मुलुकले सधैँ सम्झिरहने नेता

 gorkarnaगोकर्ण अर्याल
   

 

यही असार १८ गते नेपाली राजनीतिका शिखर व्यक्तित्व गिरिजाप्रसाद कोइरालाको जन्म तिथि ।  यस दिनलाई कतिले कुन रूपमा, कसरी सम्झे त्यो आ–आफ्नो ठाउँमा होला ।  यस संसारबाट उहाँको भौतिक शरीरबिलीन हुनुभएको आठ वर्ष बितिसकेको छ तर अहिले पनि मुलुकमा राजनीतिक सङ्कट देखापर्दा, दलहरूले सही निर्णय लिन नसक्दा, मुलुकको अपेक्षाअनुरूप विकास निर्माण हुन नसक्दा उहाँको अभाव महसुस हुने गरेको छ ।  यो अभाव र रिक्तताको महसुस उहाँले नेतृत्व गरेको राजनीतिक दल नेपाली काँग्रेस र त्यस निकट रहेका व्यक्ति र समूहमा मात्र होइन, उहाँका कट्टर विरोधीमा समेत हुने गरेको पाइन्छ ।  के थियो गिरिजाप्रसादमा त्यो अद्भूत गुण र क्षमता ? किन उहाँको अभाव ठानिँदैछ ? यतिबेला उहाँको सक्रिय राजनीतिक जीवनमा दिएको धोकाप्रति पश्चात्ताप पनि गरिँदैछ ।  वास्तवमा गिरिजाबाबुको राजनीतिक जीवन दर्शनलाई सूक्ष्म रूपमा अध्ययन गर्ने जो कोहीले उहाँलाई ठूलो राजनीतिक चिन्तक, विचारक वा दार्शनिक व्यक्तित्वको रूपमाभन्दा पनि वर्तमानलाई हेरेर निर्णयमा पुग्ने यथार्थ र व्यवहारवादी नेताको रूपमा पाएको छ र पाउन सक्छ ।  उहाँमा रहेको यही यथार्थ सोच र चिन्तनले मुलुकमा धेरै ठूला परिवर्तन सम्भव भएका छन् ।  जीवनमा कुनै नीति, दर्शन र सिद्धान्त पढेर उहाँले राजनीति गर्नुभएन ।  उहाँले सधैँ फिल्डलाई हेरेर राजनीति गर्नुभयो ।  यसैकारण राजनीतिक जीवनभर कट्टर दुस्मन ठानेको शक्ति कम्युनिस्टसँग मिलेर राजसंस्थालाई सदाका लागि बिदा गर्न तयार हुनुभयो ।  उहाँकै अगुवाइमा भएको त्यस जनआन्दोलनले सशस्त्र विद्रोहमा रहेको माओवादीलाई शान्ति प्रक्रियामार्फत राजनीतिको मूलधारमा ल्यायो ।  उहाँको यो अभियानले मुलुकलाई थप रक्तपात हुनबाट जोगायो र कैयौँ दिदीबहिनी विधवा हुनबाट जोगिए र कैयौँ बालबालिका टुहुरा हुनबाट रोकिए ।  यसै कारण आज मुलुक शान्तिको बाटोमा अगाडि बढ्न पाएको छ ।  
गिरिजाप्रसादको राजनीतिक जीवनलाई सतही रूपमा बुझ्नेले उहाँलाई हठी र अहङ्कारी व्यक्तिका रूपमा लिन सक्छन् तर उहाँमा रहेको यही दृढता र विश्वासले देशमा धेरै ठूला परिवर्तन सम्भव भएको छ र मुलुकलाई धेरै क्षति हुनबाट जोगाएको छ ।  उहाँमा रहेको यस किसिमको अदम्य साहसले २४० वर्षे निरङ्कुश राजसंस्थाको अन्त्य गराएको छ ।  यसबाट मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै नेपाली जनता सार्वभौम सम्पन्न बनेका छन् ।  यसरी जीवनमा कुनै सुख र पारिवारिक मोह नराखी नागरिक अधिकार र स्वतन्त्रताका लागि सङ्घर्ष गर्नुभएका कोइराला स्वयम्ले चार–चार वटा राजाका विरुद्ध लडाइँ गर्नुभयो ।  उहाँको यो नैतिक साहसलाई नेपाली जनताले पटक–पटक सलाम र उच्च सम्मान गरेको छ ।  तत्कालीन राजा ज्ञानेन्द्रको ‘कू’ पछि कतिपय दलका नेता राजाले बनाएको सरकारमा समेल हुनपुगे तर गिरिजाबाबु भने त्यसको विरुद्ध सडक सङ्घर्षमा उत्रिनुभयो ।  गणतन्त्र स्थापनाको सूत्रका रूपमा संसद् पुनःस्थापनालाई आफ्नो मुख्य एजेन्डा बनाउनुभयो ।  धेरैले विश्वास गरेका थिएनन्, संसद् पुनःस्थापना हुन्छ भनेर तर उहाँले आफ्नो एजेन्डा सफल बनाई छाड्नुभयो ।  यही राजनीतिक अठोट र दृढताका कारण उहाँ राजनीतिको शिखर चुम्नुभयो ।  जस्तोसुकै प्रतिकूल परिस्थितिका बाबजुद पनि आफ्नो विचार र दृष्टिकोणबाट पछि नहट्ने कोइरालालाई पञ्चायत सरकारले समेत धेरै किसिमको यातना र कष्ट दिइरह्यो ।  उहाँमा रहेको यही दृढता र अठोटलाई सहन नसकेर निरङ्कुश व्यवस्थाले पटक–पटक हत्या गर्ने प्रयास गर्दा समेत त्यसबाट अलिकता पनि विचलित नभई आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने मिसनमा लागि रहनुभयो ।  
देश र जनताका समस्यालाई नजिकबाट अनुभूत गर्ने नेता हुनुहुन्थ्यो गिरिजाप्रसाद ।  अहिले पनि धेरैको मन मस्तिष्कमा उहाँ छाइरहनुभएको छ ।  समाजका कैयौँ असहाय, अनाथ बालबालिका, महिला, वृद्धका सहयोग र साथमा गिरिजाबाबुको जीवनका पक्ष जोडिएका छन् ।  समाजका यस्ता धेरै ठाउँका समस्यालाई उहाँले नजिकबाट अनुभूत गर्नुभएको थियो ।  आफूले देशको नेतृत्व गरेपछि यस्ता समस्यालाई प्राथमिकतामा राखेर निराकरण गर्नेतर्फ लाग्नुभयो ।  देश र जनता बुझेको नेता हुनाले नै उहाँले आफ्नो पहिलो प्रधानमन्तृत्वकालमा मुलुकको विकास निर्माण र पूर्वाधार विकासमा जोड दिनुभयो ।  शिक्षा, स्वास्थ्य, सञ्चार र यातायातको विकासबाटै देशको विकास सम्भव हुने र मुलुकको गरिबी यसैबाट समाधान गर्न सकिन्छ भन्ने सूत्र उहाँले तय गर्नुभएको थियो ।  कोइरालाको यही सोच र चिन्तनले आज यी क्षेत्रको विकास र प्रगति सम्भव भएको कुरामा सायद कसैको विमति रहँदैन ।  उहाँले आफ्नो पहिलो प्रधानमन्त्रित्व कालमा कुल विकास बजेटको ७१ प्रतिशत बजेट गाउँको विकासमा छुट्याउन लगाउनुभयो ।  गाउँमा यस किसिमको बजेट पुगेपछि एक गाग्री पानीको लागि घण्टौँ हिड्नुपर्ने कैयौँ आमा, दिदीबहिनीले आफ्नै घर–आँगनमा खानेपानीको धारा पाए, सामान्य औषधिमूलो नपाएर अकालमा ज्यान गुमाउन पुगेका कैयौँ ठाउँका मानिसले गाउँघरमै सामान्य भए पनि स्वास्थ्य सेवा पाउन थाले ।  विद्यालयको मुख नदेखेका कैयौँ बालबालिकाले किताबकापी च्यापेर स्कुल जाने अवस्था आयो ।  यातायातविहीन गाउँ–बस्तीका बासिन्दा सडक यातायात खुलेपछि दङ्ग मात्र बनेनन्, यसलाई आफूसँग भएको सीप र क्षमताको उपयोग गर्ने अवसरका रूपमा समेत लिए ।  सञ्चारको विकास त्यही रूपमा भयो ।  
यतिबेला यी सबै क्षेत्रको विकासमा उल्लेख्य प्रगति भएको छ ।  यसको श्रेय नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसादमा नै जान्छ ।  गाउँघरको मुहार परिवर्तनका लागि कोइराला सक्रिय रहेका कारण उहाँप्रति आमनेपालीको आस्था र विश्वास बढेको हो ।  राजनीतिक जीवनको उत्तराद्र्धमा उहाँले शुरु गर्नुभएको अभियान शान्ति र संविधानको मिसन पनि पूरा भएको छ तर यतिबेला दलहरू साना मसिना विवादमा अल्झिएर मुलुकलाई अनिर्णयको बन्दी बनाएको देख्दा गिरिजाबाबुको याद गर्ने धेरै छन् ।  सायद उहाँ भइदिएको भए राजनीतिक बेथितिको अन्त्य चाँडै हुन्थ्यो होला ।  अहिले संविधान कार्यान्यनको पक्ष सबैभन्दा चुनौतीपूर्ण बनेर रहेको छ ।  आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता छ ।  असोज २ सम्ममा स्थानीय तहको चुनाव सम्पन्न हुन्छ कि भन्ने आश छ तर राजपाले भाग लिने अवस्था बनेन भने त्यो चुनाव पनि सहज ढङ्गबाट होला भनेर विश्वास गर्न सकिन्न ।  अनि यो अवस्थामा प्रदेश, र केन्द्रीय सङ्घको निर्वाचन कसरी सम्भव होला ।  यसका लागि दलबीच समझदारीको खाँचो त छँदैछ, त्योभन्दा पनि ठूलो कुरो निर्वाचन क्षेत्र निर्धारण रहेको छ ।  अहिलेसम्म क्षेत्र निर्धारण आयोग बनेको छैन ।  त्यसमा पनि दलबीच सहज रूपमा समझदारी बन्ला भन्ने लाग्दैन ।  दलहरू आ–आफ्ना स्वार्थमा रहिरहने हो भने यी तोकिएको समयमा समाधान हुने लक्षण देखिँदैन ।  तसर्थ, यतिबेला गिरिजाप्रसाद कोइराला जस्तो देश र जनताको पक्षमा विचलित नभई उभिने एक्सन ओरेन्टेड नेताको खाँचो रहेको छ ।  गिरिजाबाबुको अथक सङ्घर्ष र अठोटले नै मुलुकमा धेरै ठूला परिवर्तन सम्भव भएको हो ।  यो परिवर्तनलाई संस्थागत गर्न पनि त्यही अठोट बोकेका नेताको जरुरी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना