कैलालीका किसानलाई बल्ल राहत

kisanधनगढी, असार १९ गते ।  जुन १२ तारेखमा नै नेपाल छिरेको मनसुन शनिबारबाट मात्र पश्चिम क्षेत्रमा  सक्रिय भएपछि किसानलाई राहत भएको छ ।  
सुख्खाका कारण रोपाइँ गर्न नसकेका किसानहरूलाई राहत मिलेको हो ।  शनिबार साँझबाट मनसुनी वर्षा भएपछि कैलालीका किसान धमाधम रोपाइँमा सक्रिय भएका छन् ।  यसैगरी, पहिले नै रोपाइँ गरेका किसान पनि खुसी भएका छन् ।  सुख्खाका कारण खेतमा चिरा परेर सुक्नै लागेको धानलाई शनिबारदेखिको अविरल वर्षाले धेरै फाइदा गरेको उनीहरूको भनाइ छ ।  
अत्यन्त अत्यावश्यक अवस्थामा भइरहेको मनसुनी वर्षाले किसानहरूलाई धेरै राहत महसुस भएको कैलारी गाउँपालिका–७ का किसान चन्द्रप्रसाद चौधरीले बताउनुभयो ।  उहाँले सुख्खाको कारण खेतीपाती गर्न निकै समस्या भएको अवस्थामा पानी परेर खेत गिलो भएको र खोलानालामा पानी भरेपछि रोपाइँ गर्न सहज भएको बताउनुभयो ।  
यसअघिसम्म जिल्लामा सुख्खाका कारण यस वर्षको धान खेती नै प्रभावित हुने हो कि भन्ने चिन्ताले किसानलाई सताएको थियो ।  उनीहरूले असार १५ को राष्ट्रिय धान दिवस पनि सुख्खामै मनाएका  थिए ।  भूमिगत बोरिङसमेत सुकेर निकै समस्या भएको थियो ।  
हिजो र आज भइरहेको वर्षाले खेतीपाती गर्न अब धेरै राहत मिलेको छ, चौधरीले अगाडि थप्नुभयो ।  वर्षाले यस्तैगरी साथ दिएमा केही दिनभित्रै धमाधम रोपाइँ सकिन्छ ।
वर्षाले साथ दिएपछि जिल्लाभरि नै धमाधम रोपाइँ हुन थालेको जिल्ला कृषि विकास कार्यालय कैलालीले जानकारी दिएको छ ।  अहिलेसम्म ३५ प्रतिशत जति रोपाइँ भएको र आइतबारदेखि सबैतिरका किसानले रोपाइँ थालेको सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत गौरीशङ्कर गुप्ताले जानकारी दिनुभयो ।  
सुख्खाका कारण पर्याप्त रोपाइँ गर्न नसकेका किसानलाई पानी परेपछि खेतीपाती गर्न सहज भएको गुप्ताले बताउनुभयो ।  उहाँले भन्नुभयो, अस्तीसम्म धूलो उडेको खेत अब गिलो भएको छ ।  किसानहरू बोरिङले अलिअलि सिचाइँ गर्दै धमाधम रोपाइँमा सक्रिय भएका छन् ।
सामान्यतयाः जुन १० मा नेपाल भित्रिने मनसुन यस वर्ष दुई दिन ढिलो गरी जेठ २९ अर्थात जुन १२ मा नेपाल छिरेको थियो ।  नेपालमा भित्रिएको झण्डै तीन सातापछि बल्ल कैलालीमा मनसुनी पानी पर्न थालेको छ ।  
यस वर्ष सुरुवातमा मनसुन कमजोर रहेको कारणले ढिलो गरी मनसुनी वर्षा भएको हावापानी फिल्ड कार्यालय अत्तरियाका सहायक मौसम प्रमुख राममणि मिश्रले बताउनुभयो ।  उहाँले पछिल्लो २४ घण्टामा कैलालीमा ३४ दशमलव पाँच मिलिमिटर पानी परेको जनाउँदै यसले किसानलाई धेरै फाइदा गरेको जानकारी दिनुभयो ।   
रोपाइँका लागि यति मात्राको वर्षा पनि पर्याप्त हो, मिश्रले भन्नुभयो ।  यसपालि मनसुनको अन्तिमतिर बढी पानी पर्ने सम्भावना देखिएको छ ।  ७२ हजार हेक्टर जमिनमा धान खेती हुने कैलालीमा यस वर्ष अहिलेसम्म सबैभन्दा बढी जिल्लाको पूर्वी क्षेत्रमा रोपाइँ भएको छ ।  भजनी, थापापुर, टीकापुर, जोशीपुर, धनसिंहपुर, नारायणपुर क्षेत्रमा बढी रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  मनसुन सक्रिय हुने बेलाको लामो सुख्खाले भने अधिकांश क्षेत्रमा रोपाइँ हुन सकेको थिएन ।  वर्षा सुरु भएसँगै सबैतिरका किसान खेतीपातीमा पूर्ण रूपमा सक्रिय भएका जनाइएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना