भूकम्प पीडितले एक घण्टामै ट्याक्सी बेचे

लक्ष्मण दर्नाल  

काठमाडौँ, साउन २ गते ।  भूकम्प पीडितलाई स्वरोजगार बनाउनका लागि वितरण गरिएको ट्याक्सी भूकम्प पीडितले नै एकदिन पनि चलाएनन् ।  गोलाप्रथामा नाम परेका भूकम्प पीडितहरूले ट्याक्सी नम्बर पाएको एक घण्टामै बेचेर नाफा कमाएर गाउँ फर्किएका छन् ।  यातायात कार्यालय एकान्तकुनाबाट ट्याक्सी नम्बर पाएको एकैछिनमा टयाक्सी बेचेर नामसारी गर्न कार्यालयमै फर्किने गरेका छन् ।  
यातायात व्यवस्था विभागले गत असार ७, ८ र ९ गते गोलाप्रथाद्वारा ट्याक्सी नम्बर पाउने एक हजार पाँच सय जनाको नामावली सार्वजनिक गरेको थियो ।  यातायात कार्यालय एकान्तकुनाका अनुसार हालसम्म ८० जनाले ट्याक्सी नम्बर पाइसकेका छन् ।  जसमध्ये ५० जनाले सोही दिन ट्याक्सी बेचिसकेको यातायात कार्यालय एकान्तकुनाले जनाएको छ ।  
भूकम्प पीडिहरूले बैंकबाट लगानी गराएर ट्याक्सी किन्नुभन्दा पनि पहिल्यै ट्याक्सी किन्ने मान्छे लिएर नम्बर लिन गएको कार्यालयले जनाएको छ ।  बैंकिङ ऋणको झन्झटिलो प्रक्रिया र अधिकांश भूकम्प पीडितहरू काठमाडौँ बाहिरका भएकाले पहिल्यै ट्याक्सी किन्ने मान्छे तयार गर्ने गरेका छन् ।  घरमा बूढाबूढी मात्र भएका वृद्धहरूलाई समेत ट्याक्सी नम्बर परेको छ ।  उनीहरूले बेच्नु स्वभाविकै हो तर सबैले बेच्न थालेको देख्दा यातायात व्यवस्था कार्यालय पनि अचम्ममा परेको छ ।
यातायात व्यवस्था विभागका निर्देशक तथा साना ठूला सवारी प्रमुख वसन्त अधिकारीले ट्याक्सी नम्बर पाउना साथ बेच्ने गरेको बताउनुभयो ।  उहाँले भन्नुभयो ‘‘दर्ता गरिसकेपछि त्यो उनीहरूको सम्पत्ति हो, उनीहरूले जे गर्न पनि पाए, नबेचे हुने थियो भन्ने हाम्रो भनाइ हो, तर आफ्नो नाममा दर्ता गर्छन् उही दिन बेच्छन् । ’’ उहाँका अनुसार अधिकांशले नाफा कमाएर बेचिरहेका छन् ।  सोही व्यवसायमा संलग्न व्यवसायी तथा लगानीकर्ताहरूले ती ट्याक्सीहरू किनिरहेका छन् ।  taxi_2
सरकारले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडित परिवारलाई ट्याक्सी नम्बर वितरण गरेको  थियो ।  भूकम्प पीडितलाई स्वरोजगार बनाउनका लागि ट्याक्सी नम्बर वितरण गरिएको हो तर अधिकांशले ट्याक्सी बेचेपछि स्वरोजगार बनाउने सरकारको घोषणा असफल हुने देखिएको छ ।  जसलाई लक्षित गरेर सरकारले ट्याक्सी वितरण ग¥यो सोही लक्षित वर्ग लाभान्वित नहुने देखिन्छ ।  
गोलाप्रथामा ट्याक्सी नम्बर पाएका परिवारले ट्याक्सी खरिद गरिसकेपछि विभागले नम्बर प्रदान गर्छ ।  गोलाप्रथामा परेका १५ सय जनामध्ये पाँच सय जना यातायात कार्यालयको सम्पर्क आएका छन् ।  यातायात कार्यालयले उनीहरूलाई बा. २ ज लेखेको प्लेट उपलब्ध गराएको छ ।  आठ सय सीसीभन्दा बढी क्षमताका गाडीलाई कार्यालयले मान्यता दिएको छ ।  
तीन दिन लगाएर गरिएको गोलाप्रथामा १४ जिल्लालाई तीन भागमा बाँडिएको थियो ।  पहिलो दिन रामेछाप, काभ्रेपलाञ्चोक र नुवाकोट जिल्लालाई ४९१ वटा ट्याक्सी छुट्याएर गोलाप्रथा गरिएको थियो ।  जसमा रामेछापमा १६५, काभ्रेपलाञ्चोकमा २ सय १ र नुवाकोटमा १२५ ट्याक्सी नम्बर पारिएको थियो ।  
गोलाप्रथाको दोस्रो दिन दोलखा, सिन्धुली र सिन्धुपाल्चोक जिल्लालाई बाडिएको थियो ।  यी तीन जिल्लालाई ५१३ वटा ट्याक्सी नम्बर छुट्याइएको थियो ।  जसमा, दोलखामा २१४ वटा ट्याक्सी नम्बर वितरण भएको छ ।  त्यस्तै, सिन्धुलीमा ८६ वटा र सिन्धुपाल्चोकमा २५३ वटा ट्याक्सी नम्बर गोलाप्रथाद्वारा वितरण गरिएको हो ।   
त्यस्तै, तेस्रो दिन गत असार ९ गते काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर धादिङ, ओखलढुंगा, गोरखा र रसुवा जिल्लाको गोलाप्रथा गरिएको थियो ।  यी आठ  जिल्लालाई ४९६ थान ट्याक्सी नम्बर छुट्याइएको थियो ।  जसमा काठमाडौँ जिल्लाका भूकम्प प्रभावितलाई ९५ थान, ललितपुरलाई ७२, भक्तपुरलाई ४३, मकवानपुरलाई ३१, धादिङलाई ११७, ओखलढंगालाई ३०, गोरखालाई ७८ र रसुवालाई जम्मा ३० थान ट्याक्सी नम्बर गोलाप्रथाद्वारा पारिएको थियो ।    


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना