आर्थिक समृद्धिको आधार धान

 Binod nepalविनोद नेपाल

धान बालीको महŒव दर्शाउन र यसको उत्पादनमा प्रोत्साहन गर्न संयुक्त राष्ट्र सङ्घले सन् २००४ लाई ‘अन्तर्राष्ट्रिय धान वर्ष’ को रूपमा मनाएको थियो । सोसँगै २९ मङ्सिर २०६१ को मन्त्रीस्तरीय निर्णयअनुसार नेपालमा असार १५ लाई ‘राष्ट्रिय धान दिवस’ को रूपमा मनाउन थालिएको हो । त्यसयता हरेक वर्ष एउटा सान्दर्भिक नारासहित विशेष उत्सवका रूपमा यो दिवस मनाइँदै आएको छ । यस दिवसको यस वर्षको नारा ‘दुई बाली धानको विस्तार, आर्थिक समृद्धिको आधार’ रहेको छ ।  
विश्वमा विभिन्न किसिमका बालीको उत्पादन हुन्छ । तीमध्ये धान हाम्रो र विश्वकै प्रमुख खाद्यान्न बाली हो । कहिलेदेखि उत्पादन हुन थाल्यो भन्ने एकीन नभए पनि यो पुरानो बालीमध्येको एक हो । एसिया महादेश धानबालीको प्रमुख उत्पादन क्षेत्र हो । विश्वकै सर्वाधिक जनसङ्ख्या भएका तथा क्षेत्रफलका दृष्टिले समेत विशाल हाम्रा छिमेकी मुलुक भारत र चीन यसका प्रमुख उत्पादक हुन् । यसरी धानको उत्पादन र खपत पनि एसियामै बढी हुन्छ । चामल विश्वको ६५ प्रतिशतभन्दा बढी मानिसको मुख्य खाद्यान्न हो ।
धान धेरै पानी चाहिने बाली हो । जलस्रोतको धनी भएकाले नेपाल धान खेतीका लागि उपयुक्त थलो मानिन्छ । विविधतायुक्त जलवायुमा विभिन्न जातका धान खेती हुन सक्ने भएकाले हावापानीको दृष्टिले पनि नेपाल धान खेतीका लागि उपयुक्त मानिन्छ तर कृषि योग्य भूमीको एक चौथाइमा पनि सिँचाइको भरपर्दो व्यवस्था नभएकोले हामीकहांँ मनसुनको आगमन तथा प्रभावलाई हेरेर पहाडमा जेठको अन्त्यदेखि असारको अन्त्यसम्म र तराईमा असारसाउन महिनामा धानबाली लगाइन्छ ।
धानले नेपालको कुल खाद्यान्न उत्पादनको आधाभन्दा बढी हिस्सा ओगट्छ । यसैले यो मुलुकको प्रमुख खाद्यान्न बाली हो । यसपछिका बालीमा मकै र गहुँ पर्छन् । नेपालमा धानका विभिन्न जाति पाइन्छन् र वर्षाको मात्रा र पानीको उपलब्धताको आधारमा विभिन्न स्थानमा लगाउन सकिने धानका प्रजाति पनि हामीस“ग छन् । हाम्रा रैथाने जातमात्र झण्डै ३ हजार रहेको अनुमान गरिन्छ तर तिनको यथोचित खोजबिन र आवश्यक संरक्षण हुन नसकेको कारण अधिकांश लोप भइसकेका छन् ।
उत्पादनका दृष्टिले तराई–मधेश नै प्रमुख भए पनि यहाँका उच्च पहाडीदेखि तराईसम्मका भूमिमा धानको खेती हुन्छ । नेपालमा समुद्री सतहबाट ६० देखि ३ हजार मिटरसम्मको उचाइमा धानखेती राम्रो हुन्छ । सम्बन्धित अधिकारीहरूका अनुसार उच्च हिमाली भेगका मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा धान खेती हुन्छ । यीमध्ये होचो स्थान झापामा पर्छ भने धानखेती हुने सबैभन्दा अग्लो स्थान जुम्लामा पर्छ तर उत्पादनका दृष्टिले ६० देखि ५ सय मिटर सम्मको उचाइमा अत्यधिक उत्पादन हुन्छ । झापा सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला हो । गत वर्षदेखि यस जिल्लालाई ‘धान सुपरजोन’को रूपमा घोषणा गरिएको छ । झापा पछि धेरै धान उत्पादन हुने जिल्लामा मोरङ, सुनसरी, बारा, पर्सा, चितवन, दाङ, बाँके, बर्दिया, कैलालीलगायत तराईका जिल्ला पर्छन् ।
आर्थिक वर्ष २०७२÷७३ मा १३ लाख ६२ हजार हेक्टर जमिनमा धानखेती गरिएको थियो । यसबाट ४२ लाख ९९हजार मेट्रिक टन उत्पादन भएको थियो । सो उत्पादन अघिल्लो आ.व.२०७१÷७२को भन्दा १०.२ प्रतिशतले कम हो । उक्त आर्थिक वर्षमा १४लाख २५ हजार हेक्टर जमिनमा धान खेती गरिएको र त्यसबाट ४७ लाख ८८ हजार मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक वर्ष ०७३÷७४ मा भने धान उत्पादनमा नेपालले कीर्तिमान कायम गरेको थियो । यस वर्ष १५ लाख ५२ हजार हेक्टर जमिनमा धान खेती गरिएकोमा ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । हाम्रो आवश्यकता भने वार्षिक ६० लाख टन हो । स्मरणीय छ, हाम्रो धानखेती हुने कुल भूभागमध्ये १ लाख ५० हजार हेक्टर डुबान र ६ लाख हेक्टर सुख्खा क्षेत्र रहेको छ ।
विज्ञकाअनुसार हामीकहा“ धानको पर्याप्त सम्भावना हु“दाहु“दै पनि अहिले क्षमताको आधामात्र उत्पादन भइरहेको छ । समयमा सुलभ एवं सहज रूपमा गुणस्तरीय मल, बीउ उपलब्ध नहु“दा कृषक राम्रो उत्पादन लिन असमर्थ भएका र उब्जनीसमेत कम हुने गरेको हो । प्रतिहेक्टर चार टन धान उत्पादन भएमा हाम्रो माग पूरा गर्न सहज हुने विज्ञको भनाइ छ ।
पछिल्ला दिनमा जलवायु परिवर्तनले सिर्जना गरेका परिस्थितिका कारण धान उत्पादन प्रभावित भइरहेको विज्ञको धारणा छ । विश्वव्यापी तापक्रम वृद्धि, हरितगृह प्रभाव, समयमा वर्षा नहुनु आदि कारणले धानको उत्पादनमा ह्रास आइरहेको बताइन्छ । जमिनको बढ्दो खण्डीकरण हुने क्रम बढेको छ । अपर्याप्त सिँचाइ र अनियमित वर्षा आदिका कारण धान उत्पादन प्रभावित भइरहेको पक्ष त छ“दैछ, शहरीकरणको क्रममा धान खेती योग्य उर्वर भूमिको विनाश हुँदा पनि हाम्रो धान उत्पादन प्रभावित भएको छ । यसैगरी गुणस्तरहीन रासायनिक मलको प्रयोगले जमिनको उर्वरा शक्तिमा ह्रास आएको र उपयुक्त बीउबिजनको अभावमा पनि उत्पादकत्व प्रभावित भइरहेको छ । अवैज्ञानिक र अव्यवस्थित रूपमा भएको बस्तीको विकास तथा खेतीयोग्य जमिनमा बढ्दो बसोवास नियन्त्रण गर्न नसकिए धानको उत्पादन अझ प्रभावित हुनेछ । यसरी एकातिर खेती हुने जमिन घट्नु र अर्कोतिर युवा जनशक्तिको विदेश पलायनका कारण खेतीयोग्य जमिन बाँझो रहँदा अन्य बालीजस्तै धानको उत्पादन पनि प्रभावित भएको र वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो नै रहेकोले यस्तो सम्भावना अझ बढ्दो छ ।
पर्यटकीय नगरी पोखरालगायत मुलुकका विभिन्न स्थानमा विदेशी पर्यटक समेतलाई रोपाइँमा सामेल गराई उल्लासका साथ असार पन्ध्र मनाउने गरिएको छ । विभिन्न दलका नेता किसानका सङ्घ, सङ्गठनको नाममा रोपाइ“मा सामेल हुने गरेका छन् । यस दिनलाई ‘राष्ट्रिय धान दिवस’ को रूपमा मनाइनुले नेपाली कृषकलाई उत्साहित पनि बनाएको छ तर किसानका समस्या भने जहा“का त्यही“ नै छन् । यसैले यो दिवस औपचारिकता मात्र  हुने गरेको उनीहरूको गुनासो छ । यसलाई सार्थक बनाउन नेपाली किसानका वास्तविक समस्याको पहिचान गरी तिनको सम्बोधन गर्ने तथा तिनका आवश्यकता परिपूर्तिमा विशेष ध्यान दिनु जरुरी छ ।
यस्तै खेतीयोग्य उर्बर भूमिमा पूर्वाधारहरूको निर्माण, शहर वस्तीको विकास, उद्योग व्यवसायको विस्तार हु“दै जा“दा कृषि बालीको उत्पादनमा क्रमशः ह्रास आएको र यसले खाद्यान्नको आयात गर्नुपर्ने अवस्था उत्पन्न भएको सन्दर्भमा सो वास्तविकतालाई आत्मसात गरी सोहीअनुसार उपयुक्त नीति र कार्यक्रम बनाई अर्थतन्त्रको समृद्धिका लागि खाद्यान्नको उत्पादन वृद्धि गर्नेतर्फ प्रयत्न गर्नु जरुरी छ । यस सन्दर्भमा पूर्वाधारको निर्माण गर्दा उर्बर भूमि नमास्ने, उन्नत जातका धानलगायतका बालीको खेती गर्ने, सिँचाइ सुविधा, मलबीउको उपलब्धता र प्राविधिक सहयोग उपलब्ध गराउनेजस्ता पक्षमा पनि यथेष्ट ध्यान दिनु आवश्यक छ । यसो गर्न सकिए उब्जनी बढ्ने तथा नेपाली किसानको जीवनस्तरमा सुधार ल्याउ‘दै राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण गर्दै समृद्धि हासिल गर्ने प्रयाससमेत सफल हुन सक्छ । यसो भएमा यस्ता दिवस मनाउनुको सार्थकता र औचित्य पुष्टि हुन सक्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना