विपद् न्यूनीकरण विधेयक अघि बढाउन निर्देशन

काठमाडौँ, असार २४ गते ।  संसद्को राज्य व्यवस्था समितिले देशमा आइपर्ने विपद् व्यवस्थापनका लागि तत्काल विपद् व्यवस्थापन न्यूनीकरण विधेयक अघि बढाउन निर्देशन दिएको छ ।  समितिको शुक्रबार बसेको बैठले गृहमन्त्री जनार्दन शर्मासँग छलफल गर्दै देशको विभिन्न स्थानमा बाढी, पहिरोलगायत प्राकृतिक विपत्ति आइरहेको बेला त्यसको व्यवस्थापनका लागि कानुन बनाउनुपर्ने आवश्यक्ता औँल्याएको हो ।  
तीन वर्षदेखि सरकारलाई विधेयक अगाडि बढाउन आग्रह गर्दा पनि यो विषय सरकारको प्राथमिकतामा नपरेको गुनासो गर्दै संसदले गृहमन्त्री शर्मालाई केही दिनभित्रै विधेयक अघि बढाउन आग्रह गर्नुभएको थियो ।  जवाफमा गृहमन्त्री शर्माले विधेयक अघि बढिसकेको हुनाले चाँडै पारित हुने विश्वास व्यक्त गर्नुभयो ।  ‘यो विधेयक कानुन मन्त्रालयमा पुगिसकेको छ ।  त्यहाँबाट सुझावसहित प्राप्त हुनासाथ अघि बढ्छ,’ मन्त्री शर्माले भन्नुभयो, ‘अब यसै विधेयकका लागि अर्को बैठक बस्नुपर्ने छैन । ’
गृहमन्त्री शर्माले हाल विपद् आइपरेको स्थानमा उद्धार तथा राहत वितरण कार्य तीव्र पारिएको जानकारी दिँदै कामलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई एक रात घटनास्थलमै बस्न निर्देशन समेत दिएको बताउनुभयो ।  उहाँका अनुसार विपद्बाट घरबारविहीन बनेकाहरूलाई प्रारम्भिक राहत स्वरूप तत्काल १० हजारदेखि २५ हजार रुपियाँसम्म आर्थिक सहायता उपलब्ध गराइएको छ ।  विपद् व्यवस्थापनका लागि कानुन नहुँदा विभिन्न प्राकृतिक प्रकोपमा पर्ने जनताको समस्या उचित ढङ्गले सम्बोधन हुन नसकेको औँल्याउँदै सांसदहरूले अघिल्लो सरकारहरूको पालामा जस्तो यसलाई रोक्न नहुने बताउनुभएको थियो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना