गोहीको सर्वेक्षणमा ड्रोन प्रयोग

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, असार २३ गते ।  संरक्षित क्षेत्रमा हुनसक्ने चोरी सिकार एवं अवैध गतिविधि नियन्त्रण गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलोपटक मानवरहित विमान (ड्रोन)को प्रयोग गरी गोहीको सर्वेक्षण गरिएको छ ।  निकुञ्ज सीमाभित्र पर्ने बबई नदीको ४६ किलोमिटर दूरीमा ड्रोनको प्रयोग गरिएको हो ।
अति सङ्कटापन्न र लोपोन्मुख प्रजाति गोहीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज उपयुक्त बासस्थान मानिन्छ ।  नेपालमा पाइने दुई प्रजातिका मगर गोही र घडियाल गोही यस निकुञ्जमा र कर्णाली तथा र बबई नदीको किनार र छेउछाउका सिमसार क्षेत्रमा गोही पाइने गरेका छन् ।  
निकुञ्ज प्रमुख रमेश थापाका अनुसार यसअघि गोहीको सर्वेक्षण गर्दा पैदल हिँडेरै गरिने गरेको थियो तर यसपटक भने ड्रोन प्रयोग गरिएको हो ।  ड्रोन प्रयोग गर्दा घडियाल गोहीको सङ्ख्या ४६ गोहीको रेकर्ड गरिएको छ ।  गत वर्ष बबई नदी प्रणालीमा घडियाल २२ वटा फेला परेका थिए ।  
गत वर्ष निकुञ्जका सबै नदी, खोला, तालतलैया, पोखरी, सिमसार क्षेत्रमा गरिएको सर्वेक्षणमा मगर गोही ७५ वटा भेटिएका थिए भने यो वर्ष नदी प्रणालीमा मात्र ३१ वटा मगर गोही भेटिएका छन् ।  तर मगर गोही नदी प्रणालीभन्दा पनि सिमसार क्षेत्र, तालतलैयामा बढी बस्ने गरेको पाइन्छ ।  तालतलैया तथा सिमसार क्षेत्रका सर्वेक्षण गर्दा मगर गोहीको सङ्ख्या निकै वृद्धि भएको हुनसक्ने प्रमुख थापाले बताउनुभयो ।  gohi
माछा र मासु दुवै खाने भएकाले मगर गोही सिमसार क्षेत्र र तालतलैयामा बस्ने गर्छ ।  निकुञ्जका सहायक संरक्षण अधिकृत तथा प्रवक्ता अशोककुमार भण्डारीका अनुसार मगर गोहीले माछाबाहेक ताल छेउछाउ आउने चित्तल, जरायो, लघुना लगायत पनि सिकार गर्ने गरेको पाइन्छ ।  विशेष गरी ताजा माछालाई आफ्नो आहाराका रूपमा लिने गरेको घडियाल गोही नेपालका प्रमुख नदीहरू नारायणी, राप्ती, बबई र कर्णालीमा मात्र पाइन्छ ।  सन् २०१६ मा गरिएको गणनाअनुसार ती सबै नदी प्रणालीमा घडियाल गोही जम्मा १९८ वटा थिए ।  यस वर्ष बर्दियाका नदी प्रणालीमा घडियाल गोहीको सङ्ख्या वृद्धि भएसँग अन्य नदी प्रणालीमा पनि यसको सङ्ख्या वृद्धि भएको अनुमान गरिएको छ ।   यस वर्ष गोहीले फुल पारेर छाडेपछि चट्याङ परेर अन्डा फु्ट्दा बढी बच्चा जन्मन नसकेको प्रवक्ता भण्डारीले बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना