भेडा पालनमै जीवन

bheda palanचरिकोट, असार २१ गते ।  दोलखाको दक्षिणी भेगको मेलुङ गाउँपालिका–३ का किसान रणबहादुर खत्रीले व्यावसायिकभन्दा पनि शौखका रूपमा भेडा पालन गर्नुभएको छ ।  
आयआर्जनभन्दा पनि बाबुबाजेको पेसा थेग्न र शौखका लागि पनि लामो समयदेखि भेडा पालन गरिएको उहाँले बताउनुभयो । उहाँले २९ वर्षको उमेरदेखि भेडा पालन गरिरहनु भएको छ ।  अहिले उहाँ ७७ वर्षको हुनुहुन्छ ।  पढ्न पाइन, विदेश जान मन लागेन उहाँले भन्नुभयो, नमरुञ्जेलसम्म यही पेसा अपनाउँछु ।  नाफा होइन मेरो शौखको पेसा हो ।  अरूसँग हात थाप्नु परेको छैन, परिवारलाई लाउन खान पुगेकै छ ।  धनसम्पत्ति धेरै कमाएर शत्रु कमाउनु छैन ।  
उहाँका अहिले साना ठूला गरेर १३० वटा भेडा छन् ।  तीन सयवटासम्म पालन गर्ने सोच रहेको छ ।  उहाँले भन्नुभयो, नोकरी गरौँ भने उमेर पनि ढल्किसक्यो ।  घरमै अध्ययन गरेभन्दा बढी पढ्न पाइन ।  विदेशको मोह पटक्कै आएन ।  यही पेसामै रमाइलो लाग्न थालेको छ ।  गाउँका पालन गर्ने बूढापाका मरिसके, युवाले पाल्ने मन गरेनन् ।  सबै सुकिलामुकिला भए, यो पेसा अपनाउनै छाडे ।  
बथान घट्छ भनेर उहाँले पाठी भने बेच्नु भएको छैन ।  बलेख्रा (थुमा) मात्र बेच्नु हुन्छ ।  वार्षिक प्रतिगोटा पाँच हजार रुपियाँमा ३५÷४० वटा बलेख्रा बेच्दा करिब दुई लाख रुपियाँ आइहाल्छ उहाँले भन्नुभयो, घरपरिवार चलाएर पनि बचत हुन्छ ।  जीवनमा मोजमज्जा पनि गर्नुपर्छ ।  गाउँबेसी गर्न घोडा पनि पालेको छु ।  तीन छोरा सेना ÷प्रहरीमा जागिर खाएर आ–आफ्ना पेसामा लागिसके ।  
जाडोमा बेसी र गर्मीमा लेकमा भेडा लैजाने गरिन्छ ।  उहाँले अहिलेसम्म चरनको अभाव भएको छैन उहाँले भन्नुभयो, सैलुङको जङ्गलमा कतै निःशुल्क कतै वार्षिक पाँच सय तिरेर चरणको व्यवस्था मिलाएको छु ।  पुरानै तरिकाले लेक बेसीमा नै चित्रा र प्लास्टिक ओढाएर गोठ बनाइएको छ ।  भेडाको बढकौँला असाध्यै राम्रो मल हुँदो रहेछ ।  सो मल प्रयोग गरेर आफ्नो बारीमा उहाँले आलु खेती पनि गर्नुभएको छ ।  उहाँले भन्नुभयो, वार्षिक ५० मुरी आलु फल्छ ।  गाउँमै ठेकेदार आउँछन् ।  घटीमा पनि एक लाख रुपियाँ आलुबाट हुन्छ ।  साउनमा आलु खनेपछि गहुँ लगाइन्छ ।  यसबाट पनि आम्दानी हुन्छ ।  
उन्नत जातका भेडा पालन गर्न जिल्ला पशु सेवा कार्यालयले निःशुल्क ब्याडको थुपा दिएको छ ।  उहाँ भन्नुहुन्छ, आपूmसँग भएका थुमा बिक्री गरी उन्नत जातका लागि अब अनुदानमा पाएको थुमा मात्र राख्छु ।  अब भने तीन सय पु¥याउने लक्ष्य पूरा हुन्छ कि जस्तो लागेको छ ।  
बाबु वीरबहादुरले दसवटा जति भेडा पाल्नु भएको थियो ।  उहाँ सेनामा नोकरी गर्न जानु भएपछि रणबहादुरकै काँधमा भेडा पालन आएको हो र त्यसैलाई निरन्तरता दिँदै आएको उहाँले पूर्व स्मरण सुनाउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना