निर्वाचनपछि मधेशको मनोविज्ञान

beni bdr karkiवेनीबहादुर कार्की

तीन महिना लगाएर भएको पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनले जनचाहना छर्लङ भएको छ ।  पहिलो चरणमा प्रदेश ३,४,६ का २८३ स्थान र दोस्रो चरणका १, ५ र ७ प्रदेशका ३३४ स्थानमा भएको निर्वाचन ढिलै गरी गरिएको भए पनि संवैधानिक बाध्यताले यी चुनाव गरिएको भन्नेमा दुई मत छैन ।  नेतृत्वको स्वार्थ र कमजोरीका कारण यसो गरिएको भए पनि नेपाली जनता भने चुनावका लागि व्यग्र थिए भन्ने प्रमाण यस्तो वर्षा र खेतीको व्यस्त समयमा समेत ७३ प्रतिशतभन्दा मतदाताको सहभागिताले देखाएको छ ।  यति गर्दा पनि भरतपुरको परिणाम नहुनु र नतिजा आउन धेरै दिन लाग्नु निर्वाचन आयोगको कमजोरी हो ।  यी दुवै चुनावले एमालेलाई पहिलो दल दोस्रोमा काँग्रेस र एमाओवादी तेस्रो बनाएको छ ।  यती हुँदा पनि प्रदेश नं.२ को चुनावपछि एक मतले भए पनि काँग्रेस नै पहिलो दल हुन्छ भन्ने पनि छन् ।  अरू दलको क्रम जे भए पनि गन्ती गर्न लायक मत पाउन भने सकेनन् ।
जे जसरी भए पनि निर्वाचन भएको क्षेत्र र स्थानमा राम्रै भयो ।  प्रदेश नं. २ भने अनकन्टारको टापु बनेको छ ।  यहाँको बहुसङ्ख्यक जनतालाई असार १४ मै यो प्रदेशमा पनि निर्वाचन गराउनु पथ्र्याे भन्ने रहेको छ ।  सरकारले दोस्रो चरणमा एकै साथ निर्वाचन गराएको भए अन्य प्रदेशझै यस प्रदेशमा पनि निर्वाचन हुने थियो ।  जसरी अन्य क्षेत्रमा निर्वाचन गराउँदा त्यहाँका आमजनताले मत दिए त्यसरी नै यहाँका जनता पनि मत दिन आतुर छन् ।  दशैँको मुखमा असोज २ मा निर्वाचन हुन्छ हुँदैन ? त्यो मितिमा पनि भएन भने के हुन्छ भन्ने शङ्काले यहाँका जनता चिन्तित छन ।  जनभावना विपरीत निर्वाचन सारेर सरकारले गलत गरेको भनाइ आम रूपमा रहेको छ ।  यसरी निर्वाचन सारेर नेतामुखी र जनताको भावना विपरीत काम भएको छ ।  
प्रदेश नं. २ मात्र मधेश होइन ।  राजपाको भनाइअनुसार पनि झापादेखि नेपालगन्जसम्म नै मधेश रहेको छ ।  यस अर्थमा अन्यत्रको मनोविज्ञान यस क्षेत्रमा पनि लागू हुनु स्वाभाविक हुन्छ ।  अहिले समग्रमा आम नेपालीको चाहना निर्वाचन हो ।  नेताले जनतामाझ लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउन सक्नु पर्छ ।  यसो गर्न नसकेमा जनताले भोट दिन्छन् नै भन्ने छैन ।  हालै भएको दुवै निर्वाचनले यो कुरा पुष्टि गरेको छ ।  दलले जस्तो उम्मेदवार दिए पनि जनताले चुनाव चाहेकै हुनाले ज्येष्ठ नागरिक मात्र नभएर सय वर्ष नाघेका वृद्ध, अपाङ्ग र बिरामीसमेत निर्वाचनमा सहभागी भएकाले मतदानमा जनताको सहभागिता उर्लिएको हो ।  
यही भावनालाई दृष्टिगत गरेर राजपाको नेतृत्वले पनि मध्यमार्गी बाटो अवलम्बन गरेर बुद्धिमानी काम गरेका छन् ।  दोस्रो चरणको निर्वाचनको दिन आफू कोठाभित्र कैद भए पनि जनता र कार्यकर्तालाई मतदानमा सहभागी हुन दिएका छन् ।  यही भएर राजपाका नेता, कार्यकर्ताले स्वतन्त्रमा उम्मेदवार भएर पनि गाविस अध्यक्षमा विजयी भएका छन् ।  यसअर्थमा तै चुप मै चुपको नीति उपयुक्त हुनेछ ।  कारबाहीको बाटो अवलम्बन गरेर आफ्नो आंँग कन्याउनुसरह हुनेछ ।  जुनसुकै नेता र दलले राजनीति गर्नु भनेकै जनताका लागि नै हो ।  आजको २१ औँ शताब्दीमा जनभावना बुझेर राजनीति गर्नु अति नै आवश्यक हुन्छ ।  नत्र जनता आफ्नो धारमा अर्कै तर्फ जानेछन् र नेता भने बढारिएर एक्लै पर्ने हुन्छ ।  यसो भएकाले राजपा मात्र होइन काँग्रेस, एमालेसमेत सबै दलले जनभावनाअनुसार हिँड्न अनिवार्य छ ।  अन्यथा न नेता होइन्छ, नत निर्वाचन नै जितिन्छ ।  अब राजनीति गर्ने हो भने सबै नेताले यो यथार्थ हेक्का राख्नै पर्छ ।  
अब प्रदेश नं. २ को निर्वाचन गर्ने सम्बन्धमा जनताले धेरै टाउको दुखाई रहन आवश्यक छैन ।  चुनावको दिन व्यापक सहभागिता जनाए मात्र पुग्छ ।  यो प्रदेशमा निर्वाचन गराउन नेता, दल र स्वयं सरकारको टाउको दुखाइको विषय बनिसकेको छ ।  यही भएर राजपाले पनि आफ्नो दल दर्ता गर्ने तयारी गरेको हुनुपर्छ ।  सत्ताधारी काँग्रेस र एमाओवादीले निर्वाचन आयोगबाट निर्वाचन तालिका मगाएको हुनुपर्छ ।  प्रतिपक्षी एमाले पहिलेदेखि निर्वाचनकै पक्षमा थियो र अहिले पाएको जितअनुसार जतिसक्दो चाँडै प्रदेश नं. २ मा पनि निर्वाचन गराएर सबैभन्दा ठूलो दल बन्ने सुरमा हुने नै भयो ।  जजसको जे सुर भए पनि निर्वाचन आयोगले दिएको तालिकाअनुसार असोजको अन्तिम सातामा प्रदेश कात्तिकमा राष्ट्रिय सभा र मङ्सिरको पहिलो सातामा संसद्को निर्वाचन गराउनैपर्ने भएको छ ।  त्यसैले राजपा समेतका सबै दलले निर्वाचन नगर्ने होइन, समयमै निर्वाचन गराएर जनताको चाहनाअनुसारको काम गरेर निर्वाचन जित्ने तारतम्मेतर्फ लाग्नु बुद्धिमानी हुनेछ ।  
यही भएर संसारको जुनसुकै राजनीतिक प्रणालीलाई जनता कै समर्थन आवश्यक पर्छ ।  यही समर्थन लिनलाई नै निर्वाचन गरिन्छ ।  नेपाली जनता पनि अब हिजोका जनता रहेनन् ।  विगत ७६ वर्षदेखि धेरै ठूला ठूला सङ्घर्ष गरेर गणतन्त्र ल्याएका जनता हुन् ।  यो कुरा हालै सम्पन्न दुवै निर्वाचनमा दिएका मतले देखाएको छ ।  गाउँमा मात्र होइन, नगर, उपमहानगरमा समेत ठूला भनिएका दललाई उछिनेर स्वतन्त्रका उम्मेदवारले निर्वाचन जिते र यसबाट के देखियो भने नेताले जसो भन्यो उसै लौ भन्ने मानसिकतामा अब जनता छैनन् ।  नेतालाई नै डो¥याउन सक्ने क्षमता भएका जनता भइसकेका छन् ।  अनि जनता सधैँ एउटैका हँुदैनन् ।  यस अर्थमा मधेश राजपाको नहुन सक्छ ।  मधेशमा काँग्रेसले आफ्नो किल्ला नठाने हुन्छ ।  ढङ्ग नपु¥याए एमाले बडारिन बेर लाग्दैन ।  एमाओवादीले आफ्नो लालकिल्ला भनेको क्षेत्र यसपटक सुरक्षित देखिएन ।  ।  
समग्रमा अबका नेपाली जनता तीक्ष्ण बुद्धि भएका अक्सफोर्डमा टप गरेका र सिङ्गापुर र विकसित मुलुकमा कोइलाबाट हीरा बनाउन सफल नेताजस्तै नेता हुनुपर्ने चाहना राख्छन् ।  नपढेका, पढन नसकेका वा बल्ल तल्ल पास मात्र गरेका स्वार्थी र सोच्न सक्ने क्षमता नभएका नेता किमार्थ चाहदैन ।  अब जनताले आफ्नो चाहनाअनुसारका नेता जन्माउने बेला आइसकेको छ ।  जनताको चाहना विपरीतका नेताको दिन गिन्ती हुने बेला भइसकेको छ ।  त्यसैले यता उताका कुरा हुँदै होइन ।  खुरुक्क सरकारले तोकेको र निर्वाचन आयोगले दिएको कार्यतालिकाअनुसार सबै तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गरौँ ।  यसो गरे मात्र नेपालको सङ्कट र सङ्क्रमण दुवै टर्छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना