मुहान सुकेपछि किसान समस्यामा

धनगढी, असार १३ गते ।  रोपाइँको बेला धमाधम पानीको मुहान सुक्न थालेपछि कैलालीका किसान समस्यामा परेका छन् ।  पर्याप्त सिँचाइ सुविधा नहुँदा खेतीका लागि विकल्प बनेको बोरिङमा समेत पानी आउन छोडेपछि किसान समस्यामा परेका हुन् ।  भूमिगत पानीको सहायतामा खेती गरिरहेका किसानले पानीको ठूलो समस्या भोग्नुपरेको बताएका छन् ।  उनीहरूका अनुसार जिल्लाको सबै क्षेत्रमा खेतीपातीकै बेला यस्तो समस्या देखिएको छ ।  बोरिङमार्फत भूमिगत पानी तानेर खेतसम्म पु¥याउने गरिएको छ ।  
गाउँमा एक सयभन्दा बढी बोरिङ रहेकोमा अहिले प्रायः सबै सुकेको कैलारी गाउँपालिका–७ भुइयाँफाँटाका फूलराज चौधरीले बताउनुभयो ।  उहाँले धमाधम बोरिङ सुक्न थालेपछि खेती गर्न निकै समस्या भएको उल्लेख गर्नुभयो ।  उहाँले भन्नुभयो, एक सयभन्दा बढी बोरिङ रहेको गाउँमा अहिले चार बोरिङबाट मात्रै पानी आइरहेको छ ।
विगतमा कम मात्रामा देखिएको यस्तो समस्या यो वर्ष धेरै विकराल बनेको किसानको भनाइ छ ।  बोरिङबाट कम पानी आउने समस्या अघिल्ला वर्षमा पनि देखिएको हो, चौधरीले भन्नुभयो, तर यो वर्ष त धमाधम पानीको मुहान नै सुक्यो ।  बोरिङबाट पानी आउँदैन । pani
कुनै ठाउँमा बोरिङबाट पानी आउन पूर्ण रूपमा बन्द भएको र कुनै ठाउँमा केही समय पानी आएर फेरि सुक्ने समस्या देखिएको किसानले बताएका छन् ।  बोरिङबाट एकछिन पानी आएर एक डेढ घण्टामा कम हुँदै सुकिने गरेको टेंढी गाउँका किसान बाधुराम दहितले बताउनुभयो ।  उहाँले भन्नुभयो, दुई÷तीन घण्टा बिराएर पानी तान्नका लागि इञ्जिन चलाएमा केही समय पानी आउने गर्दछ ।  फेरि सुक्ने गर्दछ ।
गाउँमा रहेको १०÷१२ बोरिङमध्ये दुईवटाबाट मात्रै नियमित पानी आइरहेको दहितले बताउनुभयो ।  उहाँले पानीको मुहान सुक्न थालेपछि बोरिङको भरमा खेतीपाती गर्दै आएका आफूहरू धेरै समस्यामा परेको बताउनुभयोे ।  
बोरिङमा भूतप्रेत लागेको भन्दै कतिपय किसानले धामीझाँक्री (गुरुवा)समेत देखाएको बिसनपुर गाउँका रामु चौधरीले बताउनुभयो ।  उहाँले भन्नुभयो, भूतप्रेत लागेर यस्तो हुनसक्ने भन्दै रतनपुरका किसानले गुरुवा देखाएका छन् ।  हाम्रो गाउँतिर पनि बोरिङको पानी पहिलेको भन्दा निकै कम आउन थालेको छ ।
खास गरेर भारत नजिकको सीमावर्ती ग्रामीण क्षेत्रमा यस्तो समस्या देखिएको भनिए पनि चुरे नजिक पर्ने राजमार्ग क्षेत्रमा पनि पानीको मुहान सुक्न थालेको छ ।  गौरीगङ्गा नगरपालिका स्थित बढैपुरका कृषक सगतराम चौधरीले पानीको मुहान सुक्ने समस्याबाट आफ्नो क्षेत्रका किसान पनि पीडित रहेको बताउनुभयो ।  उहाँले अण्डैया र उदासीपुर क्षेत्रमा भूमिगत जलस्रोत सुक्ने समस्या बढी देखिएको सुनाउनुभयो ।  
मसुरिया क्षेत्रमा कम छ, तर अण्डैया र उदासीपुरतिर पानीको मुहान सुक्ने समस्या बढी देखिएको छ, उहाँले भन्नुभयो ।  धमाधम रोपाइँ हुने बेलामा पानीको मुहान सुकेर किसानलाई धेरै समस्या भएको चौधरीको भनाइ छ ।  उहाँले गौरीगङ्गा नगरपालिकाका सबै  किसानले बोरिङको पानीकै भरमा खेती गर्ने गरेको बताउनुभयो ।  
यसवर्ष अझैसम्म राम्ररी वर्षा भएको छैन ।  मनसुनी वर्षा नभएका कारण खोलानालामा पानी भरिएको छैन ।  आकाशे पानी नपरेकाले किसान बोरिङकै भरमा रोपाइँ गरिरहेका छन् ।  
विस्तृत अध्ययन नभए पनि भारत नजिकका सीमावर्ती नेपाली भू–भागमा प्रायः पानीको मुहान सुक्ने समस्या देखिएको वातावरण विज्ञ एकराज सिग्देलले बताउनुभयो ।  उहाँले भारतमा अत्यधिक भूमिगत पानीको प्रयोग हुनु र नेपालको चुरेमा पानीको ‘रिचार्ज’ क्षमता ह्रास हुँदै जानुले यस्तो समस्या देखिएको उल्लेख गर्नुभयो ।  
उहाँले भन्नुभयो, चुरे विनाशले रिचार्ज क्यापासिटी ह्रास भइरहेको छ ।  पानीको मुहान सुक्नुमा जलवायु परिवर्तनको असरसमेत रहेको वातावरण विज्ञ सिग्देलले बताउनुभयो ।  उहाँले भूमिमा पानी जम्मा हुन नसकिरहेको बताउनुभयो ।  यो कैलालीको मात्रै हैन ।  समग्र तराईको समस्या हो, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रममा कार्यरत उहाँले भन्नुभयो, किनभने पानी रिचार्ज हुन पाइरहेको छैन ।  भूमिमा जम्मा हुन पाएको छैन ।  उद्योगधन्दाका लागि भूमिगत पानीको बढी प्रयोग हुनु र हाम्रो घरआँगन कङ्क्रिटमा परिणत हुँदै जानुले पानीको मुहान सुक्ने समस्या निम्त्याएको सिग्देलले बताउनुभयो ।  पानीको मुहान जोगाउनका लागि वन वातावरण जोगाउन आवश्यक रहेको उहाँको भनाइ छ ।  
कैलालीमा वन र चुरे अतिक्रमण बढ्दै गएको छ ।  वनमा बञ्चरो र चुरेमा डोजर लाग्दै आएकाले भूमिगत पानीको सञ्चय सन्तुलनमा समस्या आएको बताइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना