होटलमा सात अर्ब लगानी

लक्ष्मण पौडेल

भैरहवा, असार १३ गते ।  बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटनसम्बद्ध लगानी एवं होटल व्यवसायमा दिनहुँ लगानी बढिरहेको छ ।  लगानी बढेसँगै यहाँ सामान्य पर्यटकीय स्तरका देखि पाँचतारे होटलसम्म निर्माण भइरहेका छन् ।  अहिले लुम्बिनी क्षेत्रमा सामान्य पर्यटकीय सुविधादेखि तीन तारे होटलसम्म सञ्चालनमा रहेका छन् ।  त्यस्तै युवा पर्यटन व्यवसायी पवन हलवाईले लुम्बिनी क्षेत्रमै लुम्बिनी प्यालेस इन्टरनेसनल नामको पाँचतारे होटल निर्माण गरिरहनुभएको छ ।  यसै वर्षदेखि सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको हलवाईको  यो होटल यस क्षेत्रकै पहिलो पाँचतारे होटल हो ।
अन्तर्राष्ट्रिय स्तरमै महìव बोकेको लुम्बिनीमा पर्यटक बढ्दै जाँदा र सम्भावनासमेत बढिरहेकाले लुम्बिनीको होटल क्षेत्रमा लगानी क्रम बढ्दै गएको लुम्बिनीका पर्यटन व्यवसायी तथा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका सदस्य गोविन्द ज्ञवालीले बताउनुभयो ।  अहिले ठूला लगानीकर्ताको आँखा लुम्बिनीमा तानिएको र होटल व्यवसायका लागि आकर्षित भइरहेको पाएका छौं, होटल बन्ने क्रम जारी छ, पुराना होटलले स्तरोन्नति गर्ने र पर्यटकस्तरका बनाउने क्रम पनि भइरहेको छ, ज्ञवालीले भन्नुभयो । hotel bhairahawa
लुम्बिनी क्षेत्रमा अहिले तारे स्तरका चारवटा ठूला होटल छन् ।  ती मध्ये होक्के होटल, लुम्बिनी कासाई (तीन तारे), पार्क भिलेज रिसोर्ट (पुरानो बुद्धमाया) र क्रिस्टल रहेका छन् ।  त्यस्तै गरी बाँसै बाँसले निर्मित ब्याम्बु रिसोर्ट, पिस ल्यान्ड होटल, जाम्बाला होटल लगायत पर्यटकीय सुविधाका मझौला होटल १४ वटा र साना होटल २८ गरी ४६ वटा होटल सञ्चालनमा रहेका छन् ।
भैरहवा लुम्बिनी सडकखण्डमा पनि तीनवटा ठूला होटल निर्माण हुने भएका छन् ।  भैरहवा बुद्धचोकमा, विमानस्थल नजिकै र गुरबनियामा ठूला होटल निर्माण हुने भएका हुन् ।  त्यस्तै गरी भैरहवा नजिकै चिल्हियामा सिल्भर हेरिटेज समूहको टाईगर प्यालेस पाँचतारे होटल निर्माण भइरहेको छ भने भैरहवा, बेलहिया, बुटवल क्षेत्रमा पनि नयाँ नयाँ होटल निर्माण हुने क्रम जारी रहेको सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयो ।
भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु भएपछि रूपन्देहीमा होटलमा लगानी ह्वात्तै बढेको हो ।  दुई वर्षयता बनेका र बन्दै गरेका होटलमा रु. सात अर्ब  लगानी भएको छ ।  विमानस्थल सञ्चालन हुने बित्तिकै लुम्बिनीमा बौद्धमार्गी पर्यटकको आगमन बढ्ने भएकाले व्यवसायीले होटलमा लगानी बढाएका हुन् ।  लुम्बिनीमा दुई वर्षयता आधा दर्जन मध्यम खालका सुविधासम्पन्न होटल सञ्चालनमा आएका छन् ।  ती होटलमा ५० करोड रुपियाँ लगानी भएको सिद्धार्थ होटल एसोसिएसन सानका उपाध्यक्ष मिथुन श्रेष्ठले जानकारी दिनुभयो ।  भैरहवामा पनि दुई वर्षयता मध्यम खालका एक दर्जन होटल खुलेका छन् ।  ह्वाइट लोटस, सिटी सेन्टर, जोशी होटल, सीपी म्याक्स इन्टरनेसनल, डिजिपार्क लगायत होटलमा कम्तीमा ५० करोड रुपियाँ लगानी भएको छ ।
लुम्बिनी र भैरहवा क्षेत्रमा होटल खोल्न काठमाडौँ र पोखराका व्यवसायीले धमाधम जग्गा किनिरहेका छन् ।  उनीहरूले विमानस्थल सञ्चालन भएपछि पर्यटक आगमनको अवस्था हेरेर होटल निर्माणको काम सुरु गर्ने योजना बनाएको सिद्धार्थ होटल एसोसिएसनका पदाधिकारीको
भनाइ छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना