माछापालनका लागि जलाशय विस्तार

अविनाश चौधरी

धनगढी, साउन ६ गते ।  माछापालनको प्रचुर सम्भावना रहेको कैलालीमा व्यावसायिक माछापालनका लागि जलाशय विस्तार गरिएको छ ।
अहिलेसम्म माछामा रहेको परनिर्भरतालाई केही कम गर्ने उद्देश्यका साथ गत आर्थिक वर्षमा २९.८ हेक्टर जलाशय विस्तार भएको हो ।  अब कैलालीमा माछा उत्पादनका लागि जम्मा १८० हेक्टर कृत्रिम जलाशय तयार भएको छ ।  यी अधिकांश जलाशयमा माछापालन भएको र यहाँको उत्पादनले केही हदसम्म मागलाई धान्ने जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।
गत वर्ष जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत २१.५ हेक्टर व्यावसायिक माछापालन जलाशय र चार हेक्टर माछा नर्सरी विस्तार भएको छ ।  यस्तै, व्यावसायिक मत्स्य उत्पादन विशेष कार्यक्रम अन्तर्गत २.३ हेक्टरमा जलाशय निर्माण भएको छ ।  केन्द्रीय कार्यक्रम अन्तर्गत दुई हेक्टरमा दुईवटा नर्सरी र एउटा ह्याचरी निर्माण भएको मत्स्य विकास अधिकृत रामकेश यादवले जानकारी दिनुभयो ।
उहाँले कृत्रिम जलाशयमा उत्पादित माछाले मात्र यहाँको मागलाई धान्न नसक्ने भन्दै माछामा आत्मनिर्भर हुन तथा भारतबाट आयात प्रतिस्थापन गर्नका लागि अझै धेरै समय लाग्ने बताउनुभयो ।
गत आर्थिक वर्षमा जिल्लाको धनगढी उपमहानगरपालिकास्थित जालीमा सवा चार हेक्टर, फूलबारी, कैलाली गाउँमा २.३ हेक्टर र घोडाघोडी नगरपालिकाको निम्दीमा ठूला जलाशय निर्माण भएको थियो ।  यी सबै जलाशयमा माछापालन सुरु भएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लाको धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिकामा माछा ब्लक कार्यक्रम सञ्चालन भएको छ ।  माछामा देखिएको परनिर्भरता घटाउने उद्देश्यले माछा ब्लक कार्यक्रम सञ्चालन गरिएकोे जनाइएको छ ।
जिल्लामा माछापालनको ठूलो सम्भावना रहे पनि अझै भारतबाट ठूलो परिमाणमा माछा आयात गरेर माग पूर्ति भइरहेको छ ।  एक वर्षमा मात्रै सरदर १६ करोड रुपियाँ बराबरको माछा भारतबाट आयात हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । maxa palan
आ.व. २०७३÷७४ मा कैलालीमा कृत्रिम र प्राकृतिक तालबाट गरी जम्मा एक हजार ७९५ मेट्रिक टन माछा उत्पादन भएको थियो ।  कृत्रिम तालमा प्रतिहेक्टर माछा उत्पादकत्व २.३ मेट्रिक टन रहेको छ ।  तर, प्राकृतिक तालमा १.२ मेट्रिक टनमात्रै माछा उत्पादकत्व छ ।  प्राकृतिक तालमा प्रति कट्ठामा गतवर्ष २० देखि बढीमा २५ किलो माछा उत्पादन भएको थियो ।
जिल्लामा रहेको एक हजार १२८ हेक्टर प्राकृतिक तालमा व्यावसायिक रूपमा माछापालन गर्न सकिएमा जिल्लालाई आत्मनिर्भर बनाउन सकिने मत्स्य विकास अधिकृत यादवले बताउनुभयो ।  तर प्राकृतिक तालमा माछा उत्पादन निकै कम छ, उहाँले थप्नुभयो, व्यवस्थित रूपमा माछापालन हुन सकेको छैन ।
कैलालीमा वार्षिक प्रतिव्यक्ति माछा उपभोग २.०१२ किलो रहेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।
उपभोग बढी र माछा उत्पादन तुलनात्मक रूपमा कम रहेकाले बाहिरबाट आयात गरी माछा खानुपर्ने अवस्था रहेको जनाइएको छ ।  जिल्लालाई माछामा आत्मनिर्भर बनाउनका लागि व्यावसायिक माछापालन कार्यक्रमलाई जोड दिइएको यादवले जानकारी दिनुभयो ।  उहाँले विभिन्न कार्यक्रममार्फत व्यावसायिक रूपमा माछापालनमा संलग्न किसानलाई सहयोग समेत भइरहेको बताउनुभयो ।
कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कम्तीमा छ कट्ठा जलाशय निर्माण गर्ने किसानलाई प्रतिक कट्ठा १० हजारको दरले ६० हजार रुपियाँ अनुदान दिइएको छ ।  
यसैगरी, एक हेक्टर जलाशय निर्माण गरेका माछापालक कृषकलाई तीन लाख रुपियाँ अनुदान दिइएको छ ।
कैलालीमा प्राकृतिक तालमा तीन हजार ४५१ कृषक र कृत्रिम जलाशय निर्माण गरेर ८२५ जना किसान माछापालन व्यवसायमा सक्रिय रहेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना