जब भानु घर पसे, जनजिब्रोमा बसे

binayak p dhitalविनायकप्रसाद धिताल

नेपाली साहित्यको प्रारम्भिक काल (१८९६–१९४०) का सर्वश्रेष्ठ कवि हुन् भानुभक्त आचार्य जो नेपाली भाषाको आदि कविका रूपमा सम्मानित छन् ।  उनी यसरी सम्मानित हुनुमा मूलतः सरल, सहज र श्रुति मधुर शैलीमा नेपाली भाषामा कविता लेखनको आधारभूभि तयार पार्ने पहिलो स्रष्टा भएर नै हो ।  हुन त उनको आदि कविको पदवीमा विवाद नभएको होइन ।  त्यस बेलाको अशिक्षित, संकीर्ण र अज्ञानताको तुवाँलोले ढाकिएको नेपाली समाजमा भानुभक्त साँच्चिकै “भानु” भएर उदाएका थिए ।  संस्कृतको बहुल प्रयोग नभएको चोखो नेपाली भाषामा लेखिएको भानुभक्त रामायण हातमा लिएर ।  छोटै समयमा उनी निरक्षर नेपालीका घर घरमा पसे, नेपाली जनजिब्रोमा बसे ।  देशकालको सीमालाई नाघेर आज उनी विश्वभरी छरिएर बसेका नेपालीहरूमाझ अत्यन्त सम्मानित आदिकविको रूपमा उपस्थित छन् ।  नेपाली जनतालाई भावनात्मक रूपमा निकट तुल्याउने उनको योगदान सदैव अविस्मरणिय रहनेछ ।
घनञ्जय आचार्य र धर्मावतिका एकल पुत्रका रूपमा वि.सं. १८७१ असार महिनाको २९ गते गण्डकी अञ्चल तनहूँ जिल्लाको चुँदी रम्घा गाँउमा भानुभक्तको जन्म भएको हो ।  घनञ्जय आचार्यले सूर्यको उपासना गर्दा छोरा जन्मिएकाले सूर्यभक्तको आशीर्वादका रूपमा उनलाई भानुभक्त अथवा सूर्यका भक्त भनिएको पाइन्छ ।  अक्षरारम्भको सुरुवाती समयदेखि नै पढाइ लेखाइमा निकै चलाख देखिँदा उनलाई हुने विरुवाको चिल्लो पात भनिन्थ्यो ।  भानुभक्तले हजुर बाबा श्री कृष्ण आचार्यबाट प्रारम्भिक शिक्षा प्राप्त गरी उच्च शिक्षाको निमित्त काशी वाराणशीको गुरुकुलमा सामेल भए ।  बाल्यावस्थामा चाखिलो भई लुटपुटिएका र विद्याको ज्योति समेत हजुर बाबाबाट नै पाएकाले आफ्नो परिचय दिँदा उनी म “श्री कृष्ण आचार्यको नाति हुँ” भनी परिचय दिन्थे ।  हजुर बाबाबाट प्रभावित र अनुशासित भएका भानुभक्त कालान्तरमा विश्व साहित्यको क्षेत्रमा परिचित हुँदै नेपाल राष्ट्रका राष्ट्रिय विभूति र आदि कविका रूपमा स्थापित भए ।  धर्म, दर्शन, अध्यात्म, पुराण ज्योतिष, कर्मकाण्डका विषयमा ज्ञान पाएका उनले अध्यात्म रामायण, बाल्मीकि रामायण लगायत अन्य रामायण, रामचरित मानस, गीता, महाभारत आदिका अध्ययनमा संस्कृत भाषाको ज्ञान र गुढ अर्थलाई अधिकांश नेपालीले नबुभ्mने हुनाले नेपाली भाषामा नै कविता लेख्ने प्रण गरेर संस्कृतमा लेखिएका कृतिहरूलाई नेपाली भाषामा उल्था गरे ।
संस्कृतमा बहुचर्चित दुई रामायण बाल्मिकि रामायण, आध्यात्म रामायणमा भानुभक्तले  नेपाली भाषामा अनुवाद गरेका आध्यात्म रामायणमा भगवान् रामको र वाल्मिकि रामायणमा मानव रामको वर्णन छ ।  भाषागत दृष्टिमा भानुभक्तभन्दा पहिलेका पद्य कविहरू सुवानन्द दास, राधा लल्लभ अज्र्याल, शक्तिबल्लभ आदिका कृतिको तुलनामा भानुभक्तीय रामायण निकै उच्च कोटीको मानिएको छ ।  त्यसमा पहिलोपल्ट नेपाली भाषाको सरल र सरस स्वाद चाख्न पाइन्छ ।  त्यसैले साना साना झुपडीदेखि दरबारसम्म उक्त रामायण रुचीपूर्वक पढ्न थालियो ।  निरक्षर व्यक्तिहरूले समेत श्रुति परम्पराबाट मुखाग्र गरे ।  नेपाली समाजका विभिन्न उत्सव र संस्कारमा रामायणका श्लोकको जुहारी नै चल्थ्यो ।  मृत्यु संस्कारमा समेत “राम नाम सत्य हो” भन्ने भावनाले स्थान पायो ।  रामायण पढ्न नै धेरैले अक्षर जान्न रुचाए ।  नेपाली परिवेश र बोलचाल अनुकूलको भाव त्यहाँ पाइन्छ ।  राम कथालाई नेपाली संस्कृति र परम्पराअनुसार हृदय स्पर्श हुने गरी प्रस्तुत गरिएको छ ।  त्यसमा क्लिष्टताको गन्ध कतै आउँदैन ।  राष्ट्रिय सन्दर्भमा टुक्राटुक्रा र बाइसे चौबिसे राज्यमा विभाजित राष्ट्रलाई एउटै मालामा एकिकृत गर्ने थालनी पृथ्वी नारायण शाहले पूरा गरेझैँ भानुभक्तले नेपाली भाषाको माध्यमबाट विभिन्न जातिमा छरिएका नेपालीलाई एकिकृत गरेर नेपाली जातिको पहिचान र परिचय दिए ।
अध्यात्म रामायणलाई नेपाली भाषामा अनुवाद गरिएको भानुभक्तीय रामायण भनी नाक खुम्चाए पनि उक्त कृति पूरापूर अनुवाद मात्र नभई मौलिक ग्रन्थका केही श्लोक र पाठलाई केही छाँटकाँट गरी मूल ग्रन्थको भावना चाँहि पूरै समेटिएको कृति हो ।  उक्त सरल सुबोध नेपाली कृतिले सुषुप्त अवस्थामा रहेका नेपाली जनजीवनलाई झकझकाएर भक्तिमार्गमा लाग्न आस्थावान र कर्मयोगी बन्न प्रेरणादायी भूमिका खेलेको देखिन्छ ।  कुनै कुनै राष्ट्र भाषाविवादमा फसेर टुक्रिएका, छिन्नभिन्न भएका, गृहयुद्धमा पिल्सिएका यथार्थता इतिहासमा उल्लेख पाइन्छन् ।  तर भानुभक्तकै देनले नेपालमा त्यो स्थिति देखापरेन, बल्झिएन ।  यदाकदा कुनै भेगमा जातीयता, भाषाको विषयमा सामान्य विवाद भए पनि राष्ट्रभाषाको रूपमा नेपाली भाषाको महìव र मान्यताका बारेमा कुनै मतभेद छैन ।  
    भानुभक्त रामायणको पहिलो श्लोक नै “लोकको गरौँ हित भनी” भन्ने वाक्याशबाट शुरु भएको छ ।  यसबाट समाज र राष्ट्रप्रतिको दायित्व बोध उनमा प्रबल रूपमा रहेको कुरा प्रस्ट गर्दछ ।  नैतिक मूल्य र मान्यतामा आधारित आदर्श समाजको आदर्श समाज सेवा कर्तव्यबोध र उत्तरदायित्वले ओतप्रोत भएको भावना व्यक्त हुन्छ रामायणमा ।  लोक हितका सन्दर्भमा सबल पक्ष नै त्यही हो ।  समाजलाई आदर्शोन्मुख गराउने भानुभक्त प्रेरक तìव थिए ।  हुन पनि भानुभक्तका बारेमा जति किताब लेखिए त्यसमा उनलाई प्रायः प्रेरक व्यक्तित्वकै चर्चामा राखिएको छ, त्यसैलाई नै लोकको हितको प्रसङ्गमा राख्न सकिन्छ ।  नेपाली साहित्यको प्राथमिक कालमा सुगौली सन्धिका कारण तत्कालीन नेपाली समाज भौगोलिक र मानसिक रूपमा खुम्चिएको थियो ।  त्यसको समाधानको निमित्त देशका जनतालाई एकत्रित गराई देशको संगठन सुदृढ र सक्रिय बनाउन रामायणको ठूलो देन रहेको तथ्यलाई विद्वत वर्गले मनन गरेकै छन् ।  
विषयगत ज्ञान र विशेषताको चर्चा गर्दा पद्यमय कविताको माध्यमबाट वर्णन गर्न सक्ने कला र क्षमतामा उनी दख्खल थिए ।  तनहुँ जिल्लाको गाँउबाट शहर आँउदा काठमाडौँको बालाजु देखेर त्यहाँको सुन्दरताको वर्णन गर्नु कान्तिपुरका नरनारीमा रीस राग छलकपट नभएको अनुमान गरी इन्द्र महाराजको अमरावती नगरमा तुलना गर्नु, मानिसले मानिसलाई अमानवीय, तुच्छ, निकृष्ट व्यवहार गर्ने मनस्थितिकी गजाधर सोतीकी बुढीलाई लक्ष्य गरी लेखिएको श्लोक, उमेर ढल्की सकेका पाल्पाका एक पुरुषसुब्बाले विहे गर्न खोज्दा उनलाई “उल्लु” सम्बोधनले कविताबाटै सम्झाउनु,  प्रशासनिक अवस्थामा देखिएका विकृतिहरूमा कर्मचारीलाई उँडुस उपिँयासँग तुलना गर्नु भानुभक्तको समाज र राष्ट्रप्रतिको चिन्तन नै हो ।  
भानुभक्तका अन्यफुटकर कवितामा व्यङ्ग चेतना प्रबल रूपमा रहेको पाइन्छ ।  प्रशासनिक अङ्गमा “भोलि” भन्दै आलेटाले गर्ने प्रवृत्ति र अन्यायको विरुद्ध व्यङ्गात्मक झटारो हान्दै लामखुट्टे, उपियाँ, उँडुसको साथमा उनीहरूकै नाच हेर्दछु भन्नु, भित्री तहमा भ्रष्टाचारीलाई सङ्क्रामक किरासँग तुलना उनले गरेका छन् ।  “कि ता सक्दिन भन्नु कि त छिनिदिनु क्यान भन्छन् यी भोलि ” भनी सरकारी कार्य प्रणाली प्रति असन्तोष व्यक्त गर्दै छिटो छरितोको सुशासन चलाउन सुझाव दिएका छन् ।  घनञ्जय आचार्य पाल्पा अड्डामा कार्यरत हुँदा आर्थिक हिनामिना गरेको आरोप र हिसाब फछर्याैट गर्न नसक्दा कार्यभारबाट मुक्त हुन परेको र उनलाई लागेको आरोपको छिनोफानो नहुँदासम्म कारागारमा नै रहनुपर्दा कारागारका कैदीहरूलाई रेखदेख र उनिहरूको सन्चो विसन्चोको बयानलिँदा भानुभक्तले तत्काल मौखिक जवाफ दिएका बखतको श्लोक हो ।  
भानुजयन्ती नेपालका मौफसलका जिल्लाहरूमा र काठमाडौँका सबै शिक्षण संस्थामा रामायणको पाठ गर्नुका साथै भानुभक्त माथि केन्द्रित भएर विभिन्न लेखरचना प्रकाशित भएको देखिएको छ साथै नेपाल बाहिर सिकिम, आशाम, दार्जिलिङ, बर्मा, भुटान, आदिमा अद्भुत सांस्कृतिक रूपमा मनाइएको पाइन्छ ।  वि.स.०६७ को १९६ औँ भानुजयन्तीमा सिक्किमका शहरहरूमा त्यहाँका नरनारीले भानुजयन्ती विशेषका पहिरन लगाइ गीत गाउँदै शहर परिक्रमा गर्दा तत्कालिन सांस्कृतिक मन्त्री सोनाम ग्याल्बु लेप्चा र उपस्थित साहित्यप्रेमीहरूले“ यो अद्भुत सांस्कृतिक इन्दे्रनी” भनेर उदगार व्यक्तगरेका समाचार प्रकाशित थियो ।
भानुभक्तको योगदान र महिमाको विशेष कदर हँुदाहुँदै कुनै कार्यकालमा भानुभक्त, लक्ष्मीप्रसाद देवकोटा, पृथ्वीनारायण शाह आदिका सालिक तोड्ने ध्वंसात्मक प्रवृत्ति फैलिएका थिए ।  यस्ता अनैतिक अभद्र व्यवहार गर्ने प्रति चाँहि, कठै विचरा भानुभक्त !! भन्ने भावना उर्लिइ मन कुँढिन जान्छ ।
भानुजयन्तीको उपलक्ष्यमा भानुभक्तका बारेमा जेजति सकारात्मक कुराहरू प्रकाशमा आँउछन् सिधासाधा जनतालाई दुःख दिन झुलाउन नहुने र न्याय प्रशासन छिटो छरितो शुद्ध हुनको निमित्त मिश्रित सन्देश “कि त छिनिदिनु भन्ने वाक्यांश बाट दर्शाएका छन् ।  उनका कृतिहरूमा धार्मिक, न्यायिक, कर्तव्यपरायण, आदर्शमय नैतिकवान, समाज निर्माण गर्ने कला र प्राज्ञिक अनुशासनका पुट पाइन्छ ।  विसन्चोको बयान लिँदा भानुभक्तले तत्काल मौखिक जवाफ दिएका बखतको श्लोक हो ।
    भानुभक्तका विभिन्न कृतिलाई नेपालका विविध जातिले आ–आफ्नो भाषामा र हिन्दी, बङ्गला, आसामी मैथिली आदि भाषामा अनुवाद भएका छन् ।  साथै डा. जयराज आचार्य, डा. प्रयागराज पण्डित, राधिका प्रधान समेतले अङ्ग्रेजी भाषामा समेत आंशिक उल्था गरेका छन् ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना