उन्नति पथमा मनाङ

namrata pandeyडा. नम्रता पाण्डे

पश्चिमाञ्चलको गण्डकी अञ्चलमा अवस्थित ८६७ वर्ग कि.मि. क्षेत्र मात्र ओगटेको मनाङ पूर्वमा मनास्लु हिमाल, पश्चिममा मुक्तिनाथ र दामोदर कुण्ड, उत्तरमा पेरु र दक्षिणमा अन्नपूर्ण हिमालले अझ बढी सुन्दर लाग्छ ।  भैँसी पाइँदैन, बाहुन पाइँदैन र धान पाइँदैन भनेर उखान गर्ने अनि थोरै जनसङ्ख्या रहेको मनाङको आर्थिक स्रोत भने कृषि, पशुपालन र व्यापार नै रहेका छन् ।  लामा र शेर्पाहरूको बाहुल्यता रहेको मनाङमा बाहिरबाट सरकारी क्षेत्रमा र अरू गैरसरकारी संस्थाबाट नोकरी गर्न जाने बाहुन, क्षेत्रीबाहेक त्यहाँ बाहुन, क्षेत्री बासिन्दा भेटिँदैनन् ।  फापर, आलु, उवा, करु, सिमी, स्याउलगायतका कृषिबाली एवम् भेँडा, च्याङ्ग्रा, चौरी र याक पालनजस्ता पशुपालन अनि पर्यटकीय स्थल भएको कारण होटेल व्यवसाय यहाँका मानिसले परम्परादेखि अँगाल्दै आएका पेसा हुन् ।  चामेबाट तल तल्लो मनाङ र चामेबाट माथिल्लो भागलाई उपल्लो मनाङ भनेर चिनिन्छ ।  त्यहाँका स्थानीय नीति नियम, विकासका काम र अवसरका उपभोग होऊन् या राजनीति त्यहीँको तल्लो मनाङ र उपल्लो मनाङका प्रमुख व्यक्तिको मातहतमा निर्धारण हुने रहेछ ।  भौगोलिक बनोट, हिमाली हावापानी र मौसम, यातायात र कच्ची सडक अनि व्यवस्थित खेती प्रणाली नहुनुले मनाङ अलि पछाडि परेको धारणा रहिआएको छ ।  प्रकृतिप्रदत्त सम्पदा र सम्भावना हुँदाहुँदै पनि कम जनसङ्ख्या र त्यहाँ पुग्न नसकेको भौतिक पूर्वाधार एवम् सुविधाको कारण मनाङ विकटमा गनिएको सर्वसाधारणको अनुमान रहने गरेको छ ।  मनाङको सदरमुकाम चामेले एउटा दृश्यको आनन्द दिन्छ भने पिसाङ्ग, स्वर्गद्वारी र उपल्लो मनाङसम्म पुग्दा विश्वको भूगोल नै मनाङमा आएर मिसिएको अनुभव हुन्छ ।  
 हाम्रा सुन्दर प्राकृतिक दृश्यहरूको पहिचान र महŒव दर्शाउँदै सहज र सुलभ पर्यटकीय मार्गको विकास गर्दै पर्यटन क्षेत्रलाई अरु विस्तार गर्ने प्रशस्त सम्भावनाको खोजी गर्न अब ढिला भइसकेको हो कि ? भन्ने भाव पनि आउँछ ।
एकातिर मनाङको प्राकृतिक सुन्दरताको वर्णन गर्न शब्द पर्याप्त हुँदैनन् भने अर्कोतिर प्रविधिले पनि साथ दिन थालेको आभाष हुन्छ ।  मनाङ त्यसै पनि कृषि, पशुपालन र व्यापारमा आधारित अर्थतन्त्रले चलेको जिल्ला हो ।  व्यवस्थित खेती प्रणालीको अभाव मात्र सबैले अनुभव गर्दै आएको हो तर अब मनाङलाई फेर्दै छन् युवाले ।  मनाङको तत्कालीन पिसाङ्ग– १, भ्राताङ्गमा रहेको एग्रो मनाङ प्रा.लि. ले उच्च घनत्वको स्याउ खेती प्रणालीबाट रोपेको पाँच महिनामै फल्ने स्याउ खेतीद्वारा ल्याएको आर्थिक सम्पन्नता, रोजगारी सिर्जना एवम् जीवन स्तरमा सुधार एउटा नमुना बनेको छ मनाङका लागि ।  एसियाली विकास बैङ्कको सहयोगमा, हिमाली आयोजनाको अनुदानबाट सञ्चालित एवम् स्वयम्को लगानी र परिश्रमबाट सञ्चालित एग्रो मनाङ, नेपालकै लागि एउटा उदाहरण बन्न सफल भएको रहेछ ।  ७३५ रोपनी जग्गामा करिब ६० हजार स्याउका बिरुवा रोपेर सोही वर्ष २० हजार के.जी. स्याउ उत्पादन गरी ५८ लाख ५० हजार आम्दानी लिन सफल भएको एग्रो मनाङले गत वर्ष एक लाख ३० केजी स्याउ उत्पादन गरी करिब रु. एक करोड ७० लाख बराबरको आम्दानी लिन सफल भएको छ  ।  ३४  वर्षका युवा व्यवसायी सम्राज गुरुङ र उनका भाइ युवराज गुरुङले दैनिक ६० जना मानिसलाई रोजगार प्रदान गर्दै आएका छन् भने उच्च घनत्वको स्याउ खेती प्रणालीलाई अन्य जिल्लामा पनि विस्तार गरी नेपाललाई  स्याउमा आत्मनिर्भर बनाउन सकिने आत्मविश्वासका साथ अघि बढेका छन् ।  सर्बिया र इटालीबाट बिरुवा आयात गरी, वैज्ञानिक र व्यवस्थित तरिकाले स्याउ खेती गर्दै आएका उनीहरू युवा समुदायलाई खाडी तथा अन्य मुलुक गएर बगाउने पसिना आफ्नै माटोमा बगाउन अनुरोध पनि गर्छन् ।  नेपालकै माटोमा सुन फल्छ, नेपालका युवाले आफ्नै दाजुभाइलाई रोजगारी प्रदान गरी आर्थिक रूपमा सबल हुन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् यी दुई भाइले ।  जसरी मनाङ पुगेर तिलिचो ताल हेर्दा प्रकृतिको मनोरम दृश्यबाट व्यक्ति मोहित हुन्छ, त्यसैगरी एग्रो मनाङ छिरेर त्यहाँको स्याउ खेती र आधुनिक खेती प्रणालीको अनुगमन गर्दा, त्यो स्याउ बगान र लटरम्म फलेका स्याउ अनि हाम्रा दाजुभाइले पाएको रोजगारी र देशकै माटोमा पसिना बगाएको देख्दा सबैलाई आनन्दित बनाएको पाइन्छ ।  यसको प्रत्यक्ष प्रभाव मनाङलाई पर्नु स्वाभाविक भए पनि छिमेकी जिल्ला लगायत स्याउ उत्पादनको प्रचुर सम्भावना रहेको कर्णाली क्षेत्रमा समेत पारेको पाइन्छ ।  उच्च घनत्वको स्याउको विरुवाका लागि स्रोतकेन्द्रको रूपमा पनि रहेको छ एग्रो मनाङ ।  उक्त फार्मबाट हालसम्म मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लामा गरी करिब १५ हजार उच्च घनत्वको स्याउको बिरुवा रोपी सकिएको छ ।  सर्बिया र इटालीमा प्रतिबोट प्रतिवर्ष ३५ केजी उत्पादन हुने गरेको भए पनि एग्रो मनाङले प्रतिबोट प्रतिवर्ष २५ केजी उत्पादन लिने लक्ष्य लिएको छ ।  यसरी हेर्दा वार्षिक करिब २५ लाख केजी स्याउ उत्पादन गरी हालको उपभोक्ता मूल्य रु. १५० प्रति केजीका दरले बर्सेनि करिब तीन करोड ७५ लाख आम्दानी लिन सक्ने देखिन्छ ।  त्यसो त हालसम्म एग्रो मनाङले उक्त फार्म स्थापना गर्न करिब १७ करोड लगानी गरिसकेको छ ।  जसमा हिमाली आयोजनाले दुई करोड ४१ लाख अनुदान उपलब्ध गराएको छ ।  धैर्य र निरन्तर मिहिनेतबाट केही वर्षमै लगानी उठाइ प्रशस्त फाइदा लिन सकिने र  मनाङजस्तो विकट जिल्लामा पनि आधुनिक प्रविधि भिœयाएर आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण मान्न सकिन्छ ।  
सरकारकै मुख ताक्ने र रोजगारीको नाममा विदेशिने युवा समुदायलाई गुरुङ दाजुभाइले राम्रो प्रेरणा दिएका छन् ।  आगामी दिनमा एग्रो मनाङ एक उच्च स्तरको तालिम तथा स्रोत केन्द्रको रूपमा स्थापित भई प्राविधिक एवम् व्यावहारिक ज्ञान हासिल गर्नेका लागि उत्तम व्यावसायिक स्थल हुनेमा दुईमत छैन ।  नेपाललाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने हो भने सरकारी स्तरबाट पनि एग्रो मनाङको उदाहरण लिई मुस्ताङ, जुम्ला लगायतका कर्णाली अञ्चलका जिल्लामा उच्च घनत्वको स्याउ खेतीमा ठोस कार्यक्रम ल्याउँदा प्रभावकारी हुने देखिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना