बंगैचामोहले फूलको कारोबार बढायो

भेषराज बेल्बासे

काठमाडौं, असार १८ गते ।  काठमाडौंको कपनमा आफ्नो आवास निर्माणका क्रममा रहेका उत्तम पौडेलले आवाससँगै हरियाली व्यवस्थापनका लागि मात्रै झण्डै डेढ लाख खर्च गर्नुभयो ।  बंगैचामा फुलेका फूल र हरियालीले सबैलाई आकर्षित गर्ने भन्दै उहाँले ढकमक्क फूलेको फूलले वातावरण नै रमणीय बनाउने भएकाले यसरी खर्च गरेका बताउनुभयो ।  राजधानी कंक्रीटको जंगलमा रूपान्तरण भइरहँदा यहाँका नागरिकहरूमा हरियालीप्रतिको आकर्षण बढ्न थालेको हो ।  घर बंगैचा, पार्क सजावटमा फूल विरूवाको प्रयोग र महत्व मात्रै बढेको छैन बजार पनि ह्वात्तै बढ्दै गएको छ ।
फूल उत्पादन र बजारीकरणमा काम गर्दै आएको नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान)का अनुसार गत आर्थिक वर्षमा एक अर्ब ५१ करोड बराबरको समग्र पुष्पजन्य कारोबार भएको थियो जसमा नेपाली उत्पादनको हिस्सा एक अर्ब ४१ करोड रहेको थियो ।  त्यसमध्ये बंगैचा प्रयोजनको लागिमात्रै पनि धेरै हिस्सा रहेको फ्यानले जनाएको छ ।
घर बंगैचा, पार्क सजावट र फुल विरूवाको प्रयोगका लागि मात्रै १० हजारदेखि करोडसम्म खर्च गर्ने गरेको बताउनुहुन्छ फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठ ।  आवासीय र व्यवसायिक प्रयोजनका लागि प्रयोग हुने यो कारोबार वार्षिक १० देखि १५ प्रतिशतले बढ्दै गएको जानकारी दिंदै उहाँले भन्नुभयो – ‘पछिल्लो समयमा आवासीय र व्यवसायिक प्रयोजनका लागि निर्माण गर्दा कुल बजेटको दुईदेखि तीन प्रतिशत छुट्याउने गरेको पाइएको छ । ’ कंक्रीट नै कंक्रीटको सहरमा परिणत हुँदै गर्दा यसको विकल्पका रूपमा हरियाली एवं स्वच्छ हावाका लागि कृत्रिम बंगैचा र पार्कको सहायता लिनेहरू यतातर्फ आकषर््िात हुने गरेका हुन् ।  फ्यानका अनुसार गत वर्ष साढे १० करोड बराबरको आयात भएको थियो भने निर्यात साढे तीन करोडको भएको थियो ।  गत वर्षमात्रै २७ करोड रूपियाँ बराबरको अर्नामेण्टल फुल, ११ करोड बराबरको ल्याण्डस्केप, छ करोड बराबरको दूबोको कारोबार भएको पनि फ्यानले जनाएको छ ।
एक दशकअगाडि मागको १५–२० प्रतिशत फूल मात्रै उत्पादन गरिरहेको अवस्था थियो भने अहिलेको अवस्थामा ८० प्रतिशतभन्दा बढी आपूर्ति स्वदेशी उत्पादनबाट भइरहेको छ ।  अहिले फूलमा नेपाल  आत्मनिर्भरतातर्फ हुन खोजिरहेको छ ।  अहिले जुन स्तरमा उत्पादन भइरहेको छ, यसले आत्मनिर्भरतातर्फ जान सकिन्छ भन्ने पनि देखाउँछ ।  यसमा सरकारको सहयोग भने चाहिने व्यवसायीहरू बताउँछन् ।
सुन्दर र स्वच्छ घर बनाउनका लागि सुन्दर बगैचा र पार्कले पूर्ण बनाउन सघाउँछ तर, घरमा ठाउँ अभावले कतिको बगैचा निर्माण गर्ने रहर अपुरै हुन्छ ।  यसका लागि विभिन्न विकल्पका रूपमा कौसी वा करेसामै  विरूवाहरू रोपेर, हैङगिङ गार्डेनलगायतका माध्यमबाट पनि राजधानीवासीले आफ्नो हरियालीमोह देखाउने गरेको अध्यक्ष कसुजुको भनााई छ ।  सुन्दर बास्केटले बगैचाको रहर मात्र नभएर घर पनि सुन्दर बनाउने, सबैलाई फूलले आकर्षित गर्ने र घरको गमलामा ढकमक्क फूलेको फूलले वातावरण नै रमणीय बनाउने भन्दै फ्यानका अध्यक्ष कसजु भन्नुहुन्छ –‘मानिसले गाँस, बास र कपासको व्यवस्था गरेपछि घर निर्माण गर्छ र उपलब्ध भए बँगैचा, कौसी तथा करेसाबारीमा फूलजन्य बिरूवा रोप्छन् ।  फूल राखेपछि घर भित्रँदा र बाहिर निस्कँदा हँसिलो अनुभव गर्छ ।  बाहिर छिमेकीले हेर्दा पनि राम्रो देखिन्छ ।  पैसा कमाएर यसरी फूललाई उपयोग गर्न थाल्छ, जसलाई समृद्धको सूचकका रूपमा हेर्न सकिन्छ ।  पछिल्लो समयमा मानिसले जसले बाथरूम, डाइनिङ, बेडरूम, कौसीलगायतका स्थानमा फूल राख्छ, ऊ समृद्ध छ भनेर पहिचान दिन्छ । ’ flower
फुलको मागसँगै मुलुकलाई कृषिमा व्यवसायीकरण गर्दै यसैबाट समृद्घ अर्थतन्त्र निर्माण गर्ने सपना सरकारले बाँडिरहँदा यसमा लाग्ने व्यवसायीहरूले भने व्यवहारमै गरेर देखाएका छन् ।  डेढ दशकभन्दा बढी समय पुष्पजन्य व्यवसायमै व्यतित गर्नुभएका प्रकाश पन्तलाई अहिले यो व्यवसायमा लागेकोमा कुनै पछुतो छैन ।  विशेष अवसर वा उत्सवमा चाहिने फूलकै उत्पादन र बिक्री वितरणमा लाग्नुभएका उहाँमा नत कुनै अरू व्यापार वा व्यवसायको नै सोंच छ ।  करिब पाँच लाख लगानीबाट शुरू भएको उहाँको व्यवसाय तीन चार करोडमा फैलिएको मात्रै छैन करिब ५० जनालाई रोजगारी पनि दिनुभएको छ ।  अघिल्लो वर्ष राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुनुभएका पन्त फुरूङ्ग हुँदै भन्नुहुन्छ– ‘पुष्प व्यवसायमै लागेको डेढ दशकमा झण्डै २३ बिघामा फैलिएको एब्लोम फ्लोरा फर्मलाई अझै विस्तार गर्दै निर्यातमा पनि जाने योजना बनाएको छु । ’
मुलुकको पुष्पजन्य व्यवसायमा हजारौं व्यवसायीले आफ्नो दैनिक गुजारादेखि दर्जनौंलाई रोजगारीको अवसर दिइरहेका छन् भने दसैँ–तिहार, विवाह, व्रतवन्ध लगायतका उत्सवमा प्रयोग हुने फूल पछिल्लो समय बगैँचा, घर, अफिस सजावटका लागि पनि माग हुन थालेको छ ।  यही व्यवसायबाट ४१ हजारभन्दा बढीले प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी पाइरहेका छन् ।  फ्यानका अध्यक्ष श्रेष्ठका अनुसार नेपाल पुष्प व्यवसायका लागि उर्वर भूमि मानिँदै आएपनि दक्ष जनशक्तिको अभाव, नीतिगत अलमल, नयाँ प्रविधि र बैंकिङ लगानी जस्ता कारण नेपालको पुष्प व्यवसायले सोचेजस्तो प्रतिफल दिन नसकेको छैन हाल नेपालमा ४५० प्रजातिका फुल व्यवसायिक उत्पादनका लागि पहिचान भइसकेका छन भने पाँच हजार भन्दा बढी प्रजातिका फुल पहिचान पहिचान भएका छन् ।
विशेषगरी फुलैफुलको चाड तिहारका बेला स्वदेशी फुल मालाले तिहारको माग धान्न नसक्ने भएकाले हरेक वर्ष तिहारका लागि केही माला भारतबाट आयात हुने गरेको छ
कसजुका अनुसार नेपालमा बेमौसमी फुलको व्यावसायिक उत्पादन अत्यन्त न्यून परिमाणमा मात्र गरिने भएकाले वर्षेनी फुल आयात गर्नुपर्ने बाध्यता रहेको छ ।  तिहारबाहेक सामान्य अवस्थामा पनि दैनिक १० देखि १० हजार माला आयात हुने गरेको छ ।  नेपाली बजारमा फूलमालाको माग अस्थिर रहेकाले पनि आयातको विकल्प नरहेको उहाँको भनाइ छ ।
खासगरी जाडोको सिजन पुस, माघ र फागुन महिना नेपालमा फुल उत्पादन ठप्प हुने भएकाले आवश्यक सबै फुलमाला आयात हुने गरेको गरेको छ ।  त्यसो त तिहारको बेला आयातमात्र नभई केही माला निर्यात पनि हुने गरेको उहाँको दाबी छ ।  अमेरिका जापानलगायतका मुलकमा ४० देखि ५० हजार मखमली माला निर्यात हुने गरेको छ भने हङकङमा केही संख्यामा सयपत्री माला निर्यात हुने गरेको उहाँले बताउनुभयो ।
नेपालमा सन् १९५० बाट सामान्य स्तरमा सुरू भएको पुष्प व्यवसाय शहरीकरणको विकाश तथा विस्तारसँगै यसको केन्द्र काठमाण्डौँ मात्र नभएर पोखरा, नारायणघाट, हेटौँडा, काभ्रे, विराटनगर, धरान, धनगढी  लगायतका सहरहरूमा फैलदो छ ।  आर्थिक वर्ष २०७२÷७३ सम्म आई पुग्दा हाल ३९ जिल्लामा लगभग ६७५ पुष्प फर्म÷नर्सरीहरू विस्तार भईसकेको छ ।  लगभग १४७ हेक्टर क्षेत्रफलमा भईरहेको पुष्प व्यवसायले आ.व. २०७२÷७३ जम्मा एकअर्ब ३४ करोडभन्दा बढिको कारोबार गरेको फ्यानले जनाएको छ ।
नेपालमा वार्षिक १० देखि १५ प्रतिशतले फूलको माग बढ्दो क्रममा रहेको फ्यानले जनाएको छ ।  यसको बढ्दो मागसँगै पछिल्लो समय सरकारले पुष्प व्यवसायको प्रवद्र्धनमा विशेष जोड दिँदै आएको छ ।  नेपाल तथ्याङ्क विभागले गरेको व्यावसायिक पुष्पखेती सर्वेक्षण–२०७२ का अनुसार मुलुकभर ३६ जिल्लामा ५७१ व्यवसायीले पुष्पखेती गरेका छन् ।  अधिकांश पुष्प व्यवसायी नाफामा रहेको पनि सर्भेक्षणमा उल्लेख छ ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना