आँखामा २७ वटा लेन्सको गुजुल्टो !

 

गाेरखापत्र अनलाइन

लण्डन , साउन १ गते ।आँखामा कन्ट्याक्ट लेन्स लगाउने गर्नुभएको छ भने विचार गर्नुस् कतै ती लेन्स आँखाभित्रै हराएका त छैनन् , बेलैमा ध्यान पुगेन भने एक बेलायती महिलालार्इ परेकाे जस्ताे समस्या भाेग्नुपर्ने हुनसक्छ । बेलायतमा डाक्टरहरुले एक ६७ वर्षीया महिलाको आँखाको शल्यक्रिया गर्ने तयारी गरिरहँदा उनको आँखामा २७ वटा कन्ट्याक्ट लेन्स पाईएको समाचार छ ।

यी लेन्सहरुका कारण ती वृद्ध महिलाको आँखामा निकै अप्ठ्यारो भैरहेको थियो तर ती महिलाले आँखाको सुख्खापन तथा उमेरका कारणले यस्तो भएको अनुमान गरेकी थिइन् । मेट्रे डट युके का अनुसार यो घटना गत वर्ष नोभेम्बर महिनाको  हो तर अहिले मात्र ब्रिटिश मेडिकल जनरलमा प्रकाशित भएको छ ।

बर्मिङ्घम नजिकैको एक अस्पतालमा भएको सो घटनामा संलग्न डाक्टरहरुले आफुहरुले यस्तो पहिले कहिँल्यै नदेखेको र  १७ वटा लेन्सहरु एकै ठाउँमा गुजुल्टिएर रहेकाे पार्इएकाे बताए । पहिले १७ वटा लेन्सको गुजुल्टो पाईएको र पछि अरु १० वटा लेन्स पाईएको उनीहरूकाे भनार्इ छ ।

 विगत ३५ वर्षदेखि आफुले मासिक रुपमा बदलिने गरी लेन्स लगाउने गरेको र डाक्टरसँग नियमित चेकजाँच नगराएको ती महिलाले बताएकी थिइन्  ।  लेन्सहरुको गुजुल्टा पाइएपछि थप समस्या निम्तिने सक्ने आशंकामा ती महिलाको आँखाको शल्यक्रिया रोकिएको थियो ।

आँखामा लेन्सबारे जानकारी दिँदा ती महिला निकै आश्चर्यचकित भएकी र लेन्सहरु निकालिएपछि आँखामा निकै राहत महशुस डाक्टरलाई बताएकी थिइन् । आँखाको शल्यक्रियाको तयारी अघि महिलामा यति धेरै लेन्स हुनसक्ने कुनै संम्भावना तथा संकेत देखिएको थिएन ।



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds