देशभर ५४ प्रतिशत रोपाइँ

सुरेशकुमार यादव

काठमाडौँ, साउन ७ गते ।  साउनको करिब पहिलो सातासम्म नेपालको धान उत्पादन हुने कुल क्षेत्रफलको ५३ दशमलव ८५ प्रतिशत हेक्टरमा रोपाइँ सकिएको छ ।  १५ लाख ५२ हजार चार सय ६९ हेक्टरमध्ये आठ लाख ३५ हजार नौ सय ९७ हेक्टर जमिनमा रोपाइँ सकिएको कृषि मन्त्रालय अन्तर्गतको कृषि प्रसार निर्देशनालयले जनाएको छ ।  
यसमध्ये पूर्वाञ्चलमा ३९ दशमलव ६२ प्रतिशत, मध्यमाञ्चलमा ३८ दशमलव ३७ प्रतिशत, पश्चिमाञ्चलमा ७० दशमलव ३३ प्रतिशत, मध्यपश्चिमाञ्चल, ५९ दशमलव ७१ प्रतिशत, सदूरपश्चिमाञ्चलमा ९३ दशमलव २३ प्रतिशत धान रोपाइँ भएको छ । dhan ropai
 सबैभन्दा बढी धानको खेती हुने तराई क्षेत्रमा ४३ दशमलव १५ प्रतिशत रोपाइँ मात्र भएको छ ।  १० लाख ९४ हजार ६३६ हेक्टरमध्ये पाँच लाख २७ हजार ८८ हेक्टरमा मात्र रोपाइँ भएको छ ।  त्यसमध्ये पूर्वाअञ्चलको झापा जिल्ला र मध्यमाञ्चलको चितवनमा ५०–५० प्रतिशत धान रोपाइँ भएको छ भने पश्चिमाञ्चलको कञ्चनपुरमा लगभग रोपाइँ नै सकिएको छ ।  त्यहाँ ९८ प्रतिशत रोपाइँ सकिएको छ भने अरू ठाउँमा ४० प्रतिशतभन्दा कमै रहेको कृषि मन्त्रालयले जनाएको छ ।  सबैभन्दा कम रोपाइँ सिरहामा भएको छ ।  ५१ हजार पाँच ७५ हेक्टर खेतीयोग्य जमिनमध्ये साउन २ गतेसम्म सात हजार हेक्टरमा मात्र रोपाइँ भएको छ ।  
मध्य पहाडमा ६६ दशमलव २२ प्रतिशत अर्थात् तीन लाख ९९ हजार छ सय ७५ हेक्टर जमिनमध्ये दुई लाख ६८ हजार छ सय ६६ हेक्टरमा रोपाइँ भएको छ ।  मध्यपहाडको सुदूरपश्चिमाञ्चलमा सबैभन्दा बढी रोपाइँ भएको छ ।  सो क्षेत्रमा  ९४ प्रतिशत रोपाइँ भइसकेको छ ।  सुदूरपश्चिमाञ्चलको डडेल्धुरामा ९८ प्रतिशत सकिसकेको छ भने मध्यपहाडको सबैभन्दा कम रोपाइँ भएको जिल्ला धनकुटामा सबैभन्दा कम २२ प्रतिशत मात्र भएको छ ।  त्यहाँको सात हजार नौ सय ५० हेक्टर जमिनमध्ये एक हजार सात ४९ हेक्टरमा मात्र रोपाइँ भएको छ ।  
त्यस्तै, उच्च पहाडमा ६९ दशमलव २० प्रतिशत रोपाइँ भएको छ ।  ५८ हजार एक सय ५८ हेक्टर जमिनमध्ये ४० हजार दुई सय ४४ हेक्टरमा मात्र रोपाइँ भएको छ ।  मध्यपश्चिमाञ्चलको डोल्पा, जुम्ला र हुम्लामा रोपाइँ सकिसकेको छ भने सुदूरपश्चिमाञ्चलको बझाङमा ९६ प्रतिशत रोपाइँ सकिसकेको छ ।  यसपाली मनसुन छिटो सुरु भए पनि पर्याप्त पानी नपरेका कारण गतवर्षको भन्दा यसपटक साउनको पहिलो हप्तासम्ममा कम रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।  यद्यपि भदौ अन्तिमसम्म रोपाइँ चल्ने भएकाले लक्ष्यमा पुग्न सकिने मन्त्रालयका सचिव डा.सुरोज पोखरेलले बताउनुभयो ।  
गतवर्ष असार १५ गतेसम्ममा १८ प्रतिशत रोपाइँ मात्र भएको थियो ।  नेपालको प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धानको चैते, वर्षे, घैया धानको खेती हुँदै आएको छ ।  नेपालमा ५७ लाख मेट्रिक टन चामल आवश्यक पर्छ ।  त्यसमध्ये ४७ लाख मेट्रिक टन चामल नेपालमै उत्पादन भइरहेको मन्त्रालयको तथ्याङ्कमा छ ।  तीन वर्षभित्र धानमा आत्मनिर्भर हुने सरकारको योजना छ ।  कृषि मन्त्रालयले बृहत् धान उत्पादन कार्यक्रममार्फत तराईका पर्सादेखि झापासम्मका १३ जिल्लामा कार्यक्रम सुरु गरेको मन्त्रालयले जनाएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना