स्थानीय चुनावको सकारात्मक पक्ष

Hari prashad bhattrai हरिप्रसाद भट्टराई

 

 

नयाँ संविधान प्रभावकारी कार्यान्वयनका सन्दर्भमा यतिखेर मुलुक स्थानीय तहको निर्वाचनमा जुटेको छ ।  अबको तीन दिनमा दोस्रो चरणको निर्वाचन प्रदेश नं. १, ५ र ७ मा सम्पन्न हुँदैछ ।  प्रदेश नं. २ मा भने असोज २ मा चुनाव हुनेगरी तयारी छ ।  प्रदेश नं. ३, ४ र ६ मा चुनाव सम्पन्न भइसकेका छन् ।  यस चुनावले मुलुकमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।  यो देशका लागि दीर्घकालसम्म प्रभाव पार्ने विषय बनेको छ ।  दलबीच भएको चुनावी तालमेलले पनि राम्रो सन्देश दिएको छ ।  यसलाई सकारात्मक पाटो समेत हो ।
राजनीतिक रूपले कोही उत्तर र कोही दक्षिण फर्केका र यदाकदा स–साना विषयमा पनि विरोधीकै भूमिकामा रमाउने, खेल्ने गरेका हाम्रा पार्टीका नेता एवम् दलबीचको यस किसिमको गणतन्त्र बहालीपछिको चुनावी तालमेलले जनतामा पनि केही आशा, भरोसा जगाएको छ ।  त्यसो त चुनाव हुनु आफैँमा एक ठूलो उपलब्धि हो ।  जे–जति विरोध र विरोधाभासपूर्ण कुरा यसअघिका दिनमा दलका नेतामा भए पनि अन्ततः दलहरू स्थानीय तहको निर्वाचन गराउन सहमत भएकै हुन् र त्यसमा मिलन बिन्दु नेताहरूले पक्रेका नै हुन् ।  यद्यपि, मधेशी जनता पार्टीले उठाएको माग सम्बोधन हुन अझै बाँकी नै छ र त्यस विषयमा मिलन बिन्दु पक्रेर तेस्रो चरणको चुनाव अगाावै संविधान संशोधन गर्ने कार्य फत्ते गर्न बाँकी छ ।  यस सन्दर्भमा के आशा गर्न सकिन्छ भने चुनावी तालमेलको यस किसिमको पछिल्लो आपसी समझदारी एवमर मिलन बिन्दुको राजनीतिक संस्कारले अन्ततः नेकपा एमाले पनि संविधान संशोधनमा राजी भएर त्यो काम फत्ते हुने छ र विना अवरोध एवम रोकतोक बाँकी २ नं. प्रदेशको चुनाव पनि तोकिएको समयमै सम्पन्न भइछाड्ने छ ।  
यद्यपि, चुनावी तालमेल पार्टीगत रूपमा आ–आफ्नो उम्मेदवारले जित्ने गरी आपसी लाभ र हानिको आधारमा गरिन्छ तर पनि पार्टी नीति एवम् विचार, दर्शनका हिसाबले फरक–फरक ध्रुवमा विभाजित भएका नेता तथा दलहरूले अहिले जे जसरी चुनावी तालमेलबाट अघि बढिरहेका छन्, त्यो हेर्दा लाग्छ अब दल तथा दलका नेताहरू विगतमा जस्तो विरोधका निम्ति विरोधमा उत्रिने छैनन् ।  यस किसिमको वातावरण यो चुनावी तालमेलले सिर्जना गरेको छ भन्दा अब फरक परोइन ।  यसले राष्ट्रिय जनता पार्टीलाई मात्र नभएर नेपाल कम्युनिस्ट पार्टी, विप्लप समूहलाई पनि चुनावी माहोलमा समाहित गर्न सघाउ पु¥याउन सक्छ भन्ने आँकलन गर्न सकिन्छ ।  यो प्रयास जारी रहनु नै बुद्धिमत्ता भएको ठहर्छ ।
चुनावका सन्दर्भमा भए पनि पछिल्लो समयमा भएका दलबीचको समझदारी एवम् केही मेलमिलापको छनकसमेत यस किसिमको चुनावी तालमेलले अवश्य दिन्छ ।  राष्ट्रिय मेलमिलापको नीति बोलेर र नारामा मात्र सीमित गरेर होइन, व्यवहारमै लागू गर्न, गराउनुपर्छ भन्ने सन्देशसमेत यो पछिल्लो कार्यले पुष्टि गर्छ ।  अब यसबाट के स्पष्ट हुन्छ भने यस किसिमको राजनीतिक संस्कारले बेलाबेलामा मुलुकसामु आइपर्ने अप्ठ्यारो परिस्थिति सल्ट्याउन समेत यस किसिमको राजनीतिक संस्कारले टेवा पु¥याउने छ ।  
हुन त यसअघि पनि दल तथा नेताले प्रजातन्त्र, गणतन्त्र ल्याउन एवम् नयाँ संविधान जारी गर्न त्यस प्रकारको सहकार्य, समझदारी र एकतासँगैको मिलन बिन्दु नपक्रेका होइनन् तर समयमा नै त्यो एकता, मिलन हुन नसक्दा मुलुक र मुलुकवासीले ठूलो मूल्य चुकाउनुसँगै बढी समय खेर फाल्नुपरेको कुराबाट पनि कोही पनि अनविज्ञ छैनन् ।  त्यसैले ऐन मौकामा राज्यसामु देखापर्न सक्ने विविधखाले विवादित विषयमा मिलन बिन्दु पक्रिन र दलबीच आत्मीयताको डोरीलाई अझ कसिलो बनाउन समेत चुनावी तालमेल जस्तो यस किसिमको पछिल्लो राजनीतिक संस्कारले अहम् भूमिका खेल्ने निश्चित छ ।  यसबाट अब के कुराको सन्देश प्रवाह भएको छ भने दलहरू संसदीय प्रणालीमा सधैँ झगडा मात्रै गर्ने ठाउँ रहने र यस खालको संसदीय पद्धतिले सत्ता परिवर्तनमा प्रायसः अस्थिरता पैदा गरी मुलुकको विकासमा अवरोध पैदा गर्छ भन्ने जुन सोच थियो, त्यसमा पनि अब बिस्तारै परिवर्तन आउने स्पष्ट हुन्छ ।
 विश्वमा संसदीय प्रजातन्त्र सर्वोत्तम र सर्वमान्य मानिएको, ठानिएको कारण पनि यही हो ।  संसदीय व्यवस्थामा जे जति र जस्तो किसिमले विरोध गर्ने शैलीगत राजनीतिक संस्कार हुन्छ र जतिसुकै प्रतिस्पर्धा रहन्छ, स्वच्छतामा आधारित हुन्छ ।  यो कुरालाई अनदेखा नगर्ने हो भने स्वस्थ्य र स्वच्छताको राजनीतिमा सहकार्य, समझदारी र एकतासँगैको मिलन बिन्दु टाढा हुँदैन र राजनीतिमा सधैँभरि कुनै पनि पार्टीको दुस्मनिता, विरोधी पनि हुँदैन, हुनुहुँदैन ।  चुनावी तालमेल यसैको उपज होभन्दा तथा मान्दा फरक पर्दैन ।
चुनावी तालमेल पहिला पनि हुँदै आएको कुरा हो, जुन नौलो कुरा पनि होइन ।  फरक कुरा र सन्दर्भ के हो भने भिन्न–भिन्न विपरीत धारमा रहेका दलबीच पनि यसरी चुनावी तालमेल हुनुलाई सतही रूपमा हेर्दा केहीले नरुचाएका मात्र हुन् ।  अथवा अस्वाभाविक मानेका हुन् ।  अहिलेको चुनावी तालमेललाई विशेषगरी नेकपा माओवादी र नेपाली काँगे्रसबीच भएको कुरालाई निकै जोडतोडका साथ उछालिएको पाइन्छ ।  यसरी उछाल्नुका पछाडि त्यहाँ पनि कुण्ठित स्वार्थ लुकेको पाइन्छ ।  त्यस तालमेलबाट जसलाई आफ्नो स्वार्थमा केही धक्का पुग्छ, उसले त्यसरी भएको तालमेललाई अतिरञ्जित बनाएको कुरा पनि घामझैँ छर्लङ्ग छ तर के कुरा बुझ्नु जरुरी छ भने नेपाली काँग्रेसले माओवादीसँग तालमेल गर्नु एक त चुनाव जित्ने सामान्य लाभ हानिको कुरा होला, जुन स्वतः स्पष्ट पनि हुन्छ ।  अर्कोतर्फ योभन्दा पनि ठूलो र अर्थपूर्ण कुरा शान्ति प्रक्रियामा आएको दललाई एक्ल्याउनु राम्रो होइन ।  
तत्कालीन आन्दोलनको रणनीति र आएको क्रान्तिको स्वरूपमा हिंसात्मक बाटो रोज्नु उसको गल्ति वा क्रान्तिको स्वरूपगत मनोविज्ञान थियो होला ।  अन्ततः त्यो बाटो ठीक थिएन भनेर स्वीकार गरिसकेको परिप्रेक्ष्यमा र शान्ति प्रक्रियामा आएको दललाई त्यही बहानमा सधैँभरि उपेक्षा गर्नु पनि ठीक हुँदैन ।  किनकि क्रान्तिको प्रक्रिया र बाटा जे जस्तो भए पनि उ पनि मुलुक परिवर्तका लागि लडेको पार्टी र उसँगको सहकार्यमा सङ्घीय गणतन्त्र स्थापनासँगै भएको मुलुक परिवर्तनको कुरालाई भुल्नु न्यायोचित हुँदैन ।  
चुनावी तालमेलको सन्दर्भमा मान्छे काट्ने, मार्ने पार्टीको उम्मेदवारलाई काँग्रेसले तालमेल गरी सघाएको भन्ने प्रतिपक्षको मात्र आरोप नभएर कतिपय काँगे्रसभित्रकै कार्यकर्ताको पनि मन दुःखाइ छ ।  यस सन्दर्भमा काँगे्रस नेतृत्वप्रति आरोप पनि छ ।  सामान्य रूपमा यो तर्कलाई स्वाभाविक मान्न खोजिए पनि राजनीतिक रूपमा त्यो परिपक्व सोच होइन ।  माओवादी अर्थात् उ द्वारा मारिएका तथा माओवादीद्वारा प्रत्यक्ष रूपमा पीडित हुने आफन्तजन गुमाएका जो कोहीलाई त्यस्तो लाग्नु र उसैलाई भोट दिन दलीय हिसाबले बाध्य हुनु, पारिनु र त्यसमा पीडितका दृष्टिले एक किसिमले विरोधको स्वर उब्जिनु स्वाभाविक पनि हो तर बुझ्नुपर्ने कुरा के हो भने राजनीतिक रूपले संसदीय पद्धतिमा संस्थागत हुन र राज्य आतङ्कित हुने गरी जनयुद्धमा होमिएको दललाई राज्यको मूल प्रवाहमा ल्याउनु राज्यको कर्तव्य हो ।  यो कार्य नेपाली काँग्रेसको नेतृत्वमा यसअघि नै सम्पन्न भइसकेको छ ।  अब पनि चुनावी तालमेल होस् वा अन्य सन्दर्भमा समेत सोहीअनुसार उसलाई सघाउनु मुलुकको ठूलो, जिम्मेवार र पूरानो दल भएका कारणले समेत काँग्रेसको मुख्य कर्तव्य बन्थ्यो ।  जुन अहिले भइरहेको छ ।  यो नेपाली काँग्रेसको आन्तरिक रणनीतिसमेत भएको कुरा बुझ्न त्यति कठिन छैन ।  त्यसैले चुनावी तालमेल रणनीतिक कदमसँगै दलीय मिलन बिन्दुसमेत भएको कुरा काँग्रेसजनमा मात्र नभएर सम्बद्ध सबैलाई बुझाउनु काँगे्रस पार्टीको थप भूमिका प्रष्टिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना