर्ष निकालिएको छ ।
वर्णविन्यासको प्रस्तावना
यस्तो विश्लेषणसँगै ‘कालेबुङ प्रस्तावना’ले नेपाली वर्ण विन्यासका लागि १७ बुँदा प्रस्ताव गरेको छ ।  प्रस्तावनामा तत्सम शब्दलाई तत्समकै आधारमा लेख्ने (ईश्वर, कीटाणु, जीवन आदि), तद्भव र आगन्तुक अनि झर्रा शब्दको वर्णविन्यास नेपाली वर्णमालाअनुसार नेपाली नियममा लेख्ने (ठुलो, बुढी, महिना आदि) र तत्सम शब्दमा तत्समइतर प्रत्यय लागेर बनेका शब्द नेपाली नियमअनुसार लेख्ने (पुर्बेली, दुस्ट्याइँ, स्विकार्नु आदि) भनिएको छ ।
त्यस्तै, तत्सम शब्दबाहेक तद्भव, आगन्तुक र झर्रा शब्दका ब र व उच्चारण अनुसार लेख्न (अखबार, बारी, वारि, ग्वाम्म आदि), तद्भव, आगन्तुक र झर्रा शब्दमा नेपाली वर्णमालामा नभएका ञ, ण, श, ष, क्ष अनि ज्ञ जस्ता संयुक्त अक्षरको प्रयोग नगर्न र पातलो स, वत्स्र्य न अनि छ्यलाई वैज्ञानिक मानेर त्यसै अनुसार वर्ण विन्यास (पुस, सिकार, पोस्ट, सायद सेक्सपियर, गरुन्जेल, छ्यामा, ग्याँचे आदि) गर्न प्रस्ताव गरिएको छ ।
तत्सममा तत्सम नियमअनुसार नै पञ्चम वर्ण प्रयोग गर्ने तर तत्समइतर शब्दमा भने नेपाली वर्णमालाका नै पञ्चम वर्ण (ङ, न अनि म) को मात्र प्रयोग गर्ने (रङ्गित, चन्चले, बरन्डा, पम्फा आदि) र क्षतिपूर्ति दीर्घीभवन भनेर दीर्घ लेखिँदै आएका शब्द तद्भव वर्गमा पर्ने हुनाले त्यस्ता शब्द र शिष्ट प्रयोग भनेर दीर्घ लेखिँदै आएका शब्दको पदादिमा ह्रस्व लेख्ने (मिठो, तितो, दुध, फुल पिरो, किरो, निलो आदि) पनि प्रस्तावनाको बुँदामा परेका छन् ।
त्यसैगरी, सङ्ख्या बुझाउने शब्दको सुरु र बिचमा चलेकै नियम पालना गर्दै दीर्घ ई लेख्ने तर उ–लाई चाहिँ ऊ नलेख्ने (तीन, बीस, तीस, सत्ताईस, उनन्चालीस, उनासी आदि), स्थाननाममा इकारान्त र उकारान्त दुवै दीर्घ लेख्ने (मङ्पू, लखनऊ, लिम्बू, खम्बू, हिन्दू, हिब्रू आदि), इच्छा जनाउने क्रियाको तृतीय पुरुषमा बिचको उकार ह्रस्व लेख्ने तर आदेश जनाउने क्रियाको अन्त्यमा चाहिँ दीर्घ लेख्ने (जाउन्, खाउन्, जानू, खानू आदि) प्रस्ताव गरिएको छ ।
अङ्ग्रेजीको ‘स्पेलिङ’ नेपाली वर्ण–विन्यासका आधारमा हुनु हुँदैन भन्ने टेक लिई ‘ङ’ को मात्रै उच्चारण हुने शब्दहरूमा अनावश्यक ‘ग’ नलेख्ने र नलेख्न प्रोत्साहन गर्ने (दार्जिलिङ, कालेबुङ, खर्साङ, गुरुङ, तामाङ आदि) र मात्रापछिल्तिर प्राविधिक असुविधाका कारण अनुस्वारले काम चलाउँदै आएका ठाउँमा प्रविधिमा अब त्यो असुविधा नरहँदा चन्द्रविन्दु लेख्नु पर्ने ठाउँमा चन्द्रविन्दु नै लेख्ने
(भन्छौँ, गर्छौँ सुन्छौँ, चैँ, सधैँ आदि) प्रस्ताव गरिएको छ ।  
त्यसैगरी, वर्ण–विन्यासमा एकरूपता ल्याउन संयुक्त अक्षरका शब्दलाई लम्बीय ढाँचाको साटो सरल रैखिक ढाँचा दिई विषमतलीय संयुत्त अक्षरका शब्दको वर्ण विन्यासमा पनि यो ढाँचा मानेर (शङ्का, सङ्घ, सङ्कलन, सङ्ग्रह, छुट्ट्याउनु आदि) लेख्न तथा नामयोगी, विभक्ति, वटा, जनाजस्ता कोटिकार अनि व्यक्तिको दोस्रो नाम पदयोग गरी (घरपर्तिर, कानुनबमोजिम, इन्द्रबहादुर, लक्ष्मीप्रसाद आदि) लेख्न प्रस्ताव गरिएको छ ।  
विशेषण र विशेष्यलाई छुट्याएर लेख्न (गाडे घाउ, हिउँदे मकै, रात्रि सेवा, शुभ विवाह, शुभ कामना आदि) र पूर्ण द्वित्व छुट्याएर तर आंशिक र आपरिवर्तित द्वित्व चाहिँ छुट्याएर लेख्ने (घर घर, वन वन, साना साना, आआफ्नो, ठुल्ठुलो, ससाना, आलोपालो आदि) लेख्न प्रस्ताव गरिएको छ ।
सहायक क्रिया र दुइटा काम जनाउने क्रिया छुट्याएर लेख्ने तर संयुक्त क्रिया वा एउटै काम जनाउने क्रिया जोडेरै लेख्ने (भनेको छ, लेख्दै थियो, पढ्दै होली, गरी दियो, खाई हेर्छे, खाइ सक्यो आदि) प्रस्ताव पनि गरिएको छ ।  
कसरी ग्रहण गर्ने ?
अहिलेको विश्वमा सरोकारवाला जुन विषय वा क्षेत्रको भए पनि जुनसुकै विषयमा निरन्तर निगरानी भइरहेको हुन्छ ।  सूचना प्रविधिका विकासले त्यसलाई सहज बनाइदिएको छ ।  त्यसै क्रममा सञ्चार माध्यमको सहज पहुँचले नेपाली भाषाका बारेमा नेपालमा छताछुल्ल भएको एकपक्षीय बहसलाई नेपालबाहिरका नेपाली भाषीले आफ्नै किसिमले मूल्याङ्कन गरेका छन् ।  त्यसैको अभिन्न अङ्गका रूपमा नेपालको सञ्चार माध्यमको पनि यहाँ मूल्याङ्कन भएको छ ।  नेपाली भाषाका प्रत्यक्ष प्रस्ताव र नेपाली सञ्चार माध्यमलाई दिएका अप्रत्यक्ष प्रस्तावलाई हामीले कसरी लिने हो आफैँमा निर्भर छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना