सिनाज्या अर्थात् रोपाइँ गीत

Basant maharjanवसन्त महर्जन


काठमाडौँँं उपत्यकाको नेवार समाज र सभ्यताको विकासमा कृषि क्षेत्रको अन्योन्याश्रित सम्बन्ध सदियौँ कालदेखि रहँदै आएको पाइन्छ ।  यो समाजमा ऐतिहासिक कालदेखि वाणिज्य व्यापार, शिल्पकला तथा अन्य पेशाले पनि राम्रै पकड जमाएको पक्षमा दुई मत नहोला,  जनजीवनको एउटा ठूलो सङ्ख्या कृषि कर्ममा आश्रित रहेको पनि यथार्थ हो ।  कृषि कर्ममा प्रायशः ज्यापु समुदाय संलग्न छन् ।  वर्तमानमा पनि कृषि कर्मबाट यो समाज पूर्णतः विमुख छैन ।  
वर्तमान नेपालको मानचित्रमा प्रतिशतको हिसाबमा कामाडौँ उपत्यकाले निकै थोरै मात्र भूभाग ओगटेको भए पनि कृषिविज्ञका अनुसार कृषि कर्मका लागि पूरा देशमा सबैभन्दा उर्वरा भूमि काठमाडौँँं उपत्यका नै हो ।  तुलनात्मक रूपमा थोरै भूमिको प्रयोगले पनि धेरै उत्पादन गर्न गर्न सकिने भूमिको रूपमा यो उपत्यका प्रख्यात छ ।  यति मात्र नभएर यस उपत्यकाका कृषिकर्मीको माौलिक कृषि औजारले विशिष्टता पनि दिलाएको बताइन्छ ।  आजभोलिजस्तो खाद्यान्न सामग्री आयात हुननसक्ने अतीत कालमा सम्पूर्ण खाद्य यही उपत्यकामा नै उत्पादित धानबाली आपूर्ति हुन्थ्यो ।  यही भएर विशेष मिहिनेत र कार्यकुशलाको दरकार पर्दथ्यो ।  यही दक्ष र मिहिनेती कृषक आफ्नो कृषिकर्मबाट फूर्सद मिल्दा साथ विभिन्न खालको मनोरञ्जन गरी जीवनलाई ताजगीपूर्ण बनाउँथे र बनाउँदै आइरहेका छन् पनि ।  यही भएर सांस्कृतिक संवाहकका रूपमा यिनीहरू वर्तमानमा पनि चिनिन्छन् ।  गीत सङ्गीतमा पनि यिनीहरू अग्र स्थान रहेको  छ ।  
कृषक वर्गका लागि असार महिनाको ठूलो महìव रहेको हुन्छ ।  माना रोपी मुरी फलाउने अवसर यही हो ।  यतिबेला जोडतोडका साथ धान रोप्ने कार्य हुन्छ ।  कामको चटारोले यति धेरै हुन्छ कि अरूतिर सोच्ने फुर्सद पनि हुन्न ।  आकाशे पानीमा भर पर्नुपर्ने काठमाडौँँंका कृषकलाई त झन् भ्याइ नभ्याइ हुन्छन् तर यिनीहरू काम मात्रै गर्दैनन्, समय मिलाएर मनोरञ्जन पनि खोजी हाल्छन् ।  यसबेला भरपर्दो मनोरञ्जन भन्नु गीत गाउनु नै हुन्छ तर बाजागाजा बजाएर बस्न पाउँदैनन् ।  गीत गाउँदै र रमाउँदै कृषि कर्म गर्नु एक प्रकारले यिनीहरूको जीवन दर्शन नै बनेको छ ।  नेवार समाजमा पाइएका लोकगीतहरूको सङ्कलनमा सबैभन्दा बढी रोपाइँको अवसर वा रोपाइँसँग नै सम्बन्धित गीत पाइएका छन् ।  रोपाइँको कामलाई नेवार भाषामा ‘सिनाज्या’ भनिन्छ ।  र, ‘सिनाज्या’ सँग सम्बन्धित गीतलाई ‘सिनाज्याया म्ये’ भन्ने गरिछ ।  नेवार समाज बाह्रमासै गीत (बाह्रै महिना गाउन मिल्ने गीत) मात्रै नभएर समसामयिक गीत पनि उत्तिकै प्रचलित छन् ।  समसामयिक गीतमा ‘सिनाज्याया म्ये’ वा रोपाइँ गीतको सङ्ख्या अधिक रहेको पाइन्छ ।  
सिनाज्याअन्तर्गतका गीतको विषयवस्तु दैनिक जीवन नै हुने गर्छ ।  यसको उल्लेख्य पक्ष भन्नु रतिरागका भावना भए पनि परोक्ष वा प्रतीकात्मक रूपमा भाव अभिव्यक्त गरिएको हुन्छ ।  तर सिनाज्याको गीतमा प्रत्यक्ष रूपमा नै, तर बडो मिठास र रोचक ढङ्गले बोलेको हुन्छ ।  उदाहरणका लागि ‘गोपाल धनी पनेमते थनि’ बोलको गीतमा एउटी भर्खरकी युवतीलाई आफ्नो मनको भावना व्यक्त गर्न लगाइएको छ ।  ग्वाला समुदायकी ती युवती पुरुषसँग आफ्नो शरीर कलिलो नै रहेको, यौन कार्यका बारेमा त्यत्ति धेरै जानी नसकेको हुँदा चित्त बुझाउन नसक्ला कि भनी चिन्ता व्यक्त गराइएको ।  अहिले फुलिनसकेको कोपिलासँग आफूलाई तुलना गरी पछि रासलीलाका लागि उपयुक्त हुने आशा व्यक्त गर्दै अहिलेलाई नबिगारिदिन अनुरोध गर्दै पछि रसरङ्ग गरौँला भनी आश्वासन दिन्छिन् ।  यस्तै गरी अर्को एक गीतमा त महिला पुरुष बीचको सहवासलाई नै चित्रण गरेको पाइन्छ ।  
रोपाइँ कार्य सजिलो त हुँदै होइन ।  अन्यत्रजस्तो काठमाडौँँं उपत्यकामा हलो पनि जोटिन्न ।  सबै काम आफँै गर्नुपर्छ ।  खेत खन्ने, बाउसे गर्ने लगायतका काम पुरुषले गर्छन् ।  यस कामका लागि पुरुष बिहानैदेखि खेतमा पुग्छन् ।  स्वास्नीमान्छे खाना खाइवरी पुरुषहरूलाई खाना लिएर जान्छन् ।  रोपाइँ कार्यमा सुरुमा त कुराकानी तथा ठट्टा नै हुन्छन् ।  गाउने खुबी भएका गाउन पनि थाल्छन् र त्यसपछि गाउन हिच्किचाउने पनि गाउन पल्किन्छन् ।  शारीरिक श्रमको थकान मनोरञ्जनात्मक गीतबाट नै मेटिन्छन् ।  यति मात्रै होइन, साँझ फर्कदा पनि बाटैभरि गीत गाएर र नाचेर फर्कने गरेको पाइन्छ ।  कष्टकर कामलाई पनि मनोरञ्जनमा रूपान्तरण गरेर रोपाइँ कार्य सम्पन्न गरेको पाइन्छ ।  
सिनाज्याअन्तर्गतका गीत सबै रतिरागसँग नै सम्बन्धित हुुनुपर्छ भन्ने छैन ।  ती गीतमा कृषि कार्यलाई नै चित्रण गरिएको पनि हुँदैन रहेछन् भन्ने कुराको एउटा उदाहरण ‘जि वया ला लछि मदुनि’ बोलको गीत हो ।  नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित मुनामदन वास्तवमा यही लोक गीतको कथावस्तुमा आधारित वा त्यसको विस्तृत रूप भन्न सकिन्छ ।  विवाह गरी आएको एक महिनाभित्रै लोग्ने धन कमाउनका लागि ल्हासा जान लाग्दा रोक्न खोज्ने, आफ्नो प्रयास खेर जाने, ल्हासाबाट झूठो समाचार आउने र महिला तिनै लोग्नेको नाममा सती जाने कथावस्तु उक्त गीतमा रहेको छ, जसलाई सिनाज्या गीतअन्तर्गत नै राखिएको छ ।  
समयको बदलाबसँगै नेवार समाजमा कृषिकर्म खुम्चिदै जान थालेको छ ।  पर्म प्रथाअनुसार चल्दै आएको कृषि कार्य ज्याला प्रथाअनुसार चलेको पाइन्छ ।  ज्याला प्रथा चले पनि सुरुमा त आफ्नै समुदायका ज्यामी हुने भएका कारण खासै समस्या थिएन तर अचेल आफ्नै समुदायका ज्यामीहरूको अनुपलब्धताका कारण अरूलाई नै राख्नुपर्ने र तिनीहरू सांस्कृतिक रूपमा अन्यबाट नै प्रभावित हुनै भएका कारण रोपाइँ कार्यसँग सम्बन्धित सांस्कृतिक पक्ष ठूलो मात्रामा प्रभावित छन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना