निष्क्रिय धूमपानको जोखिम अझ बढी

Prakash budhathokiप्रकाश बुढाथोकी


हालै नौ जिल्लामा गरिएको खोजमा दैनिक ५० देखि १०० रुपियाँ सुर्तीजन्य पदार्थमा खर्च गर्ने गरेको र उक्त लत ४० देखि ५० वर्षसम्म रहने पाइएको छ ।  जसानुसार मासिक तीन हजार र वार्षिक ३६ हजार र जीवनकालमा दुई लाख खर्च गरी करोड खर्च हुने रोग किनिरहेका छन्, धूमपानका अम्मली नेपाली बासिन्दा ।
   सुर्तीजन्य पदार्थले प्रयोग गर्नेमध्ये आधिकलाई मार्छ ।  सुर्तीले बर्सेनि ७० लाखभन्दा बढी मानिसको ज्यान जाने गर्छ ।  जसमा ६० लाखभन्दा बढी प्रत्यक्ष सुर्ती सेवन गर्ने पर्छन् भने आठ लाख ९० हजार सुर्ती सेवन नगर्ने तर उक्त वातावरणमा रहनेहरू रहेका छन् ।  सुर्तीरहित वा धुवाँरहित वातावरणमा सास फेर्न विश्वमा १८ प्रतिशत जनता कानुनत सुरक्षित छन् ।  मृत्यृ अपरिपक्व उमेरमै हुने भएकाले परिवारको आम्दानी, स्वास्थ्य खर्च र आर्थिक विकासमा तब देशकै विकासमा असर पार्छ ।  त्यसैले यस वर्षभरि सुर्ती विकासका लागि एक चुनौती भन्दै मनाइँदैछ ।
  नेपालमा भूकम्पभन्दा तीन गुणा बढीको ज्यान लिइरहेको महाविपत्ति किन नरोक्ने ? माओवादीको १२ वर्षे जनयुद्धमा १४ हजारको ज्यान जाँदा धेरैले गुनासो गरे तर सुर्तीले एक वर्षमै २२ हजारको अनाहकमा ज्यान लिँदा हामी सबै कि चुप छौँ ?  
  धूमपान धुवाँ सेवनमात्र नभएर सुर्तीजन्य पदार्थको सेवन र दुव्र्यसन हो ।  धूमपान गर्ने व्यक्तिले फालेको धुवाँ हावामा उसको वरपर रहेको व्यक्तिले लिनुलाई निस्क्रिय धूमपान भनिन्छ ।  चुरोटबाट निस्कने धुवाँमध्ये २५ प्रतिशत धूमपान गर्ने व्यक्तिले लिन्छ र ७५ प्रतिशत हावामा फ्याल्ने गर्छ ।  एक खिल्ली चुरोट करिब १२ मिनेटसम्म बल्छ भने चुरोट पिउनेले एक मिनटमा दुई सर्को मात्र तान्छ र त्यसैमा पनि बाहिर हावामा फ्याक्छ ।  हावामा फालिएको धुवाँमा धूमपान गर्ने व्यक्तिले तानेको धुवाँमा भन्दा दुई गुणा निकोटिन, तीन गुणा कार्वन टार, पाँच गुणाभन्दा बढी कार्वन मोनोअक्साइड र ५० गुणाभन्दा बढी क्यान्सरजन्य रसायन हुन्छन् ।  फलस्वरूप निष्क्रिय धूमपान कर्तालाई पनि धूमपान सिर्जित प्राणघातक रोग लाग्छन् ।
 धूमपानको धुवाँमा २०० भन्दा बढी विषालु र ५० भन्दा बढी क्यान्सरका रसायन पाइन्छन् ।  चुरोट खाने व्यक्तिसँगै बस्नेलाई समेत फोक्सोको क्यान्सर, दम, श्वासप्रश्वासको अन्य सङ्क्रमण, कानको सङ्क्रमण, बहिरोपना लगायतका हजारौँ समस्या गराउँछ ।   निष्क्रिय धूमपानकै कारण नेपालमा २०० ग्रामभन्दा कम तौलका शिशुहरूको जन्म हुन्छ र योसँगै क्षयरोगीको सङ्ख्या बढिरहेको छ ।  एक सर्वेक्षणमा मुलुकको ८५ प्रतिशत घरमा न्यूनतम एक व्यक्तिले धूमपान गर्ने गरेको पाइएको छ भने त्यसमा १५ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य वस्तुको सेवन शुरु गर्ने गरेको छ ।  ७५ प्रतिशतभन्दा बढी महिला, ८५ प्रतिशतभन्दा बढी पुरुषद्वारा कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाएको छ, यो पङ्क्तिकारले दुई हजार तीन सयभन्दा बढी विभिन्न निःशुल्क स्वास्थ्य शिविर तथा अस्पतालमा दात तथा मुख परीक्षण गर्दा यो अवस्था पाएको हो ।  
  श्रीमान्ले गरेको धूमपानबाट उसको श्रीमतीलाई असर पार्छ, त्यसमा श्रीमती गर्भवती छिन् भने उक्त धुवाँले नाल वा साललाई पार गरी गर्भमा रहेको कोमल भ्रूणलाई समेत घातक असर पु¥याउँछ ।  चुरोट पिउने गर्भवतीबाट कम तौल भएको बच्चा जन्मने, जन्मेको केही दिनमै मर्न सक्ने, बच्चाको वृद्धि विकास रोकिने र कसै–कसैमा मृत बच्चा जन्मने हुन सक्छ ।  धूमपान गर्ने आमाबुबाका छोराछोरीमा पटक–पटक रुघाखोकी, ब्रोङकाइटिस, निमोनिया जस्ता छातीका रोगबाट सङ्क्रमित हुने सम्भावना बढी हुन्छ ।  बालक ख्याउटे, स्वाँ–स्वाँ गरिरहने, कान पाक्ने, कान नसुन्ने, सिकुटे हुनुको साथै सक्रिय धूमपानकर्तामा झैँ अन्य अनेकन रोग देखिन्छन् धुवाँमा बाँच्नेहरूमा ।  
  सार्वजनिक ठाउँमा धूमपान गर्नु मर्यादा बाहिर र लज्जास्पद कुरा हो, सार्वजनिक कानुनविरुद्ध तथा जघन्य अपराध पनि हो ।  सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ र नियमावलीमा भएका बुँदा सार्वजनिक स्थलमा धूमपान गर्नेलाई एक सय रुपियाँ १८ वर्र्ष मुनिका र गर्भवतीलाई बिक्री गर्नेलाई हजार, सार्वजनिक कार्यक्रम प्रायोजन गर्ने कम्पनीलाई एक लाखसम्म र बट्टामा सन्देश नलेख्नेलाई ५० हजारसम्म जरिवाना हुने आश थियो ।  ऐनमा सार्वजनिक स्थलमा धूमपान निषेध मात्रै होइन, सबै प्रकारका सञ्चारमाध्यममा प्रचारप्रसार गर्न, विज्ञापन गर्न र आकर्र्षक नारा, चित्र प्रयोग गर्न पनि रोक लगाइएको छ ।  तोकिएको पसलले मात्र चुरोट तर फुटकरमा बिक्री गर्न नपाउने व्यवस्था छ ।  अन्य व्यक्तिलाई असर पर्ने गरी घर र निजी सवारीसाधनमा समेत धूमपान गर्न नपाइने छ ।
 सार्वजनिक स्थलमा धूमपान वा सुर्ती सेवन गर्ने व्यक्तिलाई एक सय रुपियाँ जरिवाना वा सार्वजनिक स्थलबाट हटाउने वा दुवै गर्न सकिने छ भने कर्मचारी भए तुरुन्त रोक लगाउने, पटक–पटक गरे अनुशासन नरहेको मानी सचेत गराउने वा विभागीय कारबाहीसमेत गर्न सकिने उल्लेख छ ।  निष्क्रिय धूमपानबाट मृत्यृ भइरहेकामा एकचौथाइ बालबालिका छन् ।  निकोटिनले १० सेकेन्डमै मस्तिष्कमा असर गर्न शुरु गर्छ, रक्तनलीमा रगतका डल्ला बनाउँदै सर्दै मस्तिष्क र मुटुमा गएर आकस्मिक मृत्यु हुन्छ ।  यस्ता व्यक्तिको हिँड्दा हिँड्दै, काम गर्दा गर्दै र सुतेकै अवस्थामा पनि मृत्यु हुन सक्छ ।  एकल रोगभन्दा बढी मृत्युकारक रोग निम्त्याउने धूमपानले २५ किसिमका रोग र विभिन्न दुईतिहाइ जति क्यान्सर प्रत्यक्ष बनाउँछ ।  सुर्ती सेवनले असर नपार्ने शरीरको कुनै तन्तु छैन ।  धूमपानले स्वास्थ्यमा प्रतिकूल असर मात्र पार्दैन, आर्थिक, सामाजिक, पारिवारिक र वातावरणीय दृष्टिकोणले पनि ठूलो नोक्सानी पु¥याउँछ ।  धूमपान गर्न निश्चित ठाउँमै पुग्नुपर्ने व्यवस्थाले अम्मलीको लत कम गर्न मद्दत पुग्ने छ, आमजनता अम्मलीको लतको सिकार हुनुपर्ने छैन र सार्वजनिक स्थलमा धुवाँ उडाउँदै सर्वसाधारणको स्वास्थ्यको खिल्ली उडाउनेलाई पनि तह लगाउन सकिने छ भन्ने विश्वास थियो तर व्यवहारमा कागजमै सीमित बनेको छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना