जलाधार संरक्षण नहुँदा मध्यमस्र्याङ्दी खतरामा

लक्ष्मीप्रसाद उपाध्याय

फलेसाँघु (लमजुङ), साउन २ गते ।  जलाशयमा अधिक मात्रामा ढुङ्गा, माटो, गिट्टी तथा फोहोर थुप्रिंदै गएपछि जर्मन सरकारको अनुदानमा निर्माण भएको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सञ्चित क्षमता घट्दै गएको छ भने मेसिन औजारमा पनि क्षति पुग्न थालेको छ ।  
जलाशयमा पानीको सञ्चिती क्षमता घटेसँगै उत्पादन प्रभावित हुन थालेको छ ।  ७० मेगावाट उत्पादन क्षमताको सो जलविद्युत् आयोजनाको पाँच घण्टा पिकिङ आवरमा पूर्ण क्षमताको उत्पादन गर्नुपर्ने भए पनि हाल भने तीन घण्टा पिकिङ आवर मात्र चल्ने गरेको छ ।  २०६६ सालको माघबाट उत्पादन सुरु गरेको आयोजना झण्डै २८ अर्ब रुपियाँको लागतमा सम्पन्न भएको हो ।  
मस्र्याङ्दी नदीका मुख्य सहायक नदीमा न्यादी, खुर्दी, दोचे र चेपे हुन ।  यी ठूला नदीसँगै दर्जनौ खहरेले बगाएर ल्याएको ढुङ्गा, माटो, गिट्टी, बालुवाको प्रभावले आयोजनाको जलाशयदेखि करोडौँ मूल्य पर्ने उपकरणसमेत प्रभावित हुन थालेका छन् ।  marsyangdi
आयोजनाका प्रमुख पशुपतिराज गौतमका अनुसार जलाशयमा अनुमानभन्दा बढी ढुङ्गा, गिट्टी, बालुवा, माटो तथा फोहोर थुप्रिंदै जाँदा उत्पादन क्षमता एवं मेसिन उपकरणमा प्रभाव पर्न थालेको छ ।  कडा र धारिला ढुङ्गा, बालुवा तथा गिट्टी जलाशयको इन्टेकसम्म पुग्ने गरेका छन् ।  
उहाँले भन्नुभयो, “हरेक वर्ष हिउँदको बेला अनुकूल समय मिलाएर जलाशयभित्र भरिएको ढुङ्गा, माटो तथा फोहोरको थुप्रो सफा गर्न  परिरहेको छ ।  विशेष गरी मस्र्याङ्दी नदी र यसका शाखा खोलाको वारिपारि जथाभावीरूपमा सडक निर्माण गरिँदा त्यहाँबाट निस्केको ढुङ्गा, माटो, गिट्टी, बालुवालगायतका फोहोर जलाशयमा थुप्रिने गरेको छ ।  जलविद्युत् आयोजनाका लागि यो जटिल समस्याका रूपमा खडा भइरहेको छ । ”आयोजना सञ्चालनमा आएको १० वर्ष नपुग्दै जलाशयको तल्लो भागमा खाल्डो पर्न सक्ने सम्भावना हुनु, जलाशयको पश्चिमी भेगमा मर्मत सम्भार गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।  लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरको पूर्वी किनारा भएर मस्र्याङ्दी नदी बगिरहेको छ ।  नदी किनारामा वारिपारि पारेर हरेक जसो गाउँमा जाने सडक सञ्जाल निर्माण भइरहेका छन् भने सडक निर्माण गर्दा निस्केको ढुङ्गा, माटो, गिट्टी, बालुवा सोझै नदीमा पस्ने भएकाले पछिल्ला वर्षमा यो समस्या देखा परेको हो ।  
आयोजना प्रमुख गौतमका अनुसार यही गतिमा ढुङ्गा, माटो, गिट्टी, बालुवा जलाशयमा भरिने क्रम जारी रहने हो भने जलाशय पुरिने डर त छँदैछ, अर्कोतिर बगेर आएका कडा र धारिला ढुङ्गा, गिट्टी, बालुवाले मेसिन बिगार्ने र मेसिनको आयु कम हुने समस्या देखा पर्न थालेको छ ।  
मस्र्याङ्दी हिमनदी भएकाले यसमा बग्ने पानी कडा खालका भएको र नदी वारिपारिका पहाड कडा चट्टानले बनेकोले विभिन्न कारणले फुटेर जलाशयसम्म आएका ढुङ्गाका कारणले जलाशय निकासको तल्लो भागमा पनि क्षति पु¥याइरहेको छ ।  
आयोजना प्रमुख गौतमले भन्नुभयो, “वर्षात्को समयमा बाढीका कारणले जलाशयमा पानी बढी हुँदा ढोका खोल्ने गरेका छौँ ।  पानीको निकाससँगै कडा खालका चट्टानका टुक्राले जलाशयको पानी झर्ने स्थान (लोयर बेल्ट)को संरचना विस्तारै बिगार्दै, भत्काउँदै गएको छ ।  यो क्रम बढ्दै गयो भने तल्लो भाग मर्मत सम्भारका लागि राख्नुपर्ने हुनसक्छ । ”
जलाशय पुरिंदै जाँदा नदीको बहाव माथि उक्लिँदै गरेको छ ।  जसका कारण जलाशयको पश्चिमी भेगमा क्षति पुगिसकेको छ ।  त्यसको मर्मत सम्भारका लागि केही दिन लाग्ने र त्यतिबेलासम्म आयोजनाको उत्पादन बन्द गर्नुपर्ने प्राविधिकले बताएका छन् तर आयोजना बन्द गरेर लोडसेडिङ नगर्ने भन्ने ऊर्जा मन्त्रालयको परिपत्रअनुसार हाल मर्मत सम्भार गर्न नसकिएको र अब आउँदो हिउँदमा त्यो भागको मर्मत सम्भार गरिने आयोजनाले जनाएको छ ।  
वातावरणीय सेवा भुक्तानी अन्तर्गत आयोजनाले वार्षिक रूपमा लमजुङ जिल्ला विकास समितिलाई करोडौँ रुपियाँ उपलब्ध गराउँदै आएको छ ।  सो रकमले आयोजनाको प्रभावित क्षेत्रमा संरक्षणका कार्यक्रम गर्न जिल्ला विकास समितिलाई नेपाल विद्युत् प्राधिकरणले धेरैपटक आग्रहसमेत गरिसकेको छ ।  यद्यपि जिल्ला विकास समितिले आयोजनाबाट पाएको रोयल्टीको रकम सडक निर्माणमा लगाउने गरेकोले पनि आयोजनाको हितभन्दा प्रतिकूल असर पार्ने  काम भएको आरोप स्थानीय मध्य मस्र्याङ्दी सरोकार समितिका संयोजक महेश खड्काले लगाउनुभयो ।  
उता जिल्ला विकास समितिका एकजना अधिकारीका अनुसार राजनीतिक भागबण्डामा संरक्षणभन्दा सडक निर्माणका योजनाले प्राथमिकता पाउने गरेको भए पनि मस्र्याङ्दी नदी जलाधार क्षेत्रमा पनि ढुङ्गा, माटो, गिट्टी, बालुवा नियन्त्रण गर्ने खालका कार्यक्रम सञ्चालन भइरहेको दावी गर्नुभयो ।  
जिल्ला भूसंरक्षण कार्यालय लमजुङका प्रमुख हरिवंश आचार्यका अनुसार मस्र्याङ्दी नदीमा सोझै बाढी, भलढुङ्गा, माटो, गिट्टी, बालुवा बगाएर ल्याउने दुई दर्जन खोला तथा खहरेमा संरक्षणका कार्यक्रम सञ्चालन भइरहेका छन् ।  जसले गर्दा केही हदसम्म मस्र्याङ्दी नदीमा ढुङ्गा, माटो, गिट्टी, बालुवा जाने क्रम रोकिएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना