राष्ट्रोन्नतिको मियो– जलाधार

ramesh bhattaraiरमेश भट्टराई ‘सहृदयी’

विश्व सौन्दर्य छातिमा राखेर प्राकृतिक सौगातलाई अनवरत पस्किरहेकी छिन्न् नेपाल आमा । हिमाली सौन्दर्य, पहाडको हरियाली स्वच्छता अनि तराई र उपत्यकाका फाँटसँग सजिएको सुन्दर भूमिमा तालको रोमाञ्चकता, छाँगा–छहराका मनोरम चाञ्चल्य छताछुल्ल पोखिएको छ । बाह्रैमास सेताम्मे बनेका हिमाली वक्षस्थलबाट पहाडका कुना कन्दरालाई हरियालीले सजाउँदै तराईका फाँटमा धान, गहुँका बाला लहलहाउने जलसम्पदा नेपाल आमाको राष्ट्रिय दौलत हो । हिमाली खोल्सी र पहाडका कैयौँ ठाडा नदीहरूका फोहोराले डाइनामो घुमाउँदै बिजुली बत्ती बाल्ने नेपाली जनताका चाहनासँग आधुनिक कृषिप्रणालीको सपना साकार तुल्याउने सिंचाइको सम्भाव्यता रहेछ । प्रकृतिले वरदानस्वरुप सुम्पेको सौन्दर्यले अतिथिका मनोभावनामा मोहनी लगाइरहेकै छ । राष्ट्रको समुन्नतिमा दर्बिलो आड दिने सम्भावनालाई जलसम्पदाले युवाशक्तिको जागरणद्वारा गरिबी र बेरोजगारीको घाउमा मलम लगाउन चाहेको छ ।
२०७४÷०७५ को ‘आगामी वर्षमा आधारभूत रूपमा लोडसेटिङ अन्त्य गर्ने, आर्थिक समृद्धिका लागि जलविद्युत’ को नीतिसँग एकाकार हुनसक्ने सक्षमता जनप्रतिनिधिको काँधमा हुनुपर्छ । साथमा, ‘दुई वर्षभित्र पूर्णरूपमा लोडसेटिङको अन्त्य गर्ने, तीन वर्षभित्र वर्षायाममा आत्मनिर्भर हुने र दश वर्षभित्र निर्यात गर्ने स्पष्ट मार्गचित्रका साथ जलविद्युत् उत्पादन, प्रसारण र वितरणका आयोजनाहरू कार्यान्वयन गरिनेछ’ भन्ने भावचित्रले झक्झक्याउनै पर्ला । त्यसो त प्राथमिकताका क्षेत्रमा परेको जलविद्युत उत्पादन, प्रसारण लाइन विस्तार र वितरणको पक्षले जलविद्युत विकासको ढोल पिट्न चाहेकै अनुभूत हुन्छ । ऊर्जा सङ्कटको कोलाहल मेट्न, विद्युत नियमन आयोगको सक्रियतासँगै चुहावट रोक्नेलाई आदर गर्ने तथा विद्युत विकास दशकलाई आधार बनाउने अठोटमा आम सचेत नागरिकले जुट्नै पर्छ । जनता र सरकारको संयुक्त लगानीमा ‘घरघरमा बिजुली जन जनमा सेयर’ कार्यक्रममा स्थानीय सरोकारदेखि राष्ट्रिय सरोकारको सक्रियताले नेपाल झिलीमीली बनोस् । सरकारका यी योजनाका साथै स्वच्छ ऊर्जा विकासको अपेक्षामा सहकार्य गर्नु अबका नेपालीको आवश्यकता हो । विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका नियम बनून् या राष्ट्रिय जलविद्युत उत्पादन कम्पनी र राष्ट्रिय विद्युत व्यापार कम्पनी स्थापना गरियून्, सहकार्यबाटै सबैको पहुँच बृद्धिमा टेवा पु¥याउने सम्भाव्यता जाग्ला । सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमसँगै विद्युत खपत हुने चिम खरिद, निर्माणका कार्य होऊन्, दिगो विकासको सोचमा जलाधार उँचो स्थानमा छ । यसर्थ विकासका हरेक बाटा र पाटालाई सबल बनाउन छुटिएका बजेटलाई सदुपयोग गर्दै आम सरोकारमा आफ्नो जिम्मेवारी र पारदर्शिताको भाव जागृत हुनुपर्छ ।
विश्वको तस्विरभित्र ब्राजिलपछि जलनिधिको अपार लीलासँग सजिएका सपनामा राष्ट्रको सर्वाङ्गीण उन्नति चित्र सहजै सजिन्छ । विद्युत र सिँचाइलाई एकसाथ गाँसेर हिँड्न ‘सेतो सुन’ का प्रतीक ६ हजार नदीहरुले तमाम नेपाली सामथ्र्यलाई कायरताको दर्जामा सूचीकृत गरिरहेका छन् । कर्णाली, गण्डकी र कोशीको जलप्रवाहले नेपाली रक्त नसा अनि धमनी र शिराहरूमा समृद्ध नेपाल निर्माणको स्वर्णिम स्वप्नरेखा कोरेको हुँदो हो । लगभग दुई लाख दुई हजार मिलियन क्युविक लिटर जलभण्डारले स्वदेशी सक्रियतामा प्रश्न गर्दै छ । सैद्धान्तिक तबरमा ८३,००० मेगावट जल विद्युत उत्पादन गर्नसक्ने क्षमतामध्ये ४२,००० मेगावटको सम्भाव्य रेखामा भविष्ययोजना कति गर्भमै तुहिरहेका पीडा छन् । समयले कोल्टो फेर्न र फेराउन हिमालका स्वेतरस रसाएर अविरल बगेका सप्तकोशी, सप्तगण्डकी र कर्णालीका फोहोरा नेपाली निरीह मनभित्रका दाग मेट्न आतुर छन् । चाहे महाभारत पहाड रसाएर महाकाली, बबई, कन्काई र मेची रसाऊन् या त चुरे पहाडबाट बग्ने हरिनाथ, मनसुना वा वाणगङ्गाले मनसुनमा अजङ्ग रुप धारण गरुन्स सबैभित्र देश समृद्धिका सपना उनिएकै छन् । सिँचाइ र विद्युत उत्पादन मात्र होइन जलविहार, मत्स्यपालनको विकास गर्न या त पर्यटकका मन खिच्न, सक्षम छन्– जल, जलाशय, तालतलैया, छाँगाछहरा अनि खोल्साखोल्सीहरू यहाँ । नेपाल आमा मुहारलाई बहुधारबाट समृद्ध बनाउन आतुर छ यहाँको जलस्रोत । तब त भनिन्छ– ‘भगवान्ले सोचविचार गर्दै कुँदेर बनाएको कुनै देश छ भने त्यो हो– नेपाल ।’ कसैले भन्ला समुद्र छैन– सुनामी, समुद्री आँधी अर्थात् खतराको सङ्केत यहाँबाट टाढा राखिदिएछ, प्रकृतिले । सम्भाव्यताका खुला पानामा विकासको लगाम पक्रन्छ, यहाँका जलसम्पदाले । वि.सं. १९६८ मै ५०० किलोवाट विजुली उत्पादन गरिसकेको नेपालले आज एक शताब्दीपछि भारतबाट विद्युत किन्नु परेको पीडा छ । अतः लगभग आठ सय मेगावटको पेरिफेरिमै कछुवा गतिमा हिँडेको विद्युत विकासले यहाँको पौरखलाई समात्नुपर्छ, जनशक्ति र सम्भावनाको सङ्गम गराउनुपर्छ अनि युवाशक्तिका पाखुरीलाई चिन्न र सम्मान दिन सक्नुपर्छ ।
सर्वाङ्गीण विकासको जग जलविद्युत विकास र उपयोगसँगै जोडिएको छ । पेट्रोलियम पदार्थको विक्री गरेर धनी भएका मुलुकमा पेट्रोल सकिन सक्छ तर नेपालका नदीले सुक्नुपर्दैन । डिजेल, पेट्रोल, मट्टितेल, ग्यासजन्य इन्धनका लागि चढाइरहिएको मोटो नगदनारायणको हिस्सालाई स्वदेशी ढुकुटीले स्थायित्व चाहन्छ । स्थानीय सम्भाव्यतासँग काँध थापेर देशले लघु जलविद्युत विकासमा पाइलो सार्दै जाने हो भने गाउँका टुकी युगीन परिवेशले मुहार फेर्न बेर नलाग्ला । ग्रामीण जलविद्युत विकास योजनाबाट पानी घट्ट चलोस् । रोप–वे, केवलकार, विद्युतीय रेल सेवा वा ट्रलीबस सञ्चालन गर्न सकिने सम्भावना छँदै छन् । पर्यटकलाई लोभ्याउन, खेतका बाली बोटका खाद्य पदार्थबाट भोक मेटाउन, इन्धनको विकल्पले देशको आर्थिक उन्नति गर्न या त परिवर्तित संसारको विज्ञानसँग दौडाउन नेपालको सेतो सुन ‘जलसम्पदा’ अवश्य बहुउपयोगी छ । एक घर एक धारो भन्ने नीतिसँगै स्वच्छ खानेपानीको विकासको बाटो खुलोस् । विद्युतले विकासका बाटा प्रशस्त बन्छन् । सञ्चार र प्रविधिको विकासमा विद्युतको नङ र मासुको सम्बन्ध छँदै छ, बिना विद्युत इन्टरनेट चल्दैन, प्रविधिले दौडनै पाउँदैन । सहज यातायातको विकाससँगै आम्दानीका बाटा खुल्ने सम्भावना बढ्दो रहेछ । हस्पिटलमा बिरामीले नवप्रविधिको सेवाबाट सहजता महसुस गरून् । अतः स्वास्थ्य सेवामा सहजता हने मात्र नभएर चेतना विकास, विश्वव्यापीकरणमा शैक्षिक नूतन विकासका मार्ग अवलोकन गर्न सकिन्छ । प्राविधिक, वैज्ञानिक, व्यावहारिक र पेशागत शैक्षिक विकासका लागि समेत सहज वातावरण तय हुने कुरा पनि यसबाट नै सम्भव छ । एक दशक यतामात्र मोबाइलको विकासले साँघु¥याएको यथार्थलाई हेर्दा यी आकृति आङ्कलन गर्न सकिन्छ । सेवा र सुविधा व्यवस्थापन गर्दै पर्यटन उद्योगको सञ्चालन गर्ने कार्य सहज बन्छ । विदेशीभूमिमा बेचिरहेको पौरख, सीप र दक्षताले स्वदेशी पारीवारिक सानसँग बाँच्न पाउँछ । साना तथा मझौला जलविद्युत योजना विकासमा लगानीकर्तामा प्रेरणाका बाटा बनून् । विदेशीहरूले ल्याएको रकमले राष्ट्रविकासमा लगानी गर्ने आधार पाओस् । इन्धनको विकल्प विद्युत बन्दै जाँदा वनफँडानी गर्ने क्रम घट्दै जानेमा आशा छ । फलतः वनसम्पदाको समेत संरक्षण हुने र प्राकृतिक पर्यावरणको संरक्षण भई वन्यजन्तु तथा जडिबुटि सुरक्षित रहने अप्रत्यक्ष फाइदाहरु छँदै छन् । पारिस्थितिक प्रणालीको सन्तुलन कायम गरेर वातावरण प्रदूषण नियन्त्रणमा समेत मद्दत मिल्छ भन्दै गर्दा पनि जलविद्युत विकासको उपादेयता उँचो रहेकोमा दुई मत नहोला । समय, श्रम अनि सम्पत्तिको बचत र सदुपयोग गर्दै उद्यमी शिक्षित र विश्वव्यापीकरणमा सबल सक्रिय नागरिक उत्पादन हुँदै जानेमा आखिर के बेर नै लाग्छ र ! आन्तरिक रोजगारका बाटासँगै आत्मनिर्भरता बढ्दो रहेछ । समय बचत, आधुनिकताको विकासले शैक्षिक उन्नयनका सबल बाटा बढ्दा रहेछन् ।
अर्का्तिर दुर्गम गाउँमा दिनभर मेलापातमा पसिना बगाएर थाकेका किसानले घण्टौँसम्म धाएर एक गाग्री पानीले छाक टार्ने प्रयास गर्नु परेकै छ । तिरतिरे पानीले गाग्री भरिन ढिलो भएपछि गाउँले महिलाहरु चुल्ठो तानातान गर्छन् । पानीकै लागि पानी बाराबार हुन्छ । आडैबाट गड्गडाएर मौका पाए खेतै कटान गरेर नदी बगिरहँदा माथि डाँडा खेतमा धाँजा फाटिरहेको हुन्छ, काँस पूmलिरहेको हुन्छ या त किसानले असारमा आकासे पानीको आशामा देवीदेवतालाई पुकारिरहेका हुन्छन् । खेतको शिरमा उम्रेको सानो पानीमा किसानहरु वर्षेनी लड्डी गरिरहेका छन् । वर्षात् हुँदा पानी कटाउन गाह्रो, सुक्दै जाँदा खेतमा पानी पटाउन साह्रो । जलविद्युत उत्पादन क्षमतालाई छातिमा राखिरहँदा गाउँहरू टुकी युगमै छन् । ऊर्जा सङ्कट वा लोडसेटिङको सिकार बनेर मैन बत्तीको मधुरो प्रकाशको सहारामा गृहिणी चुलोमा खाना बनाउँछिन् । यहाँ विडम्बना, सूक्ष्मातिसूक्ष्म कार्यमा विदेशी दातृसंस्था ताक्ने तर आफ्नो पुँजीलाई दुरुपयोग गरेर खल्ति दह्रो पार्ने राष्ट्रनिर्माणका बाधकको कमी छैन । भन्न पनि लाज लाग्छ, नेपालका अधिकांश जलविद्युत गृहहरूमा विदेशी संस्थाका ऋण र अनुदानका मिटरहरु चलिरहेका छन् ।
ब्रेकर ः कर्णाली, गण्डकी र कोशीको जलप्रवाहले नेपाली रक्त नसा अनि धमनी र शिराहरूमा समृद्ध नेपाल निर्माणको स्वर्णिम स्वप्नरेखा कोरेको हुँदो हो । लगभग दुई लाख दुई हजार मिलियन क्युविक लिटर जलभण्डारले स्वदेशी सक्रियतामा प्रश्न गर्दै छ ।


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना