साकेलामा माओवादी केन्द्र, लामीडाँडामा एमाले विजयी

maoist symbolखोटाङ,  असार १९ गते । खोटाङको साकेला गाउँपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)का अर्जुनकुमार खड्का (झङ्कार) निर्वाचित भएका छन् । उपप्रमुखमा भने नेपाली काँग्रेसकी सरिता खड्का विजयी भएकी छन् । कांँग्रेसका इच्छुराम रानालाई ३५ मतले पछि पार्दै माओवादी केन्द्रका खड्का प्रमुखमा विजयी बनेका जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिनुभयो । निकटतम प्रतिस्पर्धी रानाले ९८५ र खड्काले एक हजार २० मत ल्याउनुभएको थियो ।

काँग्रेसका उम्मेदवार सरिताले एक हजार २२२ मत ल्याएर माओवादी केन्द्रकी विर्सिका राईलाई पछि पार्दै उपप्रमुखमा विजयी हुनुभएको छ । विर्सिकाले एक हजार १३० मत ल्याउनुभएको जनाइएको छ ।

सो गाउँपालिकामा एमालेका प्रमुखका उम्मेदवार आश्विनचन्द्र राईले ९५१ र उपप्रमुखका उम्मेदवार चन्द्रकला ढकालले ९६३ मत प्राप्त गर्नुभएको छ ।

पाँच वडा रहेको उक्त गाउँपालिकाको वडा नम्बर १ बाँझेच्यानडाँडामा काँग्रेसका भलाकाजी गुरुङको समूह, २ रतन्छामा माओवादी केन्द्रका उन्नत राईको समूह, ३ खिदिमामा एमालेका मणी राई र चार सदस्यमा माओवादी केन्द्र, ४ मात्तिममा काँग्रेसका कृष्ण भट्टराईको समूह र साकेला गाउँपालिका–५ मात्तिममा एमालेका वीरबल राईको समूह विजयी भएको छ ।

लामीडाँडामा एमाले विजयी

यसैगरी, लामीडाँडा गाउँपालिकामा नेकपा (एमाले)का प्रमुख र उपप्रमुखका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका लिलाबहादुर निरौला एक हजार ९०९ मत ल्याएर प्रमुखमा र एमालेकै समला राई एक हजार ८०७ मत ल्याएर उपप्रमुखमा विजयी हुनुभएको हो ।

काँग्रेसका प्रमुखका उम्मेदवार जनककुमार कार्कीभन्दा ३३७ मत बढी ल्याएर निरौला गाउँप्रमुखमा विजयी हुनुभएको जनाइएको छ । कार्कीले एक हजार ५७५ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिनुभयो ।

एक हजार ६२७ मत प्राप्त गर्नुभएकी काँग्रेसकी शोभा पाण्डेलाई पछि पार्दै एमालेकी समलाले उपप्रमुखमा बाजी मार्नुभएको जनाइएको छ ।

छ वडा रहेको लामीडाँडा गाउँपालिकामा काँग्रेसले ३, एमालेले २ र माओवादी केन्द्रले १ वडामा वडाध्यक्ष जितेको छ । वडा नम्बर १ कुभिन्डेमा माओवादी केन्द्रका सविन श्रेष्ठ, २ खार्पामा काँग्रेसका कालीदास पोखरेल, ३ लामीडाँडामा काँग्रेसका विदुर खतिवडा, ४ डुम्रेधारापानीमा काँग्रेसका ज्ञानु पाण्डे, ५ दुवेकालमा एमालेका गणेश थापा र ६ हौंचुरमा एमालेका एकनारायण श्रेष्ठ वडाध्यक्षमा विजयी भएका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना