जुम्लामा स्याउको हाइटेक नर्सरी

apple_2खलङ्गा, असार २६ गते ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जुम्लामा स्याउका बिरुवा उत्पादन गर्न हाइटेक नर्सरी सुरु गरिएको छ ।  चन्दनाथ नगरपालिका–९ का रतनवहादुर रावत र अमर रावतसँग नर्सरी उत्पादका लागि सम्झौता गरिएको वरिष्ठ कृषि विकास अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।  जुम्लालाई अझै धेरै बिरुवाको आवश्यकता हुनुका साथै अन्य जिल्लामा गुणस्तरीय बिरुवा निर्यात गर्ने उद्देश्यका साथ तीनवटा हाइटेक नर्सरी घर बनाइने उहाँले बताउनुभयो ।  
नर्सरी निर्माणका लागि अहिले उहाँहरूले सम्झौता गर्नुभएको छ ।  अबको दुई वर्षमा एक नर्सरीबाट करिब ७५ हजारदेखि एक लाखसम्म  बिरुवा उत्पादन हुने भएको परियोजनाले जनाएको छ ।  सो नर्सरीबाट उत्पादन भएको बिरुवाबाट करिब २० देखि ३० केजी स्याउ फल्ने अनुमान गरिएको छ ।  जुम्लामा योभन्दा पहिला जिल्ला कृषि विकास कार्यालयअन्तर्गत स्वीकृत गरिएका नर्सरीमार्फत पनि बर्सेनि बिरुवा उत्पादन हुने गरे पनि अपुग हुने गरेका थिए ।  
हाइटेक नर्सरी तयार भइरहेको छ, नर्सरीधनी अमर रावतले बताउनुभयो ।  उहाँले हिजोका स्याउका बिरुवाभन्दा केही फरक तरिकाले गुणस्तरीय बिरुवा उत्पादनमा जोड दिन यो कार्यक्रमले विशेष सीप दिएको र जुम्लालाई आवश्यक बिरुवा उत्पादनमा प्रयास भइरहेको बताउनुभयो ।  उहाँले सत्र खम्बा फलफूल नर्सरीअन्तर्गत सो काम गर्दै हुनुहुन्छ ।  यसैगरी नर्सरी कृषक रतन रावलले गत वर्ष वार्षिक १६ हजार स्याउका बिरुवा उत्पादन गर्नुभएको थियो ।  यसैगरी प्रतिबिरुवा रु. ४० का दरले बिक्री भइरहेको थियो ।  यस वर्ष जिल्ला कृषि विकास कार्यालयमा दर्ता भएका नर्सरीबाट करिब एक लाख बिरुवा बिक्री भएका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भरत कँडेलले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना