च्यातिएका मतपत्रको पोको खुलेन

नारायण काफ्ले

काठमाडौँ, असार २४ गते ।  भरतपुर महानगरको वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादको छिनोफानो सर्वोच्च अदालतले शुक्रबार पनि गर्न सकेन ।  अदालतको आदेशानुसार च्यातिएका मतपत्रसहितका सम्पूर्ण मिसिल असार १३ गते इजलासमा पेस भए पनि विवादको छिनोफानो भने लम्बिएको छ ।  
च्यातिएको मतपत्रको पोको शुक्रबार पनि सर्वोच्चको इजलासमा खुल्न नसकेपछि कम्तीमा पनि आउँदो सोमबारसम्म भरतपुर प्रकरणको अन्तिम निर्णय आउने छैन ।  शुक्रबार मुद्दाको सुनुवाइको पेसी न्यायाधीशद्धय मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा तोकिए पनि सुनुवाइको पालो आएन ।  पालो नआएपछि मुद्दा हेर्न नभ्याइने सूचीमा प¥यो ।  सर्वोच्च प्रशासनले मुद्दाको पेसी आउँदो सोमबारका लागि तोकेको छ ।  
जेठ १४ गते मध्यरातमा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थगित गरेको थियो ।  निर्वाचन आयोगले उक्त प्रकरणको स्थलगत छानबिनपछि वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।  निर्णयविरुद्ध वडा नम्बर १९ मा एमालेका तर्फबाट उम्मेदवार समेत रहेका गुन्जमान विकले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।  यसअघि सर्वोच्चको असार ६ गतेको आदेश अनुसार च्यातिएका मतपत्र असार १३ गते अदालतमा पेस गरिएको छ ।  वडा नम्बर १९ मा ९० मतपत्र च्यातिएको निर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयको ठहर छ ।  
सर्वोच्चको आदेशअनुसार प्रमाणका रूपमा च्यातिएका मतपत्र पेस भएका हुन् ।  मतपत्रसँगै मुख्य निर्वाचन अधिकृतले मतगणना स्थगन गर्न गरेको निर्णय, भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल, घटनापछि प्रहरीको सञ्चारको प्रतिलिपि पनि पेस भएको छ ।  असार ६ गते कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले मतपत्र च्यात्नेविरुद्ध जिल्ला अदालत चितवनमा चलाएको मुद्दाको मिसिल पनि पेस गर्न आदेश दिएको थियो ।  आदेश अनुसारको मिसिल पनि सर्वोच्चमा पेस भइसकेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना