धान खेतमा निजी वन

dhanma banटाँडी (मोरङ), साउन ८ गते ।   उत्तरी मोरङको टाँडीका किसान निजी वनतर्फ आकर्षित भएका छन् ।   कृषि मजदुरको अभावमा दुई बाली धान फल्ने खेत बाँझै बस्न थालेपछि किसान खेतीको  विकल्पमा निजी वन लगाउन थालेका हुन् ।  साविक टाँडी गाविसको वडा नं. ४, ५ र ६ (हाल मिक्लाजुङ–३)का किसानले झण्डै छ बिघा जग्गामा वृक्षरोपण गरेका छन् ।
गाउँमा खेती गर्न मजदुर अभाव छ ।  पाखुरामा बल भएकाहरू कोही वैदेशिक रोजगारीमा गएका छन् भने कोही भारततिर गएका छन् ।  दुईचार पैसा भएका सहरतिर झरेर सानोतिनो व्यापारमा लागेका छन्, खेतमा धान बाली लाग्ने भए पनि कामदारको अभावमा एक बिघा जग्गामा टिकका बिरुवा रोप्नुभएका टाँडी हात्तीमाराका किसान नीलराज लुइँटेलले भन्नुभयो ।  
लुइँटेलले  एक बिघामा एक हजार चार सय बिरुवा रोप्नुभएको छ ।  चार वर्षअघि झण्डै दुई लाख रुपियाँ लगानी गरी टिकका बिरुवा लगाउनुभएका लुइँटेलको जग्गा अहिले लोभलाग्दो भएको छ ।  बिरुवा रोपेको तेस्रो वर्षदेखि उहाँले हाँगाबिगा बेचेर धानको भन्दा बढी आम्दानी लिइरहनुभएको छ ।  
उहाँले भन्नुभयो, बिरुवा सानो हुन्जेल रहर दाल लगाएँ ।  पहिलो वर्ष आठ हजार रुपियाँको रहरको दाल उत्पादन भयो ।  दोस्रो र तेस्रो वर्ष क्रमश १० हजार र १३ हजार रुपियाँको दाल बेचे ।  अहिले त्यहीँ जग्गामा उहाँले अदुवा र बेसार लगाउनुभएको छ ।  १० वर्षपछि रूखबाट आम्दानी लिन त सकिन्छ नै तर यो बीचको अवधिमा दाल र मसलाबाट पनि राम्रो आम्दानी लिन सकिने लुइँटेलले बताउनुभयो ।  
लुइँटेलले एक बिघामा टिकका बिरुवा लगाएको देखेपछि हात्तीमाराका धेरै किसान वृक्षरोपणतर्फ आकर्षित भएका छन् ।  अर्का किसान काजेन्द्र लिम्बूले भन्नुभयो, खेतीमा आधुनिक प्रविधि भित्रिन सकेन ।  कामदार महँगा भए ।  फेरि धान खेतीको आम्दानीले घर खर्च नै धान्न छोड्यो ।  लिम्बूले अहिले १० कट्ठा जग्गामा बिरुवा लगाउनुभएको छ ।
तत्काल आम्दानी नहुने भए पनि टिक लगाएको जग्गा मलिलो हुने भएकोले त्यो जग्गामा बहुबाली लगाउन सकिने लिम्बूको अनुभव छ ।  उहाँले भन्नुभयो, मकै, रहरको दाल र अदुवा, बेसार खेती गर्न सजिलो भएको  छ ।  बिरुवा लगाएको जग्गामा घाँस पनि राम्रो आउने भएकोले बाख्रा र गाई पाल्न पनि सजिलो भएको छ ।
टाँडी–४ का ब्रह्मलाल कोइरालाले डेढ बिघा जग्गामा खयरका बिरुवा लगाउनुभएको छ ।  राम्रो धान फल्ने खेतमा साढे तीन वर्षअघि दुई लाख रुपियाँ खर्चेर लगाएको बिरुवाले अबको १० वर्षमा मात्र आम्दानी दिन्छ तर पनि ७० वर्षीय कोइराला आफ्नो बारीको हरियालीमा मस्त रमाउनुभएको छ ।  कोइरालाले भन्नुभयो, अम्लिसो लगाएको छु, गत वर्ष अम्लिसो बेचेर रामै्र आम्दानी भयो ।  गाईलाई घाँस खोज्न जङ्गल जानुपरेको छैन ।  
लुइँटेल, लिम्बू र कोइराला मात्र होइन टाँडीका धेरै किसान निजी वन लगाएर त्यो वनभित्र अम्लिसो, रहर दाल, अदुवा बेसार खेती गरी उल्लेख्य आम्दानी लिइरहेका छन् ।  उनीहरूको भनाइ छ, पैसा कमाउन धान खेती नै गर्नुपर्छ भन्ने छैन ।  वर्षमा ७० हजार रुपियाँको धान फल्ने खेतमा अदुवा बेसार, अम्लिसो र दाल गरी ८० हजार रुपियाँको उत्पादन भएको किसान नीलराज लुइँटेल बताउनुभयो ।  
दुई वर्षअघि हात्तीमारामा वृक्षरोपण गर्ने किसानलाई छिमेकीले हाँसोमा उडाएका थिए ।  कतिपयले त अब खान नपाएर मर्ने भए पनि भनेको स्मरण गर्दै कुलबहादुर तामाङले एउटा हिम्मत र साहस बटुलेर वृक्षरोपण गरेको बताउनुभयो ।  
जिल्ला वन कार्यालय मोरङका सहायक वन अधिकृत रामलखन ठाकुरका अनुसार जिल्लामा पाँच सय निजी वन दर्ता भएका छन् ।  निजी वनले ४२३.४८ हेक्टर जग्गा ओगटेको छ ।  
विराटनगर भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ को फागुन मसान्त सम्ममा भारत र तेस्रो मुलुकबाट ३८ करोड ९७ लाख नौ हजार रुपियाँको लकडी र गोलिया काठ मोरङ भित्रिएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना