समाजसेवी राजर्षी अम्बरीष

kamal rijalकमल रिजाल


वैदिक मन्त्रद्रष्टा ऋषिमा राजर्षी अम्बरीष पनि बिर्सनै नसकिने नाम हो ।  यद्यपि उनको चर्चा वेदमा भन्दा पौराणिक ग्रन्थमा बढी भेटिन्छ तर वैंदिक ग्रन्थहरूमै पनि उनको स्थान कम्ती महत्वपूर्ण छैंन ।  यस अर्थमा उनलाई वेद पुराण सर्वत्र आधिपत्य कायम गर्न सफल राजर्षीका रूपमा लिनु मनासिव हुनेछ ।  वस्तुतः ऋग्वेद नवौं मण्डलको ९८ औं सूक्त उनै राजर्षी अम्बरीषद्वारा साक्षात्कार गरिएको मन्त्रहरूको सँगालो हो ।  पवमान सोमको प्रशस्ति वर्णन गरिएको यस सूक्तमा जम्मा १२ वटा मन्त्र छन् ।  यी मन्त्रमा उनी जुन किसिमको ज्ञान राशिको शिखरमा पाइएका छन्, वैज्ञानिक चेतनाको पनि उत्तिकै धनी देखिएका छन् ।  यी मन्त्रहरूमा उनी कतै सूर्यरश्मि र तिनका विशेषता वर्णनमा चुर्लुम्म डुबिरहेका अवस्थामा फेला पर्छन् भने कतै सोमदेव र सोमरसको चमत्कार वर्णन गरिरहेका अवस्थामा देखा पर्छन् ।  त्यस्तै कतै द्युलोक र भूलोकको विशेषता वर्णन गर्दै त्यहाँका अनमोल प्राकृतिक सम्पदाहरू उत्खनन गरिरहेका अवस्थामा देखिन्छन् भने कतै उन्नत कृषि तथा गोधन कसरी विकास गर्ने भन्नेबारेमा र कतै अल्छी र बुढ्याईंमाथि कसरी विजय पाउन सकिन्छ भन्नेबारे छलफल गरिरहेका अवस्थामा फेला पर्छन् ।  
ऋग्वेदकै मण्डल एकको १०० औं सूक्त पनि उनी सहितका ऋषिहरूद्वारा साक्षात्कार गरिएका मन्त्रहरूको सँगालो मानिन्छ ।  यस सूक्तका अन्य ऋषिहरूमा वार्षागिर, ऋजाश्व, सहदेव र सुराधस आदि रहेका छन् ।  देवराज इन्द्रको प्रशस्ति वर्णन गरिएको यस सूक्तमा कुल १९ वटा मन्त्र छन् ।  यी मन्त्रहरूमा उनको ओज, शक्ति, सामथ्र्य, वल, वीर्य, पराक्रमको झलक प्रस्तुत भएका मात्र छैनन् उनका वैज्ञानिक चेतनाको समेत राम्रैसँग दिग्दर्शन भएको पाइन्छ ।   खासगरी यी मन्त्रहरूमा उनको मरुद्गणहरूको शक्ति, स्वरूप, गति र देवराज इन्द्रसित सहकार्यबारे जुन किसिमको वैज्ञानिक चिन्तन भेटिन्छ साँच्चै त्यसलाई नभूतो नभविष्यतिकै रूपममा लिनुपर्ने हुन्छ ।  भनिरहनु परोइन मरुद्गण भनेको वायु वा हावा हो ।  हालसम्म आधुनिक विज्ञानले हावाको शक्ति र सामथ्र्यबारे त प्रशस्तै कुरा गरेका छन् तर तिनको स्वरूप नै देखााउन भने सकेका छैनन् ।  लाग्छ यस्तो चमत्कार आधुनिक वैज्ञानिक प्रयोगशालामा कहिल्यै सम्भव हुँदा पनि हुँदैन तर अम्बरीष विज्ञानले भने हजारौं वर्षपूर्व नै त्यसको समेत छिनोफानो गरिसकेको छ ।   
पौराणिक ग्रन्थहरूमा उल्लेख भए अनुसार महर्षि अम्बरीष वैवस्वत मनुका प्रपौत्र मानिन्छन् ।  उनका बाबुको नाम नाभाग हो, जसलाई कतै कतै नाभानेदिष्ट भन्ने गरिएको पनि पाइन्छ तर ऋग्वेदको मण्डल एक सूक्त १०० को १७ औं मन्त्रले भने उनका बाबुलाई वृषागिर भनेर चिनाएको छ ।  अव प्रश्न उठ्न सक्छ वेद र पुराणमा त्यति ठूला राजर्षीको बाबुको नामकै बारेमा यति बढी भिन्नता किन ? यस अनुसार भन्नुपर्दा यी दुई अम्बरीष अलग अलग हुन् कि भन्नेसम्मको अनुमान लगाउन सकिने स्थान देखापर्छ तर अन्य प्रसङ्गमा वेद र पुराण दुवैको भनाई एउटै पाइएकाले राजर्षी अम्बरीष पनि अलग अलग नभई एउटै हुन् भन्ने  प्रष्टै अनुभूत गर्न सकिन्छ ।  त्यसैले नामको भिन्नताबारे सतही अध्ययनले इदमित्थंको धारणा बनाउनुभन्दा वैदिक मन्त्रहरू लामो समयसम्म श्रुति परम्परामा सीमित रहनुलाई कारक ठह¥याउनु नै मनासिव हुनेछ ।    
श्रीमद्भागवतमा उल्लेख भए अनुसार तत्कालीन परिवेशमा सातै द्वीपमाथि आधिपत्य कायम गर्न सफल चक्रवर्ती सम्राट अम्बरीष भगवान् विष्णुका परमभक्त समेत मानिएका छन् ।  उनको अनादर गर्दा एकपटक दुर्वासा जस्ता सुरासुर वन्दित महर्षिले समेत निकै दुःख पाउनुपरेको थियो. ।  विद्या र बुद्धिको बेजोड सङुगम नै मानिएका यी राजर्षी परम ज्ञानी र ध्यानी समेत थिए ।  विष्णुका विशेष भक्त भएकाले उनी नियमितरूपले एकादशीको ब्रत गर्ने गर्थे ।  शास्त्रीय मान्यता अनुसार एकादशीको व्रत बस्नेले भोलिपल्ट द्वादशी तिथिको घडीभित्रै भोजन गरिसक्नुपर्छ ।  अन्यथा व्रतभङ्ग हुन पुगी ठूलै विपत्ती निम्तिन सक्छ ।  त्यसैले यदाकदा तिथिको घटबडका कारण एकादशीको भोलिपल्ट द्वादशी तिथिको घडी निकै कम हुन सक्ने भएकाले  त्यस्तो बेला व्रतीले निकै सतर्क हुनुपर्छ ।  
राजर्षी अम्बरीषको जीवनमा पनि एकपटक त्यस्तै भएको छ ।  उनले नियमित एकादशीको व्रत गर्दै आएका थिए ।  एकपटक ऋषि दुर्वासा भोजनको आग्रह गर्न आइपुगे ।  अम्बरीषका लागि यो भन्दा खुशीको क्षण अर्को केही थिएन ।  उनी ऋषिका लागि चौरासी व्यञ्जन तयार गर्न लागे भने ऋष्ाि स्नान गर्न भनेर गङ्गाकिनारतिर लागे  तर भइदियो के भने स्नान गरेर चाडै नै आउँछु भनेर गएका ऋषि निकै बेरसम्म पनि फर्केनन् ।  यसले राजर्षी अम्बरीषलाई निकै चिन्तित गरायो ।  ऋषिलाई पर्खेर बसौ भने द्वादशीको घडी समाप्त भई व्रत भङ्गको दोषभागी हुनुपर्ने अवस्था थियो भने नपर्खदा पाहुनालाई नखुवाई पहिले आफैले खानुपर्ने अवस्था थियो ।  दुवै कार्य उनका लागि सहज थिएनन् ।  त्यसैले उनी किकर्तव्यविमूढ अवस्थामा पुगेका थिए ।  अन्तमा केही नलागेपछि उनले गुरुपु्रोहितको सल्लाह अनुसार पानी आचमन गरी व्रतको नियम पालन गरेका थिए तर यहाँ पनि भइदियो के भने पानी आचमन गर्नासाथ दुर्वासा ऋषि आएर  पाहुनालाई नखुवाई पहिले किन आफैले खायौ भन्दै बम्किन थाले ।   
यद्यपि ऋषि दुर्वासालाई अम्बरीष लगायत गुरु पुरोहित सबैले सम्झाउने प्रयास नगरेका होइनन् तर केही गर्दा पनि केही लागेन ।  उल्टैं उनले आफ्नो जटाबाट कृत्या राक्षसी प्रकट गरी राजर्षि अम्बरीषमाथि छाडिदिए तर भगवान् भक्तमाथि आएको विपत्ती हेरेर किन बस्न सक्थे र ।  उनको रक्षा गर्न सुदर्शन चक्र आफै दौडियो ।  विष्णुको चक्रको अगाडि विचरी ऋषिको कृत्याले केही गर्न सक्ने प्रश्नै थिएन ।  एकैछिनको रस्साकस्सीपछि आत्मरक्षाका लागि सुदर्शन चक्रकै पक्षमा लागेर दुर्वासामाथि नै जाइलाग्न आई ।  बल्ल दुर्वासालाई गल्तीबोध भयो तर त्यतिबेलासम्म निकै अवेर भइसकेको थियो ।  त्यसैले उनलाई अन्तमा आत्म रक्षाका लागि उनै राजर्षी अम्बरीषको शरणमा नगई सुखै पाएनन् ।  
राजर्षि अम्बरीष यज्ञअनुष्ठानको पनि उत्तिकै पारखी थिए ।  निरन्तर हव्यद्वारा देवताहरूलाई र कव्यद्वारा पितृहरूलाई सन्तुष्ट पार्दै आएका यी राजर्षीले दर्जनौं त अश्वमेध यज्ञ नै सम्पन्न गराएका थिए ।  यसमा सघाउने काम भने वसिष्ठ, असित र गौतम आदि गुरुजनले सघाएका थिए ।  दैनिक ऋषि यज्ञ, मनुष्य यज्ञ तथा भूत यज्ञ आदिद्वारा सम्पूर्ण प्राणी समुदायलाई सन्तुष्ट नपारी खानै खादैन थिए ।  उनी परम यशस्वी र सत्यनिष्ठाका पुजारी मात्र थिएनन् एउटा कुशल प्रशासक पनि थिए ।  उनको राज्यमा सर्वत्र शान्ति, सद्भाव र सदाचार कायम थियो ।  उनी आफू पनि कसैमाथि अन्याय गर्दैन थिए र कसैलद्वारा कसैमाथि अन्याय हुन पनि दिंदैन थिए ।  
गृहस्थीधर्म नै धर्म, अर्थ, काम र मोक्ष चारै किसिमको पुरुषार्थ सिद्ध गर्ने आधार हो भन्ने मान्यता राख्ने यी राजर्षी सदैव गृहस्थी धर्ममै रहेका मात्र थिएनन्  यसैबाट बाचुञ्जेल सुख, शान्ति र आनन्द प्राप्त गरी अन्तमा योगी दुर्लभ पद पाउन सफल समेत भएका थिए ।  उनले जति पाए समाजबाटै पाए र त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये भन्दै जे पाए समाजलाई नै समर्पण गर्दै कृतकृत्य भए ।  हाल उनको भौतिक शरीर त हामी माझ छैन तर उनको कीर्ति  पताका भने अहिले पनि उत्तिकैं फहराइरहेको छ ।  



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना