व्यावसायिक बन्दै कफी खेती

राजु शिवा

इलाम, असार १९ गते ।  चार वर्षअघि वैदेशिक रोजगारीबाट फर्कनुभएका इलाम एकतप्पाका दिनेश कोइराला अहिले गाउँमा व्यावसायिक कफी खेतीतर्फ लाग्नुभएको छ ।  
बाबु–बाजेले जोडिदिएको ५० रोपनी जमिनमा कफी लगाउनुभएका कोइरालाको अधिकांश समय कफी स्याहारमै बित्ने गर्छ ।  दुई वर्षअघि लगाएको कफी फल्न थालिसकेको छ ।  उहाँ थप नयाँ ठाउँमा पनि खेतीको विस्तार गर्दै हुनुहुन्छ ।  
चार दाजुभाइकै जग्गामा कफी लगाउनुभएका उहाँ कफीको बिरुवा बिक्रीबाट कमाइ लिँदै हुनुहुन्छ ।  बर्सेनि पाँचदेखि सात हजार कफीको बिरुवा बिक्री गरेर कमाइ गर्ने उहाँले सुनाउनुभयो ।  भुइँमा लगाएको बिरुवा प्रतिगोटा २० रुपियाँ र पोलिथिनको बिरुवा २५ रुपियाँका दरले बिक्री हुने गरेको कोइरालाले बताउनुभयो ।  
कफीको बिरुवा किन्न भीड लाग्ने गरेको छ ।  कतिले बिरुवाका लागि अग्रिम भुक्तानी दिन्छन् ।  यो वर्ष मात्रै ३० हजारभन्दा बढी बिरुवाको माग छ, उहाँले भन्नुभयो ।  बिरुवा थोरै छ, नजिककालाई मात्रै दिनपुग्छ ।  अर्को वर्षलाई बिरुवा निकाल्न उहाँले नर्सरी राखिसक्नु भएको छ ।  
इलामको सूर्योदय नगरपालिकाको बरबोटेमा ‘फिक्कल टि एन्ड कफी कम्पनी’ले ठूलो क्षेत्रमा कफी खेती लगाउँदैछ ।  यही वर्ष मात्रै बरबोटेमा तीन सय रोपनीमा कफी खेती लगाइँदैछ ।  कफी खेती लगाउन बारी र बिरुवा तयार भएको कम्पनीका काजी लामाले बताउनुभयो ।  kaphi
सोही कम्पनीमार्फत अरू सात सय रोपनीमा कफी खेतीको तयारी हुँदैछ ।  कफी खेतीका लागि योग्य जमिन किन्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।  कफीको बजार राम्रो भएकाले ठूलो क्षेत्रमा यसको खेती थालेको ‘फिक्कल टि एन्ड कफी कम्पनीका अध्यक्ष दीप लामा बताउनुभयो ।  कफीको बजार राम्रो छ, उहाँले भन्नुभयोे ।  विदेश लगेर बेच्नु पर्दैन, नेपालमा नै राम्रो बजार छ ।
कफीका लागि प्रतिष्ठित हिमालयन जाभाले उत्पादन लिने निश्चित छ ।  खेतीका लागि हिमालयन जाभाले पनि लगानी गरेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।  कम्पनीले बिरुवा उत्पादनका लागि नर्सरी बनएको छ ।  कफी प्रशोधन प्लान्टसमेत स्थापना गरिनेछ ।  
यस्तै इलामको गोदकमा पनि व्यावसायिक रूपमा कफी खेती थालिएको छ ।  कुम्भकर्ण एग्रिकल्चर फार्मले गोदकमा ३३ रोपनी जग्गामा कफीको खेती लगाएको छ ।  सात जनाको लगानीमा एक हजार पाँच सय बोट कफी खेती लगाइसकेको कम्पनीका भोजराज श्रेष्ठले जानकारी दिनुभयो ।  श्रेष्ठले इलाम सदरमुकाममा नै ग्रीन सिटी नर्सरीसमेत स्थापना गर्नुभएको छ ।  नर्सरीमा सात हजार कफीका बिरुवासमेत तयार छन् ।  
नर्सरीमा कफीसँगै अन्य फलफूल र बहुमूल्य प्रजातिका बिरुवाहरू समेत छन् ।  कफीको बिरुवाको माग बढेपछि अर्को वर्षमा २५ हजार बिरुवा निकाल्ने गरी नर्सरी राखिएको छ ।  अहिले बिरुवाको हारालुछ छ, त्यसैले अर्को वर्ष धेरै बिरुवा गर्छौं, श्रेष्ठले भन्नुभयो ।  तीन लाख लगानी गरेर २५ हजार बिरुवाका लागि ११ किलो दानाको नर्सरी
राखेका छौँ ।  
नामसालिङका गञ्जु प्रधानले पनि हजारभन्दा बढी कफीको बिरुवा रोप्नु भएको छ ।  प्रधानले रोपेको बिरुवा पनि फल्न योग्य भइसकेका छन् ।  जिल्लाको नामसालिङ, धुसेनी, एकतप्पा, फिक्कललगायतका क्षेत्रका किसानले पनि व्यावसायिक रूपमा कफी खेती लगाउन थालेका छन् ।  
पहाडी क्षेत्रमा उत्पादन हुने कफीको बजार राम्रो भएकाले पूर्वी पहाडी क्षेत्रमा कफीको व्यावसायिक खेती थालिएको हो ।  नेपालमा चियाको उद्गम थलो मानिने इलाममा यसअघि व्यावसायिक रूपमा कफी खेती भएको थिएन ।  
२० वर्षअघि इलामको केही ठाउँमा कफी लगाइए पनि उत्पादनले राम्रो भाउ नपाउँदा खेती विस्तार हुन सकेको थिएन ।  विश्व बजारमा नेपाली कफीको माग बढेसँगै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा ठूलो क्षेत्रमा कफी लगाइएको चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले बताउनुभयो ।  
नेपालको उच्च पहाडी क्षेत्रमा उत्पादन भएको कफीको माग राम्रो छ, अधिकारीले भन्नुभयो ।  पहाडी क्षेत्रमा उत्पादन भएको कफीको गुणस्तर राम्रो हुने भएकाले माग राम्रो छ ।
नेपालमा अरविगा जातको कफी लगाइने गरेको छ ।  समुद्री सतहको आठ सयदेखि १६ सयसम्मको उचाइमा कफी राम्रो उत्पादन हुन्छ ।  चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख अधिकारीका अनुसार नेपालमा पाँच सय मेट्रिक टन कफी उत्पादन हुन्छ भने विश्व बजारमा यहाँको सात हजार टन कफीको माग छ ।  नर्सरीबाट बगैँचामा लगाएको तीन वर्षपछि फल्न सुरु हुने कफी रोपेको ५० वर्षसम्म उत्पादन हुन्छ ।  एउटा बोटमा बर्सेनि पाँच÷सात किलोसम्म कफी फल्छ ।  अहिले प्रतिकिलो ५० देखि ८० रुपियाँसम्ममा कफीको दाना किनबेच हुने गरेको छ ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना