कागतीबाटै करोडपति


हरि कोइराला

उर्लाबारी, साउन ५ गते ।  कागती खेती गरेरै किसान करोडपति भए भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ, तर मोरङको बूढीगंगा–६ (साविक डङ्ग्राहा­–३) का ६० वर्षीय ढालुराम माझी कागती खेतीबाटै करोडपति बन्नुभएको छ ।  
    २०४९ सालमा भएको स्थानीय चुनावमा तत्कालीन डङ्ग्राहा गाविसको अध्यक्षमा काँग्रेसबाट निर्वाचित हुनुभएका माझी काँग्रेसको क्षेत्रीय सभापतिसमेत बन्नुभयो तर जब उहाँ ५० वर्ष लाग्नुभयो, उहाँले राजनीति छोड्नुभयो र खेतीपातिमा लाग्नुभयो ।  उहाँले भन्नुभयो, ­म आध्यात्मिक चेतनाको व्यक्ति, राजनीतिबाट सन्तुष्टि मिलेन ।  आफैँ केही न केही उद्यम नगरी नहुने टुङ्गोमा पुगेपछि २०६४ मा एक बोट कागती ल्याएर रोपेँ ।  यसबाटै फैलिएको होे यो सबै ।  kagti
एक दशकमा उहाँको पूरै दैनिकी फेरिएको छ ।  अहिले राजनीतिक भेटघाट हुँदैन ।  अहिले माझीको एउटै सपना छ ।  कागती धेरै उत्पादन गर्ने र परनिर्भरता घटाउने ।  हाल माझीले पाँच बिघा खेतमा कागती लगाउनुभएको छ जसमध्ये दुई बिघामा लगाइएका एक हजार दुई सय बोटले आम्दानी दिइरहेको छ भने तीन बिघामा लगाइएका एक हजार तीन सय बोटले आगामी वर्षदेखि उत्पादन दिने छन् ।
उहाँले भन्नुभयो, ५० हजारभन्दा बढी बिरुवा मात्र बेचिसकेँ ।  कागतीका दाना, बिरुवा र अचार गरी गत वर्ष मात्र ३५ लाख रुपियाँ समाए ।  
सुरुमा आफ्नो अढाई बिघा जग्गामा धान खेती गर्दा मुस्किलले वर्षभरि खाने धान उत्पादन हुन्थ्यो तर त्यही जग्गामा कागती लगाएपछि माझीको वार्षिक ३०÷४० लाख रुपियाँ आम्दानी हुन थालेको उहाँले बताउनुभयो ।  
    गत वर्ष एक करोड रुपियाँमा पाँच बिघा जग्गा किनेपछि हाल उहाँसँग साढे सात बिघा जग्गा छ ।  पाँच बिघामा कागती खेती छ भने बाँकी अढाई बिघामा नर्सरी ।  
ढालुरामको कपाली फुलिसकेको छ, दाँत खुस्किसकेका छन् तर पनि एक्लै खट्नु हुन्छ, नर्सरी र कागतीबारीमा ।  श्रीमती बितेको पाँच वर्ष भयो ।  चार छोरीको बिहे भइसक्यो, छोरो काठमाडौँ बसेर बीएस्सी एजी पढ्दैछन् ।  गाउँकै १२÷१३ जनालाई उहाँले रोजगारी पनि दिनुभएको छ ।  उहाँले भन्नुभयो, एक्लै छु तर पनि काम नगरी बस्न मन लाग्दैन ।  
    कृषि र प्रविधिका विषयमा उहाँ आफैँ पनि जानकार हुनुहुन्छ ।  सबै अनुभवले हो पढेको छैन ।  उहाँले भन्नुभयो, एउटै खेतीमा व्यावसायिक ढङ्गले लाग्ने हो भने कृषिको परनिर्भरता घटाउन सकिन्छ ।  
जिल्ला कृषि विकास कार्यालय मोरङका बागवानी विकास अधिकृत काशीकुमार चौधरीका अनुसार मोरङमा कागतीको उत्पादन क्षेत्र र उत्पादन हरेक वर्ष बढिरहेको छ ।  
उहाँले भन्नुभयो, आव २०७०÷७१ मा १५० हेक्टर क्षेत्रफलमा कागती उत्पादन हुने गरेको थियो ।  जहाँ ४५० मेट्रिक टन कागती उत्पादन भएको तथ्याङ्क छ ।  दुई वर्षपछि अर्थात् ०७२÷०७३ मा १७० हेक्टर क्षेत्रफलमा ५१० मेट्रिक टन कागती उत्पादन भएको थियो ।     

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना