क्षेप्यास्त्र परीक्षणपछिको उत्तरकोरिया

Ram prashadरामप्रसाद आचार्य



 

उत्तरपूर्वी एसियाको सानो मुलुक उत्तरकोरियाले पहिलोपटक गरेको अन्तरमहादेशीय क्षेप्यास्त्रको सफल परीक्षणले विश्वमै नयाँ हलचल ल्याएको छ ।  यो परीक्षणलगत्तै दक्षिणकोरिया, जापान, अमेरिका र संयुक्त राष्ट्रसङ्घमा आपत्कालीन बैठक बोलाएर उत्तरकोरियाली नेतृत्वको कडा आलोचना गर्दै यो कदमले क्षेत्रीय र विश्व सुरक्षा नै खतरामा परेको ठहर गरिएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरकोरियाविरुद्ध सैन्य कारबाहीको विकल्प खुला गर्नुभएको छ भने दक्षिणकोरियाका राष्ट्रपति मुन जाय इनले उत्तरकोरियासँग शान्तिवार्ताको प्रस्ताव गर्नुभएको छ ।  
उत्तरकोरियाको सरकारी सञ्चारमाध्यमले यो क्षेप्यास्त्रको परीक्षणको सफलतासँगै अब उत्तरकोरियाले विश्वको जुनसुकै स्थानमा पनि क्षेप्यास्त्र आक्रमण गर्न सक्ने दाबी गरेको छ ।  उता अमेरिकी क्षेप्यास्त्र विशेषज्ञहरूले पनि उत्तरकोरियाले अब अमेरिकाको अलास्का राज्यमा क्षेप्यास्त्र हान्ने क्षमता विकास भएको ठहर गरेसँगै अमेरिकामा सुरक्षा चिन्ता बढेको छ ।  अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तरकोरियाको क्षेप्यास्त्र परीक्षणले विश्वशान्ति नै खतरामा पर्ने भएकाले यसविरुद्ध अमेरिकाले सम्पूर्ण शक्ति प्रयोग गर्ने चेतावनी दिनुभएको छ ।  उहाँले उत्तरकोरियाको क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाई रोक्न नसकेकोमा छिमेकी चीनको समेत कडा आलोचना गर्नुभएको छ तर यता चीन र रुसले भने अमेरिकी आरोपको खण्डन गरेका छन् ।  साथै, उत्तरकोरियाको नेतृत्व परिवर्तन गर्नुपर्ने ट्रम्पको भनाइप्रति कडा आपत्तिसमेत जनाएका छन् ।  
उत्तरकोरियाले पछिल्लो क्षेप्यास्त्र परीक्षण गरेपछि यस देखिएको विश्वव्यापी तनाव घटाउने विषयमा चीनका राष्ट्रपति सि जिनपिङले अमेरिकी राष्ट्रपति ट्रम्प र रुसका राष्ट्रपति  भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्दै उत्तेजना फैलाउने काम कहीँ कतैबाट गर्न नहुने र वार्ताद्वारा समस्याको समाधान खोज्न जोड दिनुभएको छ ।  सि र पुटिनले अमेरिका र र उत्तरकोरिया दुवै मुलुकलाई संयम अपनाउनसमेत आग्रह गर्नुभएको छ ।  उहाँहरूले उत्तरकोरियालाई आणविक कार्यक्रम स्थगित गर्न पनि जोड दिनुभएको छ ।  
यता उत्तरकोरियाली नेता किम जोङ उनले भने अन्तरमहादेशीय क्षेस्यास्त्र परीक्षण आफ्नो मुुलुकको सुरक्षाका लागि गरिएको यो कसैप्रति लक्षित नभएको बताउनुभएको छ ।  उहाँले यो गोप्य कार्यक्रम नभएर पूर्वघोषत कार्यक्रम भएकाले केही पनि उत्तेजित हुनुपर्ने र आत्तिनुपर्ने कारण नभएको भन्दै आफ्नो मुलुक सधैँ शान्तिको पक्षमा रहेको दाबी गर्नुभएको छ तर आफ्नो मुलुकमाथि कुनै किसिमको बाह्य हस्तक्षेप स्वीकार्य नहुने पनि स्पष्ट गर्नुभएको छ ।  परमाणु हतियार बनाएर दक्षिण कोरिया, जापानलाई मात्र होइन विश्वको सर्वशक्तिशाली राष्ट्र अमेरिकालाई समेत आक्रमणको धम्की दिन योे सानो राष्ट्र पछिल्लो अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षणको सफलताले विश्वमै फेरि चर्चामा आएको छ ।  
विश्व समुदायबाट एक्ल्याइएको यो सानो मुलुक पछिल्ला वर्षमा थप रहस्यमय मुलुक बनिरहेको छ ।  आणविक हतियार निर्माणको क्षेत्रमा उसले गरेको प्रगति र उसका रहस्यमय आणविक कार्यक्रमले, अमेरिका, दक्षिण कोरिया र जापानको निद्रा बिथोलिदियो ।  उत्तरकोरियाको सम्भावित क्षेप्यास्त्र आक्रमणबाट जोगाउन भनी अर्बौं डलर खर्च गरेर दक्षिण कोरियामा हालै अमेरिकाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गरिदियो तर उत्तरकोरियाले दक्षिण कोरिया जडित अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले काम गर्न नसक्ने नयाँ प्रविधियुक्त क्षेप्यास्त्र परीक्षण गरेर देखाइदियो, जसले गर्दा दक्षिणकोरियाले आफू झन् असुरक्षित भएको अनुभव गर्दैछ ।  दक्षिणकोरियाका राष्ट्रपति मुनले आणविक द्वन्द्व बढाउने गतिविधिप्रति असहमति जनाउँदै वार्ता र संवादमार्फत उत्तरकोरियासँग मेलमिलाप गर्नुपर्ने प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पसँग राख्नुभएको छ ।  उहाँ सैन्य कारबाहीबाट उत्तरकोरियासँगको विवाद समाधान हुन नसक्ने पक्षमा हुनुहुन्छ ।  
केही समयअघि अफगानिस्तानको तालिवानविरुद्ध ‘मदरल्यान्ड बम’ र सिरियाविरुद्ध ५९ वटा क्षेप्यास्त्र आक्रमण गरी आफ्नो नयाँ शक्ति देखाउनुभएका अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तरकोरियाविरुद्ध एक्लै लड्ने भन्दै कोरियाली सागरमा पनडुब्बी र युद्धपोत पठाएर आक्रमणको तयारी गर्नुभयो तर उत्तरकोरियाले पनडुब्बी र युद्धपोत परमाणु हतियार प्रयोग गरी डुबाइदिने चेतावनी दिएपछि भने एकाएक उहाँ पछि हट्नुभयो ।     
उत्तरकोरियाले आफ्नो स्थापना दिवसको अवसर पारेर गत वर्ष निकै शक्तिशाली परमाणु परीक्षण ग¥यो ।  अमेरिकाले दक्षिणकोरियाको सुरक्षार्थ पहिलोपटक सुपरसोनिक परमाणु बम वर्षक लडाकू विमान बी–१ बाट उत्तरकोरियालाई लक्षित गर्दै हवाई गस्ती ग¥यो ।  दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको हिरोसिमामा प्रहार गरेकोभन्दा शक्तिशाली यो परमाणु बमको सफल परीक्षण गरेपछि हौसिएको उत्तरकोरियाका नेता किमले आफ्नो मुलुकविरुद्ध गतिविधि नरोक दक्षिण कोरियालाई विश्वमानचित्रबाटै नष्ट गरिदिने चेतावनी दिएपछि दक्षिणकोरियाले अमेरिकालाई सहयोगका लागि गुहा¥यो ।  अमेरिकाले दक्षिणकोरियाको सहयोगार्थ बम वर्षक लडाकू विमान पठायो ।  क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गरिदिनुका साथै संयुक्त सैनिक अभ्यास गराई उत्तरकोरियालाई प्रतिचेतावनी दियो तर उत्तरकोरियाली नेतृत्वले सुनेन ।
आफ्नै पाराले चलेको कम्युनिस्ट शासन र विवादास्पद आणविक कार्यक्रमका कारण विश्व समुदायबाट एक्ल्याइएको साथै अन्तर्राष्ट्रिय नाकाबन्दीको शिकार बनेको यो मुलुक सानो भए पनि आफ्नो सम्पूर्ण शक्ति परमाणु हतियार निर्माणमा केन्द्रित गरेको छ ।  सन् २००६ को अक्टोबरमा पहिलोपटक परमाणु परीक्षण गरेको यो मुलुकले सन् २००९ को सेप्टेम्बरमा दोस्रो, सन् २०१३ को फेब्रुअरीमा तेस्रो, सन् २०१६ को जनावरीमा चौथो र  सेप्टेम्बर ९ मा पाँचौँ परमाणु परीक्षण गरेर शक्ति सञ्चय गरेको छ ।  पाँचौँ पटक गरेको परमाणु परीक्षण अहिलेसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली भएकाले अब थप परीक्षण गर्नबाट रोक्न अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो देखाएको छ ।  अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बनाइसकेपछि त अब उत्तरकोरियाबाट छिमेकी दक्षिणकोेरिया र जापानलाई मात्र नभएर अमेरिकी सुरक्षालाई समेत चुनौती थपिएको छ ।  
उत्तरकोरियाको सम्भावित आक्रमण रोक्न र दक्षिणकोरियाको सुरक्षा गर्न अत्याधुनिक हतियारसहित करिब ४० हजार अमेरिकी सैनिक खटिएको छ ।  अमेरिकाले सुरक्षा नदिने हो भने दक्षिणकोरियामाथि उत्तरकोरियाले आक्रमण र कब्जा गर्न सक्ने अवस्था रहेकाले दक्षिणकोरिया सरकार अमेरिकी सुरक्षा सहयोगमा भर परेको छ ।  दक्षिणकोरियालाई बचाउन भन्दै अमेरिकाले उत्तरकोरियामाथि सैन्य कारबाहीको चेतावनीसमेत दियो तर त्यो चेतावनीलाई बेवास्ता गर्दै गएको मार्चमा दुई–दुई पटक शक्तिशाली क्षेप्यास्त्र र एकपटक शक्तिशाली रकेट इञ्जिन परीक्षण ग¥यो ।  पछिल्लोपटक अघिल्लो मङ्गलवार (जुलाई ४) मा अन्तरमहादेशीय क्षेप्यास्त्रको सफल परीक्षण गरेसँगै अब उत्तरकोरिया थप शक्तिशाली बनेको छ ।  लामो समयदेखिको अमेरिका,राष्ट्रसङ्घलगायतको अन्तर्राष्ट्रिय नाकाबन्दी सामना गर्दै उत्तरकोरियाले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिएको छ ।  एक लाख २२ हजार ८६२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको दुई करोड ५० जनसङ्ख्या भएको सानो मुलुक उत्तरकोरिया सैन्य शक्ति र आणविक शक्तिकै कारण विश्वमा चर्चामा छ ।  साढे ११ लाख सक्रिय सैनिक र ८२ लाख सैन्य तालिम लिएको जनशक्ति साथै उसले बनाएका परमाणु हतियार नै उत्तरकोरियाको सुरक्षाका आधार हुन् ।  अब नचाहेर पनि उत्तरकोरियालाई आणविक राष्ट्रको सूचीमा सूचीकृत गर्नुपर्ने भएको छ ।  उत्तरकोरियासँग निहुँ खोज्दा अनिष्ट हुन सक्छ भन्ने कुरामा आत्मसात् गर्दै दक्षिणकोरिया, जापान र अमेरिकाले वार्ता र संवाद गरी कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न ध्यान केन्द्रित गर्नुपर्छ ।   
मूलतः एउटै भाषा र संस्कृति भएका दुवै कोरियाका जनता शान्ति र एकीकरणको पक्षमा छन् ।  शान्तिपूर्ण सहअस्तित्वका आधारमा दुुई कोरियाबीच एकीकरण हुन सक्ने हो भने एकीकृत कोरिया शान्त र समृद्ध बन्न सक्छ ।  परमाणु युद्धको विनाशबाट कोरिया प्रायद्वीपलाई जोगाउने हो भने युद्ध उन्मादलाई दुवैले त्यागी शान्तिपूर्ण बाटोमा हिँड्नु आजको प्रमुख आवश्यकता हो ।  परमाणु अत्रको होडबाजी र युद्धले कदापि शान्ति कायम हुन सक्दैन ।  एउटा मुलुकले आणविक अस्त्र त्याग्दैमा वा उसको मात्र आणविक कार्यक्रम बन्द गर्दैमा विश्मा शान्ति कायम हुन सक्दैन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना