झरनामा क्यानोनिङ

 Prakash silwalप्रकाश सिलवाल




एउटा डोरीको भरमा छाँगाबाट झर्न सकिन्छ ? झट्टसुन्दा कठिन देखिए पनि आफ्नै आँखाले देखेपछि जो कसैले हो रहेछ, आनन्द पनि आउँनेरहेछ भन्नेछन् ।  अरूले खेलेको हेर्दा र आफैँले खेल्दाको मजा पनि बेग्लै हुन्छ ।  साहस हुनेले आफैँ झरनाको शिरबाट डोरीको सहायताले फेदी (दह, किनार) सम्म रमाउँदै झरेर मनोरञ्जन लिन्छन् भने मनमा डर पाल्नेले अरूले मनोरञ्जन लिएको हेरेर चित्त बुझाउँछन् ।  चिप्ला चिप्ला ढुङ्गाका
चट्टान भएर झर्ने छाँगाका पानीको फोहोरा, जसलाई बेला–बेलामा हावाले यतायता उडाएर थोप्ला भुरुरु उडेको दुश्यावलोकन पनि झरनामा गर्न सकिन्छ ।  त्यसबेला तस्बिर खिचाउन पाउने भगवान् नमाने पनि आफूलाई भाग्यशाली ठान्छन् ।   
पहाड र भीरमा हुने त्यस्ता झरनासम्म पुग्न मोटरबाटो त हुँदैन नै, पैदलमार्ग पनि कठिन हुन्छ ।  कुनै–कुनैमा पुग्न त घना जङ्गलको झाँडीमा आफैँले बाटो बनाउँदै जानुपर्छ ।  एक्लै दुक्लै जाने, हेर्न र खेल्ने गर्न सकिने विधा पनि यो होइन ।  समूहमा जाँदा बाटोमा र झरनाको तलमाथि गर्दा सहयोग त हुन्छ नै साथमा रोमाञ्चक अनुभूति हुन्छ ।  सुतिरहेका ढुङ्गालाई फलामले खोपेर डोरी बाँध्ने स्थान बनाउन सीप चाहिन्छ ।  डोरी कसिलो वा खुकुलो कस्तो भयो, त्यो चाल पाउन तालिम लिनुपर्छ ।  
स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने खेलका रूपमा उदाएको अग्ला झरनाबाट झरिने क्यानोनिङ (छाँगावरोहण) युवा युस्ताका लागि पर्वतीय पर्यटन, आधुनिक र एडभेन्चर स्पोस्र्टको नयाँ विधाका रूपमा नेपालमा स्थापित भइसकेको छ ।  प्रायः युवा पुस्ताले खेल्ने भए पनि बालबालिका र वृद्धवृद्धाले यसको दृश्यावलोकनका लागि उत्तिकै उत्साहित हुन्छन् ।  
विकिपेडियाकाअनुसार यस विधालाई अमेरिकामा ‘क्यानोनियरिङ’, दक्षिण अफ्रिकामा क्लोफिङ र इटलीमा तोरेन्टिस्मो भनिन्छ ।  जापान र ताइवानमा यसलाई रिभर ट्रासिङ भनिन्छ ।  पहिलोपटक सन् २०१२ मा ग्रिसमा विश्व क्यानोनिङ टुर्नामेन्ट भएपछि यसले विश्वव्यापी रूप लिएको हो ।  त्यहाँको अग्लो पहाड मानिने लिटोचोरोमा यो खेल गराइएको थियो ।  चार दिन चलेको प्रतियोगिता एडभेन्चर एक्स क्रसरोडले आयोजना गरेको थियो ।  
विश्वका अन्य देशमा फैलँदै नेपालमा पनि यसले सन् २००७ देखि औपचारिक मान्यता पायो ।  त्यसो त सरकारबाट प्रमाणित नभई, तालिम नलिई, सम्बन्धित सङ्घसँग परामर्श नलिई, क्यानोनिङ निर्देशिकाको पालना नगरी शुरु गरिने छाँगावरोहणले अप्रिय घटना ल्याउन सक्छ ।
नेपालका कुलेखानी, मस्र्याङरदी, सुनकोशी, ककनी, पोखराजस्ता लोकप्रिय स्थान र झरनामा यो खेल शुरु भइसकेको छ ।  मौसम अनुकूल खेल्ने भएकाले यो खेल वर्षभरि नियमित भने हुँदैन ।  सामान्यत गर्मीयाममा घाम लाग्ने दिनमा यो खेल खेल्दा बढी मनोरञ्जन हुन्छ ।  
नेपाल क्यानोनिङ एसोेसिएसनले क्यानोनिङको पहिचान, प्रशिक्षण र स्थानीय समुदायलाई सक्रिय गराउन थालेपछि यसको व्यावसायिक खेल र पर्यटनको सम्भावना बढेको छ ।  मनोरञ्जनका साथै पर्यटन प्रवद्र्धन र व्यावसायिक आयआर्जन तथा समुदाय परिचालनमा यसलाई जोड्न राजनीतिक दल, स्थानीय तह र सामाजिक कार्यकर्तामा जागरणसमेत ल्याउन यो विधा सफल हुने ठानिएको छ ।  
नेपालमा हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, वञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रूपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने भएकाले यसको प्रवद्र्धनमा व्यावसायी सक्रिय छन् ।  हाल क्यानोनिङ एसोसिएसनमा करिब ८० सदस्य छन् ।
पछिल्लो समयमा काठमाडौँसँग जोडिएको नुवाकोट जिल्लाको ककनी र शिवपुरी गाउँपालिकामा क्यानोनिङ शुरु भएको छ ।  शिवपुरी गाउँपालिका– ८, थानापतिस्थित सानो छहरे झरनामा एसोसिएसनको सदस्य फ्रेन्स्स एडभेन्चरले गतवर्ष दिएको दश दिने क्यानोनिङ प्रशिक्षणपछि यस वर्षबाट स्वदेशी र विदेशी पर्यटकको चासो बढेको छ ।  नुवाकोटको ककनी गाउँपालिकाको पौवाथोक र बुलबुले झरनामा पनि क्यानोनिङ शुरु भएको छ ।
स्थानीय क्यानोनिङ व्यवस्थापन समितिले आयोजना गरेको छाँगावरोहणमा स्थानीय दश युवाले सो खेल गर्नाका साथै यसको निरन्तरता र व्यावसायिकतामा जोड दिन थालिएको छ ।  नेपाली काँग्रेसका सांसद एवम् जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले गत साता सो झरना र छाँगावरोहण अवलोकन गर्दै यसलाई व्यावसायिक रूप दिन आग्रह गरेपछि स्थानीय युवा थप उत्साहित भएका छन् ।  
केसीसँगै पुगेका स्थानीय राजनीतिक कार्यकर्ता केशव रिजाल, राजु उप्रेती, हरि सिलवाल, जीतबहादुर लामा, जयदेव लामा, पुष्कर भेटवाल युवाले यसलाई व्यावसायिकता दिन पहल गर्ने जानकारी सांसदर केसीलाई गराएका थिए ।  शिवपुरी गाउँपालिका– ८ का वडाध्यक्ष पदबहादुर थपलियाकाअनुसार नयाँ विधाको स्थापनासँगै विकास र पर्यटन प्रवद्र्धनको सम्भावना बढेको छ तर क्यानोनिङबारे स्थानीय तहमा औपचारिक छलफल हुन बाँकी छ ।  
सानो छहरे भरना पुग्न काठमाडौँको टोखा, गुर्जेभञ्जयाङ हुँदै थानापतिको ढोडिनीसम्म करिब २७ किलोमिटरको मोटरबाटो र करिब आधा घन्टा पैदल हिँड्नुपर्छ ।  पासाङल्हामु मार्ग हुँदै ककनीबाट झरेर पनि त्यहाँ पुग्न सकिन्छ ।  हाल लमजुङ, कास्की, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोटलगायत जिल्लाका २० भन्दा बढी झरनामा हाल क्यानोनिङ हुँदै आएको छ ।  बाटो निर्माण गरी विदेशीका लागि डिजिटल सामग्री प्रचार गर्न सकिए व्यवसाय फस्टाउने देखिन्छ ।    

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना