बाँकेमा १७ प्रतिशत मात्र रोपाइँ

dhan ropaiनेपालगञ्ज, असार ३१ गते । असार महिना समाप्त हुन लागिसक्दा समेत बाँकेमा १७ प्रतिशत मात्र रोपाइँ भएको छ ।
बीउ राख्ने बेलामा पानी नपरेकोले ब्याड राख्न ढिलाइ हुँदा सिँचाइ सुविधा भएको १५ हजार हेक्टरमध्ये छ हजार हेक्टरमा मात्र हालसम्म रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालय बाँकेका सूचना अधिकृत धनबहादुर पुनले बताउनुभयो ।
जिल्लाको कूल ३६ हजार हेक्टरमा धान रोपाइँ हुने गरेकोमा असार सकिन लागि सक्दा पनि हालसम्म छ हजार हेक्टरमा मात्र रोपाइँ भएको सूचना अधिकृत पुनले बताउनुभयो ।
गत एकसातादेखि निरन्तर पानी परिरहेको र ब्याड नराखेका जिल्लाका सबै किसानले अहिले ब्याड राखिसकेकोले उनीहरूले साउनमा रोपाइँ गर्ने उहाँले जनाउनुभयो ।
गतवर्ष असारको अन्तिमसम्म बाँकेमा ५० प्रतिशत जती रोपाइँ भइसकेको स्मरण गराउँदै पुनले तर यस पटक पुनः केही वर्ष पहिलेको झैँ ढिलागरी रापाइँ हुने बताउनुभयो
बोरिङ र कुलोबाट सिँचाइको सुविधा भएका जिल्लाका १५ हजार हेक्टरमा मात्र रोपाइँ भैरहेको जानकारी गराउँदै सूचना अधिकृत पुनले कचनापुर, नौबस्ता, सीतापुर र फत्तेपुरमा मात्र रोपाइँ भइरहेको बताउनुभयो । अन्य क्षेत्रका किसानले भखैरै मात्र ब्याड राख्न भ्याएकाले उनीहरूलाई रोपाइँमा अझै केही दिन समय लाग्ने भएको छ ।
बाँकेका अधिकांश क्षेत्रमा किसानलाई खेतीका लागि आकाशे पानीको भर पर्नुपर्ने हुँदा यस पटक समयमा पर्याप्त पानी नपर्दा हालसम्म निकै कम रोपाइँ भएको र सबै क्षेत्रमा रोपाइँ हुन नसकेको जिल्ला कृषि विकास कार्यालय बाँकेले जनाएको छ । ढिलागरी रोपाइँ भएपछि उत्पादनमा समेत केही प्रभाव पर्ने जिल्लाका किसानहरूले जनाएका छन् ।  
समयमा वर्षा नहुँदा ब्याड राख्न नपाएका बाँके महादेवपुरीका किसान तिलक खत्रीले ढिलो वर्षा भएकोले भर्खरै मात्र ब्याड राख्न सकेको जनाउँदै ढिला गरी रोपाइँ गर्दा उत्पादन कम हुने खतरासमेत रहेको बताउनुभयो ।
बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजना सञ्चालनमा नआउँदासम्म बाँकेका किसानलाई समयमा खेती गर्ने समस्या भैरहने जिल्ला कृषि विकास कार्यालयको भनाइ छ तर, सिक्टा सिँचाइ सञ्चालनमा आएपछि भने किसानका खेतबारीमा पानी फालाफाल हुने हुँदा १२ महिनानै जुनसुकै खेती गर्नसकिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ तर सिक्टा कहिलेसम्म तयार हुने हो त्यो भने सबै किसानको चासोको विषय बनेको छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना