घर छेउमै खोला कुद्छ जमिन भने बाझै

राजु शिवा

 

इलाम, असार ३० गते ।  असार खेतीपातीको महिना हो ।  अधिकांश किसानको खेतबारी अहिले धान–मकैले हरियै छन् तर इलाम महमाईका धेरै किसानको खेतबारी अहिले पनि बाँझै छ ।  सिँचाइ अभावले खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने बाध्यताका कारण चुरे क्षेत्रमा पर्ने इलामको दक्षिणी गाविसका किसान बर्खामा पनि भनेजस्तो खेतीपाती गर्न सक्दैनन् ।  दक्षिणी गाविस महमाईको खेतीयोग्य सबै जमिनमा सिँचाइ नहुँदा यहाँका किसानले बर्सेनि खाद्यान्न अभाव झेल्नुपर्ने बाध्यता छ । बर्खामा अलि बढी पानी पर्दा आकाशे पानीको मौका छोपी खेती गर्नुपर्ने  उनीहरूको पुरानो हो ।  खेतसँगै जोडिएको छ देउमाई खोला तर छेउमै रहेको  खेत हिउँदमा मात्र होइन, वर्षामा पनि सुक्खै रहन्छ । रोपाइँ गर्न आकाशे पानी पर्खिनुपर्छ । बेलामा पानी परेन भने खेत बाँझै रहने यहाँका किसान वर्षभर खाने अन्न खोज्न झापा पुग्ने गरेको महमाई–७ का किसान धनवीर योङ्हाङ बताउनुहुन्छ । बिजुली पनि नपुगेको यस क्षेत्रमा पम्प र लिफ्ट गरी सिँचाइ गर्न पनि असम्भव रहेको योङ्हाङले बताउनुभयो । भएको खेतमा पानी नलाग्दा गाउँका अधिकांश जग्गा उपयोगविहीन छन् । यो खेत भिजाउन पाए जिल्लैलाई पुग्ने धान फल्ने थियो, उहाँले भन्नुभयो ।
महमाई गाउँको तल्लो भेगले देउमाई नदीको किनार छोएको छ । किनारमा हजारौँ बिघा खेत लोभलाग्दो गरी पाटा मिलेको छ । तर खोलाको पानी खेतसम्म ल्याउन नसक्दा असारको रोपाइँमा व्यस्त हुनुपर्ने किसान पनि फुर्सदिला छन् ।  असार सकिन लाग्दासमेत भने जसरी पानी नपर्दा थोरैतिनो जमिनमा पनि खेती लगाउन नपाइएला कि भन्ने चिन्ताले यहाँका किसानलाई पिरोलेको छ ।  चुरे क्षेत्रको उर्वर यो खेतमा सिँचाइ सुविधा भए वर्षको दुईपटक धान उत्पादन गर्न सकिने स्थानीय बताउँछन् । यहाँ सिँचाइ भए प्रशस्त मौसमी तथा बेमौसमी तरकारी उत्पादनको सम्भावना छ तर पानी नै नभएपछि थोरै खेतमा मात्र यहाँका किसानले बर्खाको पानीको भरमा धान रोप्ने गरेका छन् । धनवीर भन्नुहुन्छ, खेतीमा लगाउने पानी भए यहाँ उत्पादन नहुने केही छैन । भौगोलिक रूपले विकट महमाईमा हिउँदमा मात्रै गाडी चल्छन् । धुले सडक हुँदै सदरमुकामबाट यहाँ पुग्न गाडीमा कम्तीमा पाँच घण्टा लाग्छ । झापाबाट भने यहाँ पुग्न नजिक पर्छ । बर्खामा माइखोलामा बाढी आउँदा सदरमुकाम र झापासँग यहाँको सम्पर्क टुट्छ । गाउँमा उत्पादन हुनसक्ने धान, मकै, गहुँ, जौजस्ता अन्न र फूलकोपी, काउली, सिमी, करेलाजस्ता तरकारीले झापाका बजारहरूमा राम्रो भाउ पाउने सम्भावना छ तर सिँचाइ अभावले हजारौँ बिघा खेत बाँझै राख्नुपर्ने बाध्यता छ यहाँका किसानको ।mahamai
राई, लिम्बू समुदायको बढी बसोबास रहेको महमाईमा कुनै बिहे, चाडपर्व र उत्सव आयोजना हुँदा झापा तथा भारतको सिलिगुडीबाट अन्न, तरकारी मगाउनुपर्छ । गाउँमै उत्पादनको प्रशस्त सम्भावना भए पनि बाहिरबाट उपभोग्य सामान मगाउनुपर्दा ‘मन अमिलो हुने गरेको’ धनवीरले सुनाउनु भयो । उहाँले भन्नुभयो, एकपटक सिलिगुडीबाट दुई गाडी बन्दाकोपी मगाउनु पर्ने भयो, भारतको भन्सारले धेरैबेर त्यहीँ झुलाउँदा यहाँ ल्याउने समय घर्किसकेको थियो, उहाँले थप्नुभयो, आफ्नै गाउँमा उत्पादन गर्न सकिने बन्दासमेत भारतबाट ल्याउनुपरेको र भन्सारले झुलाएको सम्झेर अहिले पनि आँशु आउँछ ।     
सिँचाइ गर्ने पानी नहुँदा धान र तरकारीको सट्टा किसानले सिमल तरुल, सखरखण्ड, मकैजस्ता पानी नचाहिने, कम्ती पानीले पुग्ने बाली खेती गर्नुपरेको उहाँले सुनाउनुहुन्छ । नजिकै रहेको चुरेको अर्काे दुर्गम गाउँ बाँझोका कतिपय किसानको खेतीपाती पनि महमाईमै पर्छ । उनीहरू बाँझोबाट धाएर महमाईमा खेती गर्न आउँछन् तर पानी अभावले खेत बाँझै छाड्नुपर्ने अवस्थाले सधैँ पिरोल्छ । बाँझोको लारुम्बामा अत्यन्त बाक्लो बस्ती भएकाले खेतीयोग्य जमिन कम छ । भएको जमिनमा सिँचाइ सुविधा छैन । महमाईको यो बेंसीमा १९९३ सालभन्दा अघिदेखि मानिसको बसोबास थियो । सिङ्गो गाउँमा खेतीयोग्य जमिन छ । तर, सिँचाइ नहुँदा भने यहाँको जमिन असारको महिनामा पनि खेतीविहीन छ । वर्षामा खोला र खहरे बढेर गाउँ नै बगाउँछन् । यहाँको सयौँ हेक्टर खेतीयोग्य जमिन खोलाले कटान गरी बालुवामा परिणत गरिदिएको छ । हिउँदभर पानी अभावले जमिन बाँझै रहन्छ, वर्षा लागेपछि बाढी र डुबानले रातभर अनिँदो बस्नु पर्छ, स्थानीय अगुवा सन्तराम योङहाङले भन्नुभयो, सिँचाइ र बाँधको सुविधा भए यो गाउँमा धेरै अन्न र तरकारी उत्पादन गरी झापा र मोरङ समेतमा निर्यात गर्न सकिन्छ ।
इलामस्थित सिँचाइ डिभिजन कार्यालयले भने महमाई गाउँमा सिँचाइ योजना सञ्चालन गर्ने योजना रहेको जनाएको छ । डिभिजन प्रमुख बद्री कार्कीले अनुमानित २८ करोड रुपियाँको सिँचाइ योजना सञ्चालन हुन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, गाउँका सबै वडालाई पुग्नेगरी ठ्याउरे खोला फ्याउरे सिँचाइ आयोजना यहाँ सञ्चालन हुन लागेको छ । देउमाई खोलाको बाँदरेबाट महमाई–९ को कलकत्तेसम्म ३० किलोमिटरको नहर लैजाँदा गाउँको एक हजार १५० हेक्टरमा सिँचाइ हुने र सात हजार किसान लाभान्वित हुने कार्यालयका इन्जिनियर दिनेशकुमार घिमिरेले जानकारी गराउनु भयो ।  
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना