अलैँचीका लागि आधुनिक गोदाम बनाउने तयारी

सुरेशकुमार यादव

काठमाडौँ, असार २९ गते ।  कृषि आधुनिकीकरणका लागि सरकारले गरेको प्रयासस्वरूप अलैंचीका लागि आधुनिक गोदाम घर (वेयर हाउस) निर्माण तथा सञ्चालनमा ल्याउने भएको छ ।  त्यसका लागि कृषि विकास मन्त्रालयले अलैंचीको वेयर हाउस व्यवस्थापन र सञ्चालन कार्यविधिसमेत जारी गरेको छ ।  
कृषि मन्त्रालयका सचिवस्तरीय निर्णयबाट यो कार्यविधि जेठ २४ गतेदेखि कार्यान्वयनमा ल्याइएको छ ।  एक प्रकारको गोदाम अर्थात् भण्डारण सञ्चालनको कार्यविधि नै हो ।  उत्पादन भएका अलैंची भण्डारण गर्ने, ग्रेडिङ गर्ने, तौल गर्ने तथा अलैंचीको पहिचान गर्ने कार्य सो वेयर हाउसले गर्नेछ ।  alaichi
यो वेयर हाउस झापामा स्थापना हुने भएको छ ।  महँगो मसला बालीका रूपमा चिनिएको अलैंची खेती पूर्वबाट अहिले पश्चिमतर्फ देशैभरि नै फैलिँदै गएकोे छ ।  
स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट विश्वबजारमा अलंैचीलाई  पहुँच दिन र आधुनिक एवं व्यवस्थित व्यवसायीकरणको माध्यमबाट  गुणस्तरीय, सुरक्षित, भरपर्दो र परिमाणात्मक प्रतिस्पर्धाका रूपमा अगाडि बढाउने कार्य अहिलेका लागि चुनौति बनेको छ, मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटले जानकारी गराउनुभयो ।  अलैंचीको वेयर हाउस निर्माण गरी व्यवस्थापन र सञ्चालन गर्न आवश्यक यो कार्यविधि ल्याइएको उहाँले उल्लेख गर्नुभयो ।  
मन्त्रालयले अलैंचीको वेयर हाउस सञ्चालन तथा व्यवस्थापनका लािग नेपाल अलैंची व्यवसायी महासङ्घको प्रतिनिधि संयोजक रहने गरी सात सदस्यीय एक समिति गठन गरेको छ ।  
सो समितिले व्यवसायीको संलग्नतामा झापा जिल्लाको उपयुक्त स्थानमा वेयर हाउस निर्माणका लागि पहल गर्ने कार्यविधिमा उल्लेख गरेको छ ।  
सो समितिले वेयर हाउसको सञ्चालनबाहेक  अन्तर्राष्ट्रिय बजारको चलनचल्तीको ग्रेड अनुसारको तौल, साइज, रङ, चिस्यान, गुणस्तर आदिको विशेषता र पहिचान  गर्ने, त्यसको पालनामा किसानलाई प्रोत्साहित गर्ने, बैङ्क तथा वित्तीय संस्थालाई ऋण उपलब्ध गराउनका लागि सिफारिस गर्ने कार्य सो समितिले गर्ने बताइएको छ ।
सरकारी तथा गैरसरकारी, निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी कार्यक्रम तर्जुमा गर्ने अधिकार सो समितिलाई पनि दिएको छ ।  
नेपाल सरकारको नीति, सम्झौता तथा शर्तको अधीनमा रही वैदेशिक मुद्रा आर्जनको स्रोतका रूपमा कार्य गरी यस वेयर हाउसको व्यवस्थापन र सञ्चालन गर्नुपर्ने साथै अलैंची भण्डारण र व्यवस्थापन गरेबापत समितिले तोकेबमाजिम रकम कृषक तथा व्यवसायीले समितिलाई बुझाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।  अलैंची भण्डारण गर्दा भण्डारण गरिएको अलैंचीको बीमा अनिवार्य हुनुपर्छ ।   
कृषि मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा १४ हजार दुई सय छ हेक्टर क्षेत्रफलमा अलैंची खेती हुनेगरेको छ ।  त्यसमा नेपालको कुल अलैंची उत्पादन र निर्यातको ९५ प्रतिशत हिस्सा पूर्वाञ्चल क्षेत्र रहेको  छ ।  आर्थिक वर्ष ०६८÷६९ मा अलैंची निर्यातबाट अहिलेसम्मको सबैभन्दा बढी  तीन अर्ब ४९ करोड विदेशी मुद्रा किसानले प्राप्त गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।  व्यापारीका अनुसार उत्पादित अलैंची भारतको सिलगुडी, अमृतसर र दिल्ली हुँदै तेस्रो मुलुक निर्यात हुने गरेको छ ।  अलैंचीलाई मसलाको परिकार, बिस्कुट, बेकरी, सुगन्धित तेल, रक्सी आदिमा प्रयोग गर्दै आएको छ ।  
विश्वमा सबभन्दा बढी अलैंची उत्पादन गर्ने देश नेपाल हो ।  त्यसपछि भारत, भुटान, बर्मा, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, लाओस, इण्डोनेसिया, इथियोपिया, ग्वाटेमाला, होण्डुरस आदि रहेका छन् ।  नेपालमा खेती गरिने अलैंचीको उद्गमस्थल सिक्किमलाई मानिएको छ ।  वि.सं. १८३० को दशकमा पहिलोपटक सिक्किमबाट इलाम जिल्लाको जोगमाई गाउँमा अलैंचीको बिरुवा ल्याई खेती सुरु भएको अलैंची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराईले जानकारी गराउनुभएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना