मतदाताको रोजाइ असल उम्मेदवार

voting_2काठमाडौँ, असार २२ गते ।  स्थानीय तहको निर्वाचनमा मतदाताले पार्टीसँगै उम्मेदवारलाई पनि प्राथमिकतामा राखेर मतदान गरेका छन् ।  महानगरपालिकादेखि गाउँपालिकासम्म पार्टीको प्यानल उम्मेदवार अधिकांश ठाउँमा विजयी नहुनुले यसको पुष्टि गरेको छ भने शीर्ष नेताको आफ्नै थातथलोमा पनि पकड कमजोर हुँदै गएको छ ।  पहिलो र दोस्रो चरणको निर्वाचनमा दलका प्यानल उम्मेदवारहरू कम जित्नु र फरक फरक दलबाट उम्मेदवारहरुको विजय हुनुले स्थानीय तहमा मतदाताले दलसँगै उम्मेदवारको पनि छनोट गरेको देखिएको छ ।  
प्रमुख दलका शीर्ष नेताको आफ्नै गृहजिल्लामा पनि मिश्रित नतिजा देखिएको छ ।  नेपाली काँंग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिका प्रमुख र उपप्रमखमा नेकपा एमालेका उम्मेदवार विजयी भए ।  त्यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेको विगतको जस्तो प्रभाव देखिएन ।  त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा माओवादीले प्रभाव जमाउन सकेन ।  
पहिलो चरणको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा एउटै दलका उम्मेदवार निर्वाचित भएनन् ।  प्रमुखमा नेकपा (एमाले) का विद्यासुन्दर शाक्य र उपप्रमुखमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गी निर्वाचित हुनुभएको थियो ।  सचेत मतदाता रहेको काठमाडौँ महानगरपालिकामा पनि मतदाताले दलले अगाडि सारेको प्यानललाई मात्रै रोजेनन् ।  त्यस्तै, देशका प्रमुख सहरका उपमहानगरपालिकादेखि नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखमा पनि फरक फरक दलका उम्मेदवार निर्वाचित भइरहेका छन् ।  भर्खर सार्वजनिक भएको परिणामअनुसार नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा राप्रपाका धवलशमशेर राणा निर्वाचित हुनुभएको छ भने उपप्रमुखमा काँग्रेसबाट उमा थापामगरले बाजी मार्नुभयो ।  
बाँकेको अर्को ठूलो कोहलपुर नगरपालिकामा मिश्रित परिणाम देखिएको छ ।  मेयर (प्रमुख) पदमा एमालेका लुटबहादुर राउत निर्वाचित हुनुभयो भने उपमेयर (उपप्रमुख) मा काँग्रेसकी सञ्जुकुमारी थारू निर्वाचित हुनुभयो ।  सोहीअनुसार कपिलवस्तुको दुई ठाउँमा स्वतन्त्र उम्मेदवारको विजयले पनि पार्टीभन्दा राम्रो व्यक्तिको छनोटमा मतदाता लागेको पुष्टि गरेको छ ।  कपिलवस्तुको कृष्णनगर नगरपालिकामा स्वतन्त्र उम्मेदवार रजतप्रसाद साह निर्वाचित हुनुभयो ।  त्यस्तै, सोही जिल्लाको शुद्धोधन गाउँपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार निराश अहमद विजयी हुनुभएको छ ।  
दाङको लमही नगरपालिकाको प्रमुखमा एमालेका कुलबहादुर केसी र उपप्रमुखमा काँग्रेसका देवका बेलवासे निर्वाचित हुनुभएको छ ।  प्रमुख र उपप्रमुखमा फरक फरक दलका उम्मेदवार निर्वाचित हुनुले पनि मतदाताले दलीयभन्दा पनि असल, इमानदार उम्मेदवार छनोट गरेको अनुमान सहजै लगाउन सकिन्छ ।
त्यस्तै, प्यूठान नगरपालिका प्रमुखमा माओवादी केन्द्रका अर्जुनकुमार कक्षपतिले जित हात पर्नुभयो भने उपप्रमुखमा एमालेका शान्ता आचार्यले जित हात पार्नुभयो ।  त्यस्तै, झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेस र एमालेका उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट एमालेको उम्मेदवारले जित्नुभएको छ ।  एमालेका मेनुका काफ्लेले काँग्रेसका उम्मेदवार हुकुमसिंह राईलाई गोलाप्रथाबाट पराजित गर्नुभयो ।  दुवै उम्मेदवारले बराबर आठहजार २२५ मत ल्याएपछि गोलाप्रथा हालिएको थियो ।  
त्यस्तै, सुनसरीको रामधुनी नपामा काँग्रेसका जयप्रसाद चौधरीले जित्नुभएको छ भने उपप्रमुखमा एमालेकी सविना चौधरी विजयी हुनुभयो ।  मोरङको सुन्दर हरैँचा नपामा काँग्रेसका शिव ढकालले प्रमुख पदमा जित हात पार्नुभएको छ भने उपप्रमुखमा एमालेका धना तामाङ जित्नुभएको छ ।  
सोहीअनुसार कैलालीको चर्चित नगरपालिका टीकापुर नपामा एमालेका टपेन्द्र रावल प्रमुख पदमा निर्वाचित हुनुभयो भने उपप्रमुखमा काँग्रेसकी केशरी विष्ट निर्वाचित हुनुभयो ।  उता, धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले काँग्रेसका उम्मेदवार नृप वडलाई कडा टक्कर दिनुभएको छ ।  उपप्रमुखमा काँग्रेसकी सुशीला मिश्र भट्ट र एमालेकी रुक्मणी देवकोटाबीच प्रतिस्पर्धा भइरहेको छ ।  पहिलो चरणको निर्वाचनमा पनि अधिकांश ठाउँमा प्रमुख र उपप्रमुखमा फरक फरक दलका उम्मेदवार विजयी भएका थिए ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना