राष्ट्रिय एकीकरणका अग्रदूत बहादुर शाह

Dirgh raj prasaiदीर्घराज प्रसाई



नेपालको एकीकरणका योद्धा बहादुर शाह राष्ट्र निर्माता पृथ्वीनारायण शाहका कान्छा छोरा हुन् ।  उनको जन्म १८१४ असार ६ गते नुवाकोट दरबारमा भएको थियो ।  बहादुर शाह पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरणलाई मूर्त रूप दिलाउन आफू सधैँ समर्पित थिए ।  यिनले पृथ्वीनारायण शाहको निधनपछि आफ्ना पिताको एकीकरण अभियानमा नेपाल अधिराज्यको भू–भाग करिब तेब्बर बनाउन सकेका थिए ।  पिता पृथ्वीनारायण शाहको निधनपछि दाजु सिंहप्रताप शाहसँग खटपट गरेर केही वर्षसम्म बनारसमा निर्वासित रहेकाले उनी विदेशीहरूको रणनीतिसँग समेत परिचित थिए ।  पृथ्वीनारायण शाहको स्वर्गारोहण हुँदा बहादुर शाह १८ वर्षका थिए ।  प्रतापसिंह शाह स्वर्गीय हुँदा उनी २१ वर्षका थिए ।  महारानी राजेन्द्रलक्ष्मीको देहावसान हुँदा उनी २८ वर्षका थिए ।  उनको विवाह २९ वर्षमा भएको थियो ।  नेपाललाई चीनको सम्भावित आक्रमणबाट बाँच्न बहादुर शाहले तत्कालीन गभर्नर जनरल लार्ड कार्नवालिसलाई सहयोगको अनुरोध गरेका थिए ।  तर इष्ट इण्डिया कम्पनीले नेपाललाई सहायता गर्दा भोटसँगको व्यापारमा धक्का पुग्ने देखेर अङ्ग्रेजहरूले नेपाल सरकारलाई सहायता दिन चाहेनन् ।  तर यो मौकालाई पनि चुकाउन अङ्गे्रजले नदिएर आफ्ना बनारसस्थित रेजिमेण्ट जोनाथन डंकनमार्फत नेपाल र कम्पनीका राज्यहरूबाट आयात निर्यात हुने व्यावसायिक मालसमानहरूमा सवा दुई प्रतिशतले भन्सार लिने कुरामा सहमत भएर भविष्यमा अङ्ग्रेजसँग सैनिक सहायता प्राप्त हुनसक्ने आशाले बहादुर शाहले नेपाल सरकारको तर्फबाट त्यो सन्धिमा हस्ताक्षर गरेका थिए ।  
त्योबेला इष्ट इण्डिया कम्पनीले अङ्ग्रेजी दूत कर्कपेट्रिकको प्रतिनिधि मण्डल नेपाल सरकारसँग सहमति कायम गर्न सन् १७९३ मार्चमा आएको थियो ।  तर यसको केही दिन अगाडि नै नेपाल चीनबीच सन्धि भइसकेकाले त्यसबेला अङ्ग्रेजको कूटनीति असफल हुन गएको थियो ।  तर नेपाल तथा तिब्बत र चीनसँग समझदारी बढिरहेको अवस्थामा इष्ट इण्डिया कम्पनी सन्तुष्ट थिएन ।  नेपाललाई थाहा थियो कि अङ्ग्रेजसँग समझदारी बढाउनु भविष्यको लागि राम्रो हुँदैन ।  त्योबेला चीनसँग सन्धि गर्नु दूरदर्शी कार्य थियो ।  तिब्बतलाई त्यसबेला भोट भनेर चिनिन्थ्यो ।  नेपाललाई तिब्बतको आड चीन नै हो भन्ने थाहा थियो ।  भोटका प्रथम दलाई लामाको नियुक्ति विक्रम संवत् १४७६ मा चीनबाटै भएको थियो ।  त्यसपछि अहिलेसम्म तिब्बतमा निर्वासित दलाई लामा समेत गरी १३ दलाई लामाहरू भइसकेका छन् ।  दलाई लामा भिक्षु भएकाले विवाह हुँदैन र दलाई लामाको अवतार खोजेर साना बालकलाई गद्दीमा राख्ने चलन थियो ।  त्यस समयमा तिब्बत चीनकै अधीनमा थियो ।  भोटसँग कुनै झगडा भयो भने नेपालले चीनको विरोध गरेको जस्तो हुन्थ्यो ।  त्यसैले चीनसँग समझदारी राख्नु बहादुर शाहको सफल कूटनीति थियो ।  तिब्बतमा मल्लकालदेखि चाँदीका टक चल्दै आएको थियो ।  चाँदीका टकमा तामा मिसाएर भोटमा टक पठाउने पनि गरिन्थ्यो ।  तर यसबाट भोटसँगको मित्रतामा कुठाराघात हुने देखेर पृथ्वीनारायण शाहका पालादेखि नै चोका चाँदीका टक भोटमा पठाउने गरिएको थियो ।  
भोटसँग चीनको प्रभाव राम्रो रहेकाले चीनलाई मध्यस्थ बनाउने बहादुर शाहको चाहना भए पनि भोटको बाटो चीनमा चिठ्ठी पुग्न पाएन ।  त्यसबेला दलाई लामाले सिक्किमलाई उचाली नेपालको पूर्वतर्फ आक्रमण गराए ।  तर काठमाडौंँबाट बहादुर शाहले देवदत्त थापाको नेतृत्वमा पठाएको फौजसँग सिद्धपोखरीमा ठूलो लडाइँ भयो र नेपालको जित पनि भयो ।  त्यसबेला सिक्किमले नेपालको आधिपत्य स्वीका¥यो ।  सिक्किममा आफ्नो हार भएपछि दलाई लामा टासी लामाले चीनसँग सहायता मागे ।  चीनबाट सातहजार सेना भोटको सहायताको लागि आयो ।  नेपालको राजधानी काठमाडाँैं दखल गर्ने सोचमा चिनियाँ फौज सक्रिय भयो ।  विक्रम संवत् १८४९ असारमा चिनिया फौजसँग ठूलो लडाइँ भयो ।  दुई सय चिनिया र तीनसय नेपालीले वीरगति प्राप्त गरे ।  केरुङमा चीनको दखल हुन पुग्यो ।  नेपाली फौज रसुवाको धुन्चेमा थियो ।  चिनियाँसँग भिड्न बहादुर शाहले राजधानीबाट काजी दामोदर पाण्डे र बम शाहको नेतृत्वमा सेना लिइ धुन्चे पुगे ।  चिनियासँग मुठभेड भई घमासान लडाइँ भयो ।  चिनिया फौज १५०० मरे र अरू भागेर बेत्रावती तरेर धैबुङ पुगे ।  त्यसपछि चिनिया पक्षले सन्धिको कुरा उठाए ।  त्यसबेला पाँच सय नेपली फौज हताहत भए ।  बहादुर शाहको मित्रवत् कूटनीतिको कारणले चीनसँग सन्धि भयो ।  चीनसँग सन्धि भएपछि चीनका बादशाहकहाँ नेपालबाट पाँच वर्षमा राजदूत जाने व्यवस्था भयो ।  त्यस सन्धिमा शस्त्रधारी सैनिकबाहेक नेपालका प्रत्येक नागरिकलाई भोट, चीनका राज्यमा पर्यटन गर्ने, कारखाना खोल्ने, व्यापार गर्ने अनुमति प्राप्त हुने, नेपाल– भोट कसैले पनि अर्काको जमीन दखल गर्न खोजेमा दुवै देशका सरकारी प्रतिनिधिले पेकिड दरबारलाई निर्णयको अन्तिम सूचना पठाउने ।  विदेशी शक्तिले नेपालउपर आक्रमण गरेको खण्डमा चीनले अवश्य नेपालको सहायता गर्नेछ, चीनले नेपाललाई मैत्रीपूर्ण उपहार पठाउने र प्रतिनिधि मण्डल पेकिड आउँदा जाँदा हरेक किसिमका सुविधा हुने प्रबन्ध मिलाउनेछ भन्ने सन्धिमा उल्लेख भयो ।  चीनका बादशाहले नेपालका राजा रणबहादुरलाई सम्मान गर्ने र नेपालको तर्फबाट चीनको बादशाहलाई उपहार पठाउने चलन पनि त्यसबेलादेखि चल्यो ।  
बहादुर शाहले मुलुक मात्र जितेका थिएनन् उनले मुलुकमा राम्रो बन्दोबस्त मिलाएका थिए ।  उनको हिमवत्खण्डका थुप्रै हिन्दू राज्यलाई सकभर लडाइँ नगरी आश्रित राज्य बनाउने नीतिसम्म थियो ।  यस नीतिको फलस्वरूप पाल्पा, मुस्ताङ, जाजरकोट, सल्यान, बझाङ, गढवालसम्म अनेक राज्य नेपाल अधिराज्यमा सम्मिलित गराउन सफल भए ।  यी सबै सर्त कायम राख्न सक्षम बहादुर शाहको योगदान नेपालको इतिहासमा अविस्मरणीय छन् ।  बहादुर शाहले शक्तिबल्लव, वाणीविलास जस्ता विद्वान पण्डितलाई पे्ररित गराई नेपाली भाषामा ग्रन्थ लेखाउने कार्य गरेका थिए ।  नेपालमा नयाँ नयाँ हतियार र तोपहरू बनाउन बहादुर शाहको ठूलो योगदान छ ।  उनले आफ्नो नायवी कालमा रामकृष्ण कुँवर लगायतका भारदारलाई सन्तुष्ट राखेकाले उनीप्रति भारदारहरू प्रसन्न थिए ।  नेपालको राष्ट्रिय एकीकरणको बेला विभिन्न राज्यहरूसँग भिड्नुपर्ने स्थितिमा रसदपानीको व्यवस्था मिलाउन बहादुर शाहलाई धेरै कठीन थियो ।  त्यसबेला राजा रणबहादुर शाह राज्यकोषबाट धेरै खर्च गर्ने गर्थे ।  उनलाई पैसाको कमी हुन थालेपछि राजा रणबहादुर शाह र बहादुर शाहबीचमा सम्बन्ध चिसिन थालेको थियो ।
 महारानी राजेन्द्रलक्ष्मी पनि पछिका दिनमा बहादुर शाहसँग सन्तुष्ट थिइनन् ।  वास्तवमा लडाइँमा अथाह सम्पत्ति खर्च हुन्थ्यो ।  लडाइँको खर्च तुरुन्तै हिसाब बुझाउन सम्भव थिएन ।  यस कुराले बिस्तारै राजा रणबहादुर र नायब बहादुर शाहबीचमा खटपट बढेपछि आखिरमा रणबहादुर शाहबाटै उनी नजरबन्द गराइए ।  बहादुर शाहको नीति विशाल नेपालमा सरिक भएको र चीनप्रति नजिक हुन लागेकामा अङ्ग्रेजहरू सन्तुष्ट थिएनन् ।  इष्ट इण्डिया कम्पनी भारतबाट नेपाल ताथ तिब्बतसँग व्यापार बढाउन उत्सुक थियो ।  बहादुर शाहको वीरता देखेर अवधका नबाबले पनि नेपालसँग मित्रताकै व्यवहार गर्ने नीति लिएका थिए ।  चीनसँग सम्बन्ध कायम भएपछि अङ्ग्रेज पनि नेपालसँग दच्किन लागेको थियो ।  त्यसबेला अङ्ग्रेज मौका हेरेर पर्खिबसेकोमा बहादुर शाहको विरुद्ध नेपालका कुरौटे, भरौटे भाइ भारदारहरूलाई अनेक तिग्डम गर्न पछि परेनन् ।  अनेक षडयन्त्रबाट नेपालका सपुत बहादुर शाह विक्रम संवत् १८५४ असार १४ गते ४० वर्षकै उमेरमा देशको लागि अरू सशक्त बन्नुपर्ने बेलामा अङ्ग्रेजको षड्यन्त्रबाट दरबारियाहरूलाई उचालेर विष्णुमती किनारको जेलमा निधन भएका थिए भनिन्छ ।  तर बहादुर शाह प्रतिष्ठानको आलेखमा बहादुर शाहलाई नुवाकोटमा नै पु¥याएर अत्यन्त दुःख दिएर हत्या गरिएको थियो भन्ने पनि छ ।  
 नेपालको एकीकरणका हस्ती बहादुर शाह जस्ता महान् सपुतलाई पनि नेपालका विभूतिको दर्जामा राखिएन ।  बहादुर शाहको जन्म नुवाकोटमा भएको र उनको मरण पनि नुवाकोटमा नै भए पनि उनको नाममा रसुवा नुवाकोटमा केही भएको छैन ।  नेपाल बुद्धको जन्मथलो भएकाले विश्वभरमा देवभूमि नेपालको ठूलो प्रतिष्ठा छ ।  हामी नेपालीले आफ्नो देशको इतिहास, आफ्नो पहिचान र अस्तित्वको लागि सचेत भइरह्यौं र राष्ट्र निर्माता पृथ्वीनारायण शाह, बहादुर शाह लगायतका सपुतले देखाएको बाटो र उहाँहरूको योगदानको कदर गरिरह्यौं भने नेपालको अस्तित्व युग युगान्तरसम्म बचाउन सकिन्छ ।  विश्वमा नेपाल र नेपालीको पहिचान र गौरव कायम राख्न बहादुर शाह नेपालको इतिहासमा अजर अमर छन् ।        

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना