वेदमा देवराज इन्द्रको स्थान

kamal rijalकमल रिजाल

 

वैदिक मन्त्रद्रष्टा ऋषिहरूमा देवराज इन्द्र पनि बिर्सनै नसकिने नाम हो ।  यसो त उनी वैदिक देवता हुन् ।  वेदमा अग्निपछि सर्वाधिक नाम आउने र सर्वाधिक उपकारी देवतामा उनी नै देखिएका छन् ।  देवताहरूलाई समेत नेतृत्व दिने भएकाले उनलाई देवराज पनि भनिन्छ तर उनको नाम वैदिक मन्त्रद्रष्टा ऋषिमा पनि उत्तिकै सम्मानजनक ढङ्गले आएको छ ।  ऋग्वेदमा केही उनी एक्लैले र केही उनी सहितका ऋषिहरूले संयुक्त रूपमा साक्षात्कार गरिएका सूक्त रहेका छन् ।  यीमध्ये दशौँ मडलको ४८ औँ, ४९ औँ, ५० औँ र १५३ औँ सूक्त उनी एक्लैबाट साक्षात्कार भएका सुक्त हुन् ।  इन्द्र आफँै र बैकुण्ठको विशेषता वर्णन गरिएका यी सूक्तमा कुल ३४ वटा मन्त्र छन् ।  त्यस्तै प्रथम मण्डलको १६५ औँ र १७० औँ सूक्त उनीसहितका ऋषिद्वारा साक्षात्कार गरिएका सूक्त हुन् ।  मरुद्गण र स्वयं इन्द्रकै पनि विशेषता वर्णन भएका यी सूक्तमा कुल २० वटा मन्त्र छन् ।  
ऋग्वेद ३ ।  ४८ ।  २ मा उल्लेख भएअनुसार देवराज इन्द्रका बाबुको नाम कश्यप (कतै कतै प्रजापति पनि भनिएको पाइन्छ) र आमाको नाम अदिती हो ।  यी कश्यप अदिती तिनै कश्यप र अदिती हुन्, जुन एकसे एक वैदिक मन्त्रद्रष्टा ऋषि तथा ऋषिका मानिन्छन् ।  उनीहरूद्वारा साक्षात्कार भएका मन्त्रहरू ऋग्वेदमै प्रशस्तै भेटिन्छ ।  यस बाहेक इन्द्रपत्नी पौलोमी शची र उनका छोरा जयन्त (कतै जय मात्र उल्लेख भएको पनि भेटिन्छ) पनि वैदिक मन्त्रद्रष्टा ऋषिमै पर्छन् ।  पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार देवराज इन्द्रका बाबु र आमा कश्यप र अदिती नै देखिएका छन् ।  महर्षि व्यासले श्रीमद्भागवतमा यसको सुन्दर झाँकी प्रस्तुत गरेका छन् ।  वर्तमान मन्वन्तरका सप्तऋषिभित्र पर्ने कश्यप ऋषिले दक्षप्रजापतिकी १३ वटी कन्यालाई एकै साथ विवाह गरेका थिए ।  तिनै १३ वटी दक्षपुत्रीमध्ये माहिली अदितीको गर्भबाट इन्द्रको जन्म भएको हो ।  
देवराज इन्द्र जति सौर्य र सामथ्र्यले युक्त देखिएका छन् त्यति नै वल, वीर्य तथा पराक्रमको खानीसमेत मानिएका छन् ।  ऋग्वेदमा अतुल पराक्रमी इन्द्रदेव कतै आफैँ आफ्नो शक्ति र सामथ्र्यको व्याख्यान दिरहेका अवस्थामा भेटिन्छन् भने कतै स्वयं वैदिक मन्त्रहरू नै उनको प्रशस्ती वर्णनमा उभिएका अवस्थामा फेला पर्छन् ।  ऋग्वेद १ ।  ८४ ।  १३ र १४ मा उल्लेख भएअनुसार उनले वृत्रासुर आदि ९९ वटा खुंखार राक्षसमाथि जसरी सजिलै विजय पाएका थिए ऐ ऐ २ ।  ११ ।  २० मा उल्लेख भएअनुसार यज्ञ कर्ता त्रित ऋषिको परम शत्रु मानिएको अर्वुुद असुरमाथि पनि त्यसैगरी विजय पाएका थिए ।  त्यस्तै उनी कतै कुत्स ऋषिको परम शत्रु मानिएको अत्यन्त डरलाग्दो शुष्ण असुरको वध गर्न विशिष्ट पराक्रमले प्रस्तुत भइरहेका अवस्थामा फेला पर्छन् (ऋग्वेद ६ ।  ३१ ।  ३ र ऐ ऐ ७ ।  १९ ।  २) भने कतै उनका अन्य दुईवटा अपराजित शत्रुमाथि विजय पाउन त्योभन्दा पनि बढी शक्ति र सामथ्र्य प्रदर्शन गरिरहेका अवस्थामा देखा पर्छन् ।  (ऐ ऐ ८ ।  २४ ।  २५)
देवराज इन्द्र साहस, वल, वीर्य र पराक्रममा मात्र होइन दया, माया तथा करुणाका पनि विशेष खानी नै मानिएका छन् ।  उनले जुन धैर्य र साहसका साथ सङ्कटापन्न कण्वपुत्र प्रस्कण्वलाई दुःखको सागरबाट बचाउने र यति तथा भृगु आदि ऋषिलाई धनधान्यले सम्पन्न  गराउने काम गरेका छन् ( ऐ ऐ ८ ।  ३ ।  ९) सोही धैर्य र साहसका साथ वसिष्ठ र परासर जस्ता ऋषिको संरक्षण गर्ने कामसमेत गरेका छन् ।  ऐ ऐ ७ ।  १८ ।  २१) त्यसैगरी ऋग्वेदका विभिन्न प्रकरणमा उल्लेख भएअनुसार उनी कतै अशक्त र असहायको सहायता र सहयोगका लागि अदम्य साहसका साथ खडा भइरहेका अवस्थामा फेला पर्छन् भने कतै उनीहरूको स्याहार र सुसारमा हदैसम्मको विनम्रता प्रस्तुत गरिरहेका अवस्थामा फेला पर्छन् ।  (ऐ ऐ १ ।  ५४ ।  ३ र १ ।  ६१ ।  १५)  ऋग्वेदको दोस्रो मण्डलका साक्षातकर्ता महर्षि गृत्समदजस्ता महर्षिलाई असुरबाट बचाउन उनले जुन किसिमको बौद्धिक चातुर्यता प्रदर्शन गरेका छन् त्यो त यसै पनि प्रशंसनीय छदैछ यसबाहेक उनले सुदास राजाको संरक्षणकमा, दुर्वल संरवणलाई शक्तिशाली बनाई उनका समग्र  आवश्यकता पूरा गराउने कार्यमा, महर्षि उशनालाई सुरक्षित गराउने (ऐ.ऐ १ ।  १३० ।  ९) कार्यमा र पापको कुवामा खसेका महर्षि कुत्सको उद्धार गराउने कार्यमा (ऐ ऐ १ ।  १०६ ।  ६ र २ ।  १४ ।  ७) प्रस्तुत गरेका बौद्धिक कुशलता पनि त्योभन्दा कत्ति कम देखिँदैन ।  
आसुरी शक्ति र सत्ताको विनाश र दैवी शक्ति र सत्ताको संरक्षण नै जीवनको एक मात्र उद्देश्य बनाउँदै आएका देवराज इन्द्रलाई वैदिक मन्त्रहरूले जुन मात्रामा प्रशंसा गर्दै आएका छन् सोही मात्रामा ऋषिमुनिहरूले सम्मानभाव प्रकट गर्दै आएका देखिन्छन् ।  प्रजापति पुत्र विमदले गरेका उपासना तथा महर्षि गौरवीति र वम्रद्वारा गरिएको स्तुति र सम्मानलाई यसैभित्र लिन सकिन्छ ।  यस बाहेक अङ्गिराद्वारा गरिएको पूजा तथा उपासना, कण्वपुत्रहरूद्वारा गरिएको स्तुति एवं प्रार्थना ( ऐ ऐ ८ ।  ३ ।  १६ र ८ ।  ६ ।  ३४) तथा महर्षि वसिष्ठद्वारा गरिएको स्तुति, विन्ती (ऐ ऐ ७ ।  २६ ।  ५) र वसिष्ठपुत्रद्वारा प्रकट भएका श्रद्धाभाव पनि उत्तिकै स्मरणीय छ ।   उनी जति परोपकारी देखिएका छन् त्यति नै दानी पाइएका छन् ।  उनले महर्षि कुत्सको हित खातिर एउटा सिङ्गै गाउँ दिएका छन् भने तुर्विती एवं वथ्य ऋषिका हित निम्ति विशाल समुद्रमा हेलिनेसम्मको साहस देखाएका छन् ।  उनले जसरी अन्ध तथा पङ्गु परावृक ऋषिलाई आँखा र गोडा प्रदान गरेर उद्धार गरेका थिए त्यो पनि उत्तिकै प्रशंसनीय छ ।  (ऐ ऐ २ ।  १३ ।  १२) उनी हुनेबाट लिने काम त गर्छन् तर त्यो आफ्ना लागि नभई अरूकै लागि हुने गर्छन् ।  ऋग्वेदमा उनले अकर्मण्यबाट खोसेर पौरखीलाई प्रदान गरेका जुन प्रसङ्ग आएको छ त्यस्तो क्रान्तिकारी कदम सम्भवतः आजको दुनियाँमा भेटिन मुस्किल पर्छ ।  
देवराज इन्द्र आध्यात्मिक ज्ञानको क्षेत्रमा जति पारङ्गत मानिएका छन् (ऐ ऐ १ ।  १७०) भौतिक विज्ञानको क्षेत्रमा पनि त्यति नै निपुण देखिएका छन् ।  ऋग्वेद ८ ।  ४० ।  ४ का अनुसार उनले भूलोक र द्युलोकलगायत समग्र संसारलाई आफ्नै काखमा खेलाइरहेका छन् भने ऐ ऐ १० ।  १५३ ।  ३ र ४ का अनुसार अन्तरिक्षलोकको विस्तार कर्ता र सूर्यलाई अन्तरिक्षमा स्थापनकर्ता समेत मानिएका छन् ।  उनी कूटनीति र कुटिल नीतिमा पनि उत्तिकै पोख्त देखिएका छन् ।  उनले आफू मानसरोवरतर्फ लागेको बेला पनि जुन तरिकाले गलगाँड बनेर उभिन पुगेका राजा नहुषलाई पतन गराएका थिए आज पनि त्यसको मुक्त कण्ठले प्रशंसा भइरहेको छ तर यदाकदा कुटील नीतिका कारण नराम्रोसित बदनाम भएका पनि छन् ।  तथापि त्यसबाट पनि उनले खराब कामको नतिजा खराब नै हुन्छ र यसलाई सबैले एक दिन नभोगी सुखै पाउँदैनन् भन्ने सन्देश भने दिएकै छन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना