पश्चिम सेती काम सुरु गर्ने सङ्केत देखिएन

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, असार १६ गते ।  बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना बनाउने सम्झौता गरेको चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पाेरेसनले घुमाउरो पारामा आयोजनामा तत्काल लगानी नगर्ने सङ्केत गरेको छ ।  निर्माणको चरणमा हुनुपर्ने थ्री गर्जेजले पछिल्लो पटक आयोजनाको निर्माण मोडालिटी नै परिवर्तन गर्न सकिने वा नसकिने जिज्ञासासहित हालै पत्र पठाएको छ ।  
यसबाहेक वषार्मा सात रुपियाँ १० पैसा र हिउँदको १२ रुपियाँ ४० पैसाको  प्रतियुनिट विद्युत् खरिद दरमा पनि प्रश्न उठाउँदै एकल विद्युत् दर कायम गर्न सकिने कि नसकिने भन्ने जिज्ञासा राखेको छ ।
सन् २०१२ मा ऊर्जा मन्त्रालयसँग सम्झौता गरेको थ्री गर्जेज सन् २०१४ मा कार्य प्रारम्भ गरी सन् २०१९ मा निर्माण सम्पन्न गर्ने राजी भएको भएको थियो तर हालसम्म पनि उसले न त लगानीको कुनै प्रस्ताव अघि ल्याउन सकेको छ न त निर्माण सुरु गर्नु अघि पूरा गर्नुपर्ने अन्य प्राविधिक तथा संरचनागत कार्य गर्नेतर्फ अग्रसरता देखाएको  छ ।  यतिसम्म कि नेपाल विद्युत् प्राधिकरणसँग संयुक्त जेभी कम्पनी खडा गर्ने कुरालाई समेत हालसम्म थ्री गर्जेजले आफ्नो सञ्चालक समितिबाट अनुमोदन गराएको छैन तर नेपाल विद्युत् प्राधिकरणले भने यसअघि नै सो प्रस्ताव अनुमोदन गरिसकेको छ ।  कानुनतः थ्री गर्जेज र प्राधिकरणले अनुमोदन नगरेसम्म सो कुरा प्रभावकारी भएको मानिँदैन ।  paschim seti
ऊर्जा मन्त्रालय, लगानी बोर्ड, नेपाल विद्युत् प्राधिकरणसँग गरेका औपचारिक तथा अनौपचारिक छलफल तथा बैठकमा लगानी गर्ने बताउँदै आए पनि सो कम्पनीले पछिल्लो समयमा कामभन्दा विभिन्न किसिमका जिज्ञासा तथा पत्राचारमा मात्र समय बिताउन थालेको छ ।  १६ वर्षसम्म लाइसेन्स लिएर ओगटेर समय खेर फालेको  अस्ट्रेलियन कम्पनी स्मेकले जस्तै  पश्चिम सेतीमा चिनियाँ कम्पनीले पनि निर्माण गर्र्छु भन्दा भन्दै करिब पाँच वर्ष पार भइसकेको छ ।  
नेपाली पक्षसँग सम्झौतापत्रमा हस्ताक्षर गर्दा ७५० मेगावाटको जलाशययुक्त आयोजना निर्माण गर्ने र त्यसका लागि लगानीमा नेपाल सरकारका तर्फबाट विद्युत् प्राधिकरणले २५ प्रतिशत लगानी गर्ने संयुक्त साझेदारीमा निर्माण गर्ने सहमति भएको थियो तर अहिले आएर थ्री गर्जेजले त्यसलाई बहुउद्देश्यीय बनाउन सकिनेसहितको प्रस्ताव गर्दै लगानी बोर्डमार्फत विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ ।  थ्री गर्जेजको पछिल्लो पटकको पत्राचारलाई जलस्रोत विज्ञहरूले स्मेक जस्तै थ्री गर्जेजले पनि आयोजना ओगट्नेतिर अग्रसर भएको  हो कि भन्ने आशङ्का व्यक्त गरेका छन् ।  
बहुउद्देश्यीय बनाउँदा विद्युत्बाहेकका अन्य सरोकारका विषय सिँचाइ, पर्यटन तथा अन्य कुराको बारेमा कुन निकायले जिम्मेवारी लिने र त्यसका बिषयमा कुन निकायले थ्री गर्जेजसँग ‘डिल’ गर्ने भन्ने थप अन्योल हुनसक्ने भन्दै विज्ञहरूले थ्री गर्जेजले लगानी गर्न आनकानी गरिरहेको हुनसक्ने तर्क प्रस्तुत गरेका छन् ।  
जलस्रोतविद् एवं पूर्वजलस्रोत सचिव डा. गोविन्ददेव भट्टको भनाइमा सुरुमा समझदारीपत्रमा हस्ताक्षर गर्दा ७५० मेगावाट उत्पादन गर्ने मोडालिटीमा सहमत हुने थ्री गर्जेजले दिन प्रतिदिन अनेकौँ प्रस्ताव ल्याएर समय खेर फाल्ने काम मात्र गरिरहेको छ ।  
उहाँले भन्नुभयो, “१६ वर्ष स्मेकले ओगटेर बस्यो, पाँच वर्ष यसले पनि ओगटी सक्यो ।  काम हुने छाँटकाँट देखिँदैन भने सरकारले थ्री गर्जेजको कामको पुनरावलोकन गरी तत्काल ‘एक्सन’ मा जान सक्नुपर्छ र बनाउन सक्दैन भन्ने लागेको छ भने सरकारले विकल्प पनि सोच्न सक्नुपर्छ ।  ठूल्ठूला आयोजना विदेशीका हातमा सुम्पने काम मात्र गर्नु हँुदैन ।
सन् २००५ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पश्चिम सेतीबाट प्रतिवर्ष १५ अर्ब रुपियाँ राजस्व गुमिरहेको तर्क प्रस्तुत गर्दै डा. भट्टले भन्नुभयो, पश्चिम सेती बन्न नसक्दा आजका मितिसम्म राज्यले झण्डै ६५÷७० अर्ब रुपियाँ गुमाइसक्यो ।  अझै ढिला गर्ने हो भने राज्यले कति घाटा बेहोर्नुपर्ला ? त्यसैले यसमा सरोकारवाला बढी चनाखो हुनु जरुरी छ ।
थ्री गर्जेजले बहुउद्देश्यीय बनाउन सकिनेतर्फ प्रस्ताव लगानी बोर्डमार्फत पठाएको पुस्टि गर्दै विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भन्नुभयो, “केही नयाँ प्रस्ताव थ्री गर्जेजबाट आउने क्रम जारी रहेको छ ।  पछिल्लो चरणमा बहुउद्देश्यीय बनाउन सकिन्छ कि भन्ने आशयको जिज्ञासा र विद्युत् खरिद दरका बारेमा केही कुरा पत्रमा लेखिएका छन् ।  जसका बारेमा हामी लगानी बोर्डसँग छलफल गरेर पत्राचार गर्ने तयारी गरिरहेका छौँ । ”
विद्युत् नियमन आयोग बनी नसकेको र सोसम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेको अवस्थामा  विद्युत् खरिदकर्ता प्राधिकरणलाई नै खरिद दरको बारेमा थ्री गर्जेजले जिज्ञासा राखेको छ ।  प्रवक्ता अधिकारीका भनाइमा आयोजना निर्माणका अरू नीतिगत, प्राविधिक तथा संरचनागत तयारी पूरा नगरी अहिले नै खरिद दरका बारेमा थ्री गर्जेजले कुरा उठाउनु ‘निकै छिटो मागिएको ग्यारेन्टी’ मात्र हो ।  
यसअघि थ्री गर्जेज र प्राधिकरणबीच संयुक्त जेभी कम्पनी खडा गर्ने कुरालाई प्राधिकरणको सञ्चालक समितिले अनुमोदन गरिसकेको भए पनि थ्री गर्जेजको सञ्चालक समितिले हालसम्म अनुमोदन गर्न सकेको छैन ।  जसका कारणले सो संयुक्त कम्पनी खडा गर्ने कार्य पनि कार्यान्वयनमा आउन सकेको छैन ।  लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले यस विषयमा धेरै नबोल्नु नै उचित भएको प्रतिक्रिया दिनुभयो ।  उहाँले भन्नुभयो, धेरै कुरा मिलाउन बाँकी छन् ।  ती सबै कुरा हामी मिलाउँदै छौँ ।  यसभन्दा बढी नबोल्नु नै अहिले उचित हुन्छ ।
५०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाको परियोजना विस्तृत प्रतिवेदन निर्माण, लगानी खोज्ने, सम्झौता गर्ने अधिकारी लगानी बोर्डलाई दिइएको छ ।  यो आयोजना पनि लगानी बोर्डमार्फत अगाडि बढिरहेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना