निर्वाचनप्रतिको आम दायित्त्व

shiva p bhattraiशिवप्रसाद भट्टराई    




आउँदो १४ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय निर्वाचनका प्रति सम्बद्ध क्षेत्रका मताधिकार प्राप्त व्यक्तिमा अहिले तीव्र उत्साह सञ्चार भएको स्थिति देखापरेको छ ।  कतिपयले हुन लागेको निर्वाचनको माहोल बिगार्ने र यस क्रममा उम्मेदवारी दाखिला नै गर्न नदिने अभिव्यक्ति दिए पनि र यस किसिमका क्रियाकलाप सञ्चालन गर्न अग्रसर भए पनि त्यसलाई आफ्नो अधिकारमाथिको अस्तक्षेपको रूपमा लिई निस्तेज पार्ने कार्यमा स्वयं सम्बद्ध क्षेत्रका जनता नै अघि सरेको पाइएको छ ।  सबैले सबै पक्षका बीच सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण किसिमले मत दिन पाउनुपर्ने लोकतान्त्रिक हक, कर्तव्य र अधिकारप्रति यस किसिमले जनचेतना अभिवृद्धि हुनुलाई निश्चय पनि उत्साहप्रद मान्नुपर्छ ।
नेपालका पैँतीस वटा जिल्लामा हुन लागेको दोस्रो चरणको स्थानीय निर्वाचन अत्यन्त शान्तिपूर्ण र निर्विघ्न रूपमा सुसम्पन्न हुनेमा अब कुनै शङ्का गर्नुपर्ने अवस्था देखिँदैन ।  लोकतान्त्रिक व्यवस्थामा विधिसम्मत रूपमा गर्न थालिएको निर्वाचन बिथोल्न हिँडेका लोकतन्त्रका पक्षधर हुन सक्तैनन् भन्ने यथार्थ आज सबैले बुझेका छन् ।  छलफल र वार्ताका माध्यमबाट यस विषयमा उत्पन्न कुनै पनि विवाद समाप्त गरी अघि बढ्ने क्रममा एकै चरणमा सुसम्पन्न हुने निर्वाचनको मिति पटकपटक सारिँदा पनि र यसै क्रममा यो निर्वाचन तीन चरणमा गरिन लाग्दा पनि चित्त नबुझाउने, विरोधका लागि विरोध मात्र गर्ने क्रममा केवल आन्दोलनको धम्की दिइरहने र एकपछि अर्को गर्दै बोली र व्यवहार फेरिरहने छेपारे प्रवृत्तिलाई सही किसिमको राजनीतिक अभ्यास र गतिविधिका रूपमा कसैले पनि ग्रहण गर्न सक्तैन ।  नेपालको तराई क्षेत्रमा सदैव अराजकता र अशान्ति फैलाउने एवं त्यहाँका जनताको दैनन्दिन जीवन–यापन थप कष्टकर तुल्याउँदै यसका माध्यमबाट आफ्नो कुत्सित स्वार्थ पूर्ति गर्ने मनशायले सञ्चालित भएका एवं पहिलेको निर्वाचनमा जनताबाट पूर्ण रूपमा पराजित समेत हुन पुगेका दल विशेषका कथित नेताको क्रियाकलापको प्रयोजन के हो र यसो किन गरिँदैछ ! भन्ने कुरा आफ्नालाई ‘धर्ती पुत्र’ र ‘नेपाली’ ठान्ने आजका चेतनशील, जागरुक, राष्ट्रवादी, देशप्रेमी र देशका सच्चा नागरिकले बुझ्न नसक्ने विषय पनि बन्न सक्तैन–बनेको छैन पनि ।  
मनोनयन नै दाखिला गर्न नदिने अनि निर्वाचन पनि बिथोल्ने उद्घोष गरिएको १, ५ र ७ का ३३४ वटा स्थानीय तहको निर्वाचनमा असार ४ गतेका दिन अत्यन्त उत्साहजनक किसिमले शान्तिपूर्ण रूपमा इच्छुक उम्मेदवारले विधिपूर्वक आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।  यस क्रममा निर्वाचन बिथोल्ने उद्घोष गरेका दलका नेता तथा कार्यकर्ताले पनि निर्वाचन बिथोल्ने कर्म छाडेर उम्मेदवारी दिएको यथार्थ मनन गर्दा पनि स्थानीय तहको सम्पूर्ण निर्वाचन शान्तिपूर्ण रूपमा सुसम्पन्न हुने विश्वसनीय वातावरण सिर्जना हुन पुगेको तथ्य अस्वीकार गर्न सकिने अवस्था देखिँदैन ।
मुलुकको राजनीतिक स्थिति अत्यन्त ठूलो सङ्क्रमणबाट गुज्रिरहेको अवस्थामा प्राप्त उपलब्धिलाई विधिसम्मत रूपमा जोगाएर लोकतन्त्रको संरक्षण गर्नु अहिलेको सर्वोपरी आवश्यकताको विषय पनि हो ।  यस क्रममा हाम्रो देशको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा आँच आउने किसिमका गतिविधि जानेर वा नजानेर कतै–कोहीबाट पनि सञ्चालित हुनु हुँदैन ।  देशमा जारी भएको संविधानको भावनाअनुसार लोकतान्त्रिक संरचनाको स्थापना अहिले सबैको चाहना बन्नुपर्छ ।  कतै केही कुरा मिलेको छैन भने आउँदा दिनमा जनताले चुनेर पठाएका जनप्रतिनिधिले त्यस विषयमा गम्भीर चासो राखी सही गुनासो सुन्नुपर्छ ।  आवश्यक परे संविधान, ऐन, नियम र नियमावलीमा संशोधन गर्न अग्रसर पनि हुनुपर्छ ।  अहिले संविधान संशोधन अनि मात्र निर्वाचन हुनुपर्छ अन्यथा हामी निर्वाचन रोक्छौँ, हुन दिँदैनौँ भन्ने भावनाले अझै पनि काम गर्ने वा हुने हो भने त्यसले मुलुकको वर्तमान सङ्क्रमणकालीन राजनीतिक अवस्था झन्झन् जटिल र जर्जर बन्न पुग्ने ठूलो सम्भावना रहन्छ ।  यसो भएमा प्राप्त उपलब्धिसमेत क्षणभरमा नै गुम्न सक्ने सम्भावनाका प्रति पनि सबै पक्ष विशेष सजग र सचेत रहनै पर्छ ।
    निश्चय पनि लोकतन्त्रमा असन्तुष्टिको प्रदर्शन उद्दण्ड व्यवहार, हिंसात्मक प्रदर्शन र बल प्रयोगबाट गरिँदैन ।  यो त वार्ता र सहमतिबाट समाधान गरिनुपर्छ ।  यस क्रममा राजनीतिक दलबीच आरोप प्रत्यारोपभन्दा पनि सहिष्णु र संयमित किसिमको रचनात्मक भूमिकाले विशेष महŒव राख्नपुग्छ ।  अहिले निर्वाचनको समयमा पनि सबैले आ–आफ्ना निर्वाचनसम्बन्धी गतिविधि शान्तिपूर्ण किसिमले सञ्चालन गर्नु आवश्यक देखिन्छ ।  यसो हुन सकेमा नै मताधिकार प्राप्त जनताको अभिमत सही किसिमले प्रयोग हुनसक्ने वातावरण निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नसक्ने तथ्य निर्विवाद छ ।  यस किसिमको संस्कृतिले क्षेत्र नं. २ का आठ जिल्लामा आउँदो असोज २ गते हुने भनिएको तेस्रो चरणको स्थानीय निर्वाचन सुसम्पन्न गर्ने– गराउने काममा पनि सहयोग पुग्नसक्छ ।
लोकतान्त्रिक व्यवस्थामा निर्वाचन नै बिथोल्ने प्रयास स्वयंमा लोकतन्त्रमाथिको प्रहार बन्नसक्छ ।  यस किसिमको गतिविधिमा निरन्तर संलग्न रहने कुनै पनि राजनीतिक दल विशेषप्रतिको जनआस्था पनि दिन प्रतिदिन धराशयी बन्दै जान्छ ।  राजपाले वर्तमान समय सन्दर्भमा भोगिरहेको नियतिमा पनि यो स्पष्ट रूपमा परिभाषित हुँदै गएको देखिएको छ ।  यस क्रममा अब कसैले कसैलाई ‘बिखण्डनको बीउ रोपे’ भनेर आरोप–प्रत्यारोपमा नै अझै पनि रम्ने–रमाउने र यसैलाई आफ्नो राजनीतिक सफलता र उपलब्धि ठान्ने आत्मरतिमा निर्लिप्त नै भइरहने हो भने त्यस्ता नेताका क्रियाकलापमा देश, राष्ट्रियता र जनताप्रतिको निष्ठा एवं लोकतन्त्रप्रतिको संयमित भूमिका किमार्थ परिभाषित हुन सक्तैन ।  बुझेर पनि बुझ पचाउँदै एकले–अर्कालाई यस किसिमको आरोप र लाञ्छना मात्र लगाउने प्रवृत्ति राजनीतिको सही बाटो पनि होइन ।  यस किसिमले तल्लो स्तरमा ओर्लिएर विरोधका लागि मात्र विरोध गर्ने संस्कारजन्य प्रवृत्तिका कारण लाञ्छना मात्र लगाउने गतिविधिलाई अत्यन्त क्षुद्र र घटिया व्यवहार मान्न सकिन्छ ।  यस्तो व्यवहारमा सही किसिमको राजनीतिक आचरण र सुसंस्कृत किसिमको राष्ट्रियता पनि परिभाषित हुन सक्तैन ।  यस किसिमको अराजनीतिक आचरण प्रदर्शनका माध्यमबाट आजका केही राजनीतिक दल स्वयंमा आत्मघाती खेल त खेलिरहेका छैनन् ।  भन्ने यथार्थका प्रति आजका सबै राजनीतिक दल र तिनका कार्यकर्ताले समय छँदै आत्मनिरीक्षण गर्न सकेमा त्यो देश, जनता र लोकतान्त्रिक राजनीतिक व्यवस्थाका लागि श्रेयस्कर हुनसक्ने देखिन्छ ।
निर्वाचन हुँदैछ ।  जनताले आफ्नो मत दिन बाँकी नै छ ।  दोस्रो तहको स्थानीय निर्वाचनका क्रममा मङ्गलबार मात्र निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरी प्रचार प्रसारको अवधि असार ११ गतेसम्म गर्न पाइने र यसै दिनको राति १२ बजेपछि मौन अवधि शुरु हुने जनाइसकेको छ ।  यो अवस्थामा यसअघि नै अधिकांश ठूला राजनीतिक दलले प्रतिशत नै तोकेर स्थानीय तहको चुनावमा आफ्नो दल सबैभन्दा ठूलो हुने दाबी गरिरहेका छन् ।  यो जनमत र साना राजनीतिक दलप्रतिको प्रहार र उपहास पनि हो ।  यसमा पनि दलको लोकतान्त्रिक आचरण प्रदर्शित हुन सकेको छैन ।  यस किसिमका गतिविधिले शान्तिपूर्ण रूपमा निर्वाचन सुसम्पन्न गर्ने–गराउने माहोल सिर्जना गर्ने कार्यमा अवरोध उत्पन्न गर्न पुग्ने प्रशस्त सम्भावना रहन्छ ।  यस तथ्यका प्रति पनि अहिलेका सबै राजनीतिक दलले राम्रो हेक्का राख्न सक्नुपर्ने देखिन्छ ।  
स्वच्छ प्रतिस्पर्धाको भावनाले जनमत आफूतिर आकर्षित गर्ने रचनात्मक प्रयासले नै निर्वाचनलाई शान्तिपूर्ण र निर्विघ्न रूपमा सुसम्पन्न गराउने वातावरण सिर्जना गर्न पुग्छ ।  यस किसिमको वातावरण सिर्जना गर्नका लागि सर्वप्रथम राजनीतिक दलकै संयमित र समन्वयकारी भूमिकाले अहं महìव राख्ने निर्विवाद छ ।  यस क्रममा सत्तापक्ष अझ बढी लचकताका साथ अघि बढ्नु आवश्यक हुन्छ ।  यसो हुन सकेमा नै कुनै पनि मतदाताले भयरहित भएर निर्धक्कताका साथ आफूले चाहेको उम्मेदवारलाई शान्तिपूर्ण किसिमले मत प्रदान गर्न पुग्ने आशा सँगाल्न सकिन्छ ।  
पहिलो चरणको निर्वाचनमा ११ प्रतिशतभन्दा पनि बढी मत बदर भएको यथार्थलाई मनन गरी जिम्मेवार पक्षबाट मतदाता शिक्षा अभियानलाई अझ प्रभावकारी बनाई मत बदर हुने सङ्ख्यामा सक्दो न्यूनीकरण ल्याउने प्रयास परिचालित गर्नु पनि आवश्यक छ ।  यसका साथै मतपत्रको आकार ठूलो भएको कारणले पनि विगत निर्वाचनका तुलनामा मतदातालाई मत प्रदान गर्ने क्रममा बढी समय लाइनमा बस्नुपर्ने बाध्यता आइपरेको यथार्थ पनि पहिलो चरणको स्थानीय निर्वाचनले देखाएको यसतर्फ निश्चय पनि निर्वाचन आयोगको ध्यान आकृष्ट भएको हुनुपर्छ ।  मतदान गर्ने बाकस, मतदाताको लाइन–व्यवस्था, स्वस्तिक चिह्न, अन्य आवश्यक सामग्री र जनशक्ति बढाउनेतर्फ पनि यथोचित ध्यान दिइएमा त्यसले पनि शान्तिपूर्ण रूपमा निर्वाचन प्रक्रिया अघि बढाउन सहयोगी भूमिका निर्वाह गर्नसक्ने भएकोले यसतर्फको प्रयास पनि जनअपेक्षित विषय बन्न पुगेको पाइन्छ ।  
सुरक्षा निकायले बोलीमा मात्र होइन, व्यवहारमा पनि सुरक्षाको समुचित र विश्वसनीय प्रबन्ध मिलाई छिटफुट घटनासमेत हुन नदिने एवं गर्न नदिनेतर्फ यथोचित ध्यान पु¥याउन सक्नुपर्छ ।  सबै पक्षबाट उपर्युक्त किसिमको भूमिका निर्वाहका प्रति इमानदार प्रयास सञ्चालित भएमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई त्यसले आउँदा दिनमा नेपालको राजनीतिलाई स्थिरतातर्फ उन्मुख गराउन सक्नेमा आशावादी हुन सकिन्छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना